संविधान सभा निर्वाचन-२, राजनैतिक नेतृत्वलाई गतिलो शिक्षा

दृष्टिकोण

– पुरुषोत्तम नेपाल

नेपाली जनताले आफ्नो संविधान बनाउन दोस्रो पटक मतदान गरेका छन् । यसपल्टको निर्वाचनले धेरैलाई धेरै किसिमको शिक्षा दिएको छ । अनुपातका हिसाबले आजसम्मका निर्वाचनमध्ये सबैभन्दा शान्तिपूर्ण मानिएको यस जनमत स्पष्ट भएको धारणा धेरैको छ । यसै सन्दर्भमा निर्वाचित र पराजित अनुहारहरु हेर्दा जनतासँग प्रत्यक्ष साक्षात्कार, अन्तक्र्रिया नगर्ने, शीर्ष नेतृत्वको आसपासमा रमाउने नेतालाई जनताले मन नपराएको प्रष्ट देख्न पाइएको छ ।
सिमीत केही शीर्ष नेतृत्व बाहेक अन्य केन्द्रीय नेतृत्वहरु यसपालि पराजित भएका छन् । जसलाई मतदाताको मुख्य आरोप नै आफ्नो क्षेत्रमा ध्यान नदिएको भन्ने नै छ । टुरिष्ट उम्मेदवारको प्रसङ्ग पनि यसपालि चर्को रुपमा देखियो । २०४६ पछिको सन्दर्भमा हेर्ने हो भने शीर्ष नेतृत्वको आसपासमा गणेश प्रवृत्तिमा रमाउनेहरुले गाउँमा खट्नेहरुका तुलनामा धेरै अवसर पाउने गरेको देखिन्छ । राजधानीबाट टिकट लिएर निर्वाचन क्षेत्र पुग्ने उम्मेदवारलाई जनताले एकपटक गाउँमै बसेर संगठनमा लागेर पुन प्रयास गर्ने टिकट दिएका छन् । उपहारमा ट्राइ अगेन पाएजस्तो गरेर ।
माओवादीका धेरै नेतृत्व पराजित हुनाका धेरै कारणहरु मध्ये निर्वाचन क्षेत्र परिवर्तन गर्नुपनि एक हो । हिजो अर्कै क्षेत्रको सभासद्, आज यस क्षेत्रको प्रत्यासी, भोलि फेरि अर्कै क्षेत्रमा जाने हो कि भन्ने आशंकाका कारण पनि माओवादी प्रति धेरै मतदाता विकर्षित भए । यस्तै नै हाल एमाले र काँग्रेसका केन्द्रीय नेताहरुको पनि रह्यो । अघिल्लो पटक निर्वाचित भएर पनि आफ्नो क्षेत्रमा नजाने नेतृत्वलाई यसपालि जनताले रुचाएनन् ।
काँग्रेसका विश्वप्काश शर्मा, आमोदप्रसाद उपाध्याय, दिलेन्द्रप्रसाद बडू लगायतका १० भन्दा बढी नेता स्थानीय प्रत्यासीसँग पराजित हुन पुगे । आपूmलाई जनताको सबैभन्दा नजिक ठान्ने कम्युनिष्ट पार्टीहरुको हालत यो भन्दा पनि दयनीय रह्यो । एमाले महासचिव, सचिव, पोलिट्ब्यूरो लगायत १५ भन्दा बढी केन्द्रीय नेताहरु जनमतका माध्यमबाट संविधानसभामा आउन असफल भए भने एमाओवादी उपाध्यक्ष लगायतका २५ भन्दा बढी नेताहरु पराजित भए । एमाओवादीका पराजित उम्मेदवारमध्ये धेरै त तेस्रो स्थानमा समेत सिमित रहे ।
जनताको यो चेतावनी ती पराजित उम्मेदवारलाई मात्र होइन, समग्र पार्टीलाई पनि हो । फेरि पनि समानुपातिक सभासद् चुन्न बाँकी छ । यदि राजनैतिक दलले भूगोलमा बसेर काम गर्ने भन्दा गणेश प्रवृत्तिका आफ्ना आसेपासेलाई प्राथमिकता क्रममा राखे भने अर्को पालि त्यस्ता दललाई पनि जनताले तिरस्कार गर्ने सम्भावना छ । त्यसकारण पनि जसलाई देखाएर जनतासँग मत मागिएको छ, उनीहरुलाई धोका दिने काम नेतृत्वले नगरोस् र गर्नुहुँदैन पनि ।

