बुढानिलकण्ठका बेरोजगार नागरिकलाई खुसीको खबर, नगरपालिकाले विवरण माग्यो !
कपन अनलाइन
काठमाण्डौ ,फागुन २९ ।
बुढानिलकण्ठ नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका बेरोजगार व्यक्तिहरूलाई सूचीकृत गर्न निवेदन पेश गर्न आह्वान गरेको छ। नगर कार्यपालिकाको कार्यालय, हात्तिगौंडा, काठमाडौंबाट प्रकाशित सूचनाअनुसार राष्ट्रिय रोजगारी प्रवर्द्धन कार्यक्रम अन्तर्गत बेरोजगार व्यक्तिहरूको विवरण संकलन गर्न आवेदन माग गरिएको हो।
नगरपालिकाले दिएको जानकारी अनुसार नेपालको संविधानले सुनिश्चित गरेको रोजगारीको अधिकार कार्यान्वयन गर्न “रोजगारीको हक सम्बन्धी ऐन, २०७५” तथा सम्बन्धित नियमावलीको व्यवस्था अनुसार बेरोजगार व्यक्तिहरूको विवरण संकलन गरिनेछ।
सूचनाअनुसार १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका इच्छुक बेरोजगार व्यक्तिहरूले आफू स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयमा गई फाराम भरी आवश्यक कागजातसहित निवेदन पेश गर्न सक्नेछन्।
नगरपालिकाले आवेदनका लागि आवश्यक कागजात पनि तोकेको छ। जसअनुसार निवेदकले नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइज फोटो, बसाइँसराइ गरेको भए बसाइँसराइ प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता सम्बन्धी प्रमाणपत्रको प्रतिलिपि तथा सीप सम्बन्धी प्रमाणपत्र भए सोको प्रतिलिपि पेश गर्नुपर्नेछ।

