चीत्कार : गंगा खड्का (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,असार २ ।
एकदिन म वीर अस्पतालको छेउको होटलमा बिहानको खाजा खाँदै थिएँ । नजिकै एउटा बच्चा उभिएर मलाई टिठ लाग्दो नजरले हेरिरहेको थियो । मलाई लाग्यो यो बच्चा निकै भोकाएको छ । मैले उसलाई समोसा खाने भनेर सोधें । उसले खाने भनेर मुन्टो हल्लायो । मैले उसलाई दुईवटा समोसा मगाएर दिएँ । उसले कपाकप खान थाल्यो । मैले भगवानलाई धन्यवाद दिएँ किनभने मैले एउटा भोको बच्चालाई ख्वाउने मौका पाएको थिएँ । यत्तिकैमा उसकी आँमा आइपुगी । बच्चाले समोसा सक्नै लागेको थियो । त्यो आँमालाई के भयो त्यो त बमबम उफ्रिन पो थाली ।
“हे भगवान ! कुन अधर्मी पापीले मेरो छोरालाई समोसा दियो ?”
त्यो महिलाको कुरा सुनेर पक्कै केही गडबडी हुँदैछ भन्ने मलाई आभास भयो । मैले त्यहाँबाट नाम्सा खेल्नु नै उचित ठानें । पहिला बिस्तारै काँइलो काँइलो भएँ र पछि टाप कसें ।
जाँदा जाँदै मेरो कानमा त्यो महिलाले बोलेको आवाज गुञ्जियो, “मैले बनेपादेखि भाडा तिरेर छोरोलाई खाली पेटमा जचाउँन ल्याएकी थिएँ । बर्बाद बनाइदियो असतीले ।”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।