महान : शान्ता तिम्सिना (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,फागुन १७।
“जे देख्यो त्यही कसरी किन्नु हौ ? सस्तो छ र ? कसरी सक्नु ?” रमेशले भर्याङमा उक्लँदै भन्यो ।
“त्यसो भनेर कहाँ हुन्छ ? छर –छिमेक साथीको पनि त हेर्नु पर्यो नि !” उसले चिया दिंदै भनी ।
“साथी घोडा चड्यो भन्दैमा के तँ धुरी छड्छेस !” रमेश जंगियो ।
“ महिना मर्न लाग्यो । तलब आएको बेला थोरै भए पनि जोडौ भन्ने लागेको थियो । राम्रो कुरा त तिमीलाइ कहिले पच्दैन ।” उसले अलि कडा स्वरमा भनी ।
“ए ! मैले कमाएको सबै तेरो लागि मात्र खर्च गर्नुपर्ने ? मेरो कमाइमा आफ्नो खुसी हुँदैन ?” उसले धम्कीका साथ भन्यो ।
“तलब सबै सकिहाल्छौ । अलिकति भए पनि जोड्न पाए अप्ठ्यारोमा काम लाग्थ्यो भनेर पो, किन्न खोजेको त ! सधँै झगडा मात्र गर्न जान्या छौ है ?” जेनिले फेरि पनि सम्झाउने कोसिस गर्दै थिई ।
“सक्छु त ! तेरो बाउको सम्पत्ती हो ? मेरो आफ्नै कमाइ हो । आफ्नै मर्जिले खर्च गर्छु, के गर्छेस् ।” उसले राता राता आँखा बनाउँदै गाली गर्यो ।
“बुहारीलाई किन गाली गरेको ? ठूलो स्वर गर्नु पर्दैन । उनको कुरा पनि ठिकै त हो ! तैंले रक्सी खाएर सबै सकिहाल्छ्स् ।” चिया पिउँदै गरेका बाबाले भने ।
बुढाबुढिको झगडा पश्चात् रिसाउँदै निस्केको रमेश तत्काल भर्याङबाट झरेर बेहोस भयो ।
“बुबा तपाईं पैसाको ब्यवस्था मिलाएर आउनू है ! म अस्पताल लिएर जाँदै गर्छु ।” बुहारीले ट्याक्सिमा राख्दै भनिन् ।
“बिहान बुहारीलाई गाली गरेको परिणाम हो, यो बुझिस् ।” अस्पताल पुगेका बुबाले पैसा दिंदै भने ।
“यत्रो पैसा कहाँबाट ल्याउनु भयो ?” उसले अचम्मित हुँदै सोध्यो ।
बुहारीतिर हेर्दै बाबाले भने “यी महान बुहारीको सिक्री बेचेर ल्याएको !”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
