मिलाप फाउण्डेशनद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कपन अनलाइन
काठमाण्डौ ,फागुन २९।
मिलाप फाउण्डेशनले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । ‘गरे के असम्भव एक सामाजिक अभियान’ भन्ने मूल नारासहित समाजसेवामा सक्रिय फाउण्डेशनले बुधबार धादिङ धुनिबेशी-३ स्थित श्रीत्रिकुटेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीलाई विभिन्न शैक्षिक सामग्री वितरण गरेको हो ।
सहकार्य र सहानुभूतिको सुन्दर संगम बनेको उक्त कार्यक्रममा राष्ट्रखबर डट कम र नेशनल इभेन्ट म्यानेजमेन्ट एसोसिएसनले सहकार्य गरेका थिए । कार्यक्रमको वातावरण सेवाभाव, सहयोग र प्रेरणाले भरिएको थियो ।
सो अवसरमा विद्यालयका १२५ जना विद्यार्थीलाई विद्यालय झोला (ब्याग), कापी, पेन्सिल, खेलकुद सामग्री, माक्सलगायत अत्यावश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो । ती सामग्री केवल भौतिक सहयोगमात्र थिएनन्, ती भविष्यप्रतिको विश्वास, अध्ययनप्रतिको प्रेरणा र उज्यालो भोलिको आशा बोकेर आएका सन्देश थिए ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा राष्ट्र प्रेसका सुमित रजत, गायक डिजेयुवा, विद्यालयका प्रिन्सिपल रमेश कँडेल, शिक्षकहरू दिलीप रेग्मी, शरदराज रेग्मी, उमेश न्यौपाने, सुबास ढउन्यालगायत व्यक्तित्वहरूको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल रमेश कँडेलले विद्यालयमै आएर विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री प्रदान गरेकोमा आयोजकप्रति आभार व्यक्त गर्नुभयो । उहाँले यस्तो सहयोगले विद्यार्थीहरूमा पढाइप्रतिको उत्साह बढ्ने बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
अन्य वक्ताहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने यस्ता सामाजिक अभियानहरूको खुलेर प्रशंसा गरेका थिए । उनीहरूले मिलाप फाउण्डेशनले देखाएको सामाजिक जिम्मेवारी र सेवाभाव अनुकरणीय रहेको धारणा राखेका थिए ।
फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीले विशुद्ध सामाजिक सेवाको भावना लिएर मिलाप फाउण्डेशनले समाजका विभिन्न क्षेत्रमा योगदान दिँदै आएको बताएकी छन। उनका अनुसार विगतमा पनि फाउण्डेशनले स्वास्थ्य शिविर सञ्चालन, शैक्षिक सामग्री वितरण तथा अन्य विभिन्न सामाजिक सहयोगका कार्यक्रमहरू गर्दै आएको छ ।
साथै उनले आगामी दिनहरूमा पनि समाजका विभिन्न क्षेत्रमा सेवा विस्तार गर्दै अझ प्रभावकारी सामाजिक अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयगरेकी छन।
अध्यक्ष अधिकारीले २०७२ सालको विनाशकारी भूकम्पका बेला पीडितहरूलाई तत्काल राहत उपलब्ध गराउने कार्यमा समेत फाउण्डेशन सक्रिय रूपमा लागेको स्मरण गर्दै सामाजिक सेवा नै फाउण्डेशनको प्रमुख ध्येय रहेको बताएकी छन।
त्यसैगरी फाउण्डेशनका उपाध्यक्ष राज लुईंटेलले समाजप्रतिको उत्तरदायित्वलाई केन्द्रमा राख्दै सामाजिक सेवाका कार्यक्रमहरूलाई निरन्तरता दिइने बताए । यस कार्यका लागि मिलाप फाउण्डेशनका सदस्य धादिङ स्थायी घर हुनुभएका सञ्चारकर्मी सुरेन्द्र थापाले सहजीकरण गरेका थिए।