 

हामीकहाँ समीक्षा गर्ने परम्परा अलि कम छ । गरिहाले पनि कर्मकाण्डीय परम्पराबाट गरिन्छ । अर्को दललाई गाली गर्ने र दोष लगाउने गरिन्छ । अब दलहरुले सोच्नुपर्छ । त्यतिबेला जित्नेले अहिले कसरी हारे ? त्यतिबेला हार्नेले अहिले कसरी जिते ? त्यतिबेला जितेकाले के राम्रो गरे र के नराम्रो गरे, अनि त्यतिबेला हार्नेले के राम्रो गरे र के नराम्रो गरे ? देखियो, सुनियो र अनुभव समेत गरियो, कतिपय स्थानमा पार्टीलाई हैन व्यक्तिलाई मत मागियो, व्यक्तिलाई मत दिइयो र व्यक्ति जिते जहाँ पार्टी कम जित्यो अझ भनौँ नाम चलेका पार्टी हारे र स्वतन्त्र उम्मेदवारले जिते ।

 

चिनजान, परिवारवाद, आर्थिक प्रलोभन लगायतका कारणबाट नेतृत्वमा पुगेको व्यक्ति अर्कोपटक पनि सोही पदमा रहन नसक्ने अवस्था आयो भने उसले विचार परिवर्तन गर्न सक्छ, दल परिवर्तन गर्न सक्छ र गरेका पनि छन् जुन देख्न र सुन्न पाइसकिएको छ । भर्खरै सम्पन्न संविधानसभाको चुनावमा ठूलै संख्याका व्यक्तिहरु सभासद हुन नपाउने आशंका बढेपछि पार्टी परिवर्तनतिर लागेका थिए र नयाँ पार्टीले उनीहरुलाई अवसर दियो जो उनीहरुका लागि भविष्यमा ठूलो घात सावित समेत हुन सक्छ ।
विशेष गरी पदमा पुग्ने बेलामा मात्र बढी सक्रिय हुने, आपूmभन्दा तल नहेरी माथिल्लो नेतृत्वले केही गरिदेला कि मात्र ठान्ने अनि कथम कदाचित पदमा पुग्न नसकेमा यसो गरेको भए हुन्थ्यो र उसो गरेको भए हुन्थ्यो भनेर छाति पिट्नुको कुनै अर्थ रहँदैन जुन कुरा सबै पार्टीमा लागू हुन्छ । त्यसकारण नेतृत्व लिने र दिनेबीच जिम्मेवारपूर्ण सम्बन्ध हुनै पर्छ, चिनजान र नातावादका सम्बन्ध मात्र दिगो रहँदैन । अहिलेको निर्णय भोलिको पश्चाताप गर्ने बाटो नबनोस् र भन्नु नपरोस् – यस्तो गर्न पाएको भए … ।
समीक्षा भएन उस्तै चुनाव ६४ को ………
पार्टीका केन्द्रले स्थानीय तहमा भिजेको र पार्टी भन्दा माथि उठेर समाजको विकासमा समर्पित पार्टीका सदस्यलाई उम्मेदवार बनाउने हो भने पहिलो जित त्यहीँ भेटिन्छ ।
अन्यथा एक माघले जाडो जाँदैन । आगामी दिनमा जनताले त्यसको हिसाबकिताब गर्नेछन् । सबै दलका नेतृत्वलाई चेतना भया ।

तपाइँको प्रतिक्रिया ।