सतबीज छरियो, जातीय सहिष्णुताको अर्को एक अनुपम दृश्य

कपन अनलाइनपुरुषोत्तम नेपाल मंसिर १७

आज बाला चर्तुदशी हिन्दू धर्माबलम्बीहरुले देशका विभिन्न शक्ति पीठहरुमा सतबीज छरेर मनाए । पशुपतिलगायत देशभरका शिव मन्दिरमा  बिहानैदेखि सतबीज छर्नेको भीड लागेको छ । आफ्नो परिवारभित्रका सदस्यको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै सतबीज छर्ने गरिन्छ ।
सतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ । वर्षभरि दिवंगत भएका आफन्तका आत्माको चीरशान्तिको कामना गर्दै पशुपतिक्षेत्रको श्लेषमान्तक वनमा सतबीज छरी परिक्रमा गर्दै आज बालाचतुर्दशी पर्व मनाइँदैछ । हरेक वर्ष मंसिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मुला, ज्यामिर, सखरखण्ड, पिडालु र हलेदोका टुक्रा छर्दै पशुपति क्षेत्रमा देवीदेवताका मन्दिर परिक्रमा गरिन्छ । बालाचतुर्दशीमा मृगस्थली वा श्लेष्मान्तक वनमा छरेको सतबीज दिवंगत भएकाहरूका लागि खानेकुरा रोपिएको भन्ने लोककथन छ । सतबीजबाट उम्रेर आएको अन्न दिवंगतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास रहिआएको छ । बालाचतुर्दशीमा एक गेडा सतबीज छरे पनि एक टुक्रा सुन जति पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
यस पर्वमा जातीय सद्भाव र सहिष्णुताको अनुपम दृश्य देखिने गरेको छ । पशुपतिको कैलाश डाँडामा के हिन्दु, के बौद्ध दुवै सम्प्रदायले दिवंगत आत्माको नाममा अखण्ड दीप प्रज्वलन गरे । एकै ठाउँमा कतै पूर्ण शाकाहारी त कतै मासुजन्य तथा मदिरा चढाएर पूजा गरियो । कसैले कसैको विरोध गरेनन् । कतै द्वन्द्व देखिएन । रातभर मिलेर बसे, नाचगान गरे, रमाइलो गरे । कतै भजनको स्वर सुनिन्थ्यो भने कतै दोहोरीको झङ्कार । आइतबार राती पशुपति परिसर पुग्ने सबैले यस्तै दृश्यको अनुभव गरिरहँदा पहिले भन्दा बढी मात्रामा खोलिएको होटलहरुका कारण भने भक्तजनलाई बस्ने ठाउँ अपर्याप्त भएको प्रष्ट देखिन्थ्यो । पशुपति क्षेत्र विकास कोषले यसमा ध्यान दिनु आवश्यक देखिन्छ ।

तपाइँको प्रतिक्रिया ।