तयारी : लक्ष्मण अर्याल (लघुकथा)

तयारी : लक्ष्मण अर्याल (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,असार १।

चर्को मूल्यवृद्धि र सरकारको तानाशाही कदमका विरुद्ध नारा लाग्यो । उसले नेतृत्व लियो विरोधको ।
उसले विरोधका अनेकन कार्यक्रमहरूलाई अगाडि सार्‍यो । अनसन बस्यो । देश दौडाहामा हिँड्यो । सबैलाई सरकारी करतुतहरू बुझायो अनि ब्युँझायो पनि ।
आवधिक चुनाव आयो । जनमानसले ‘गरे यसैले गर्छ’ सोचे र मतदानका दिन मत खन्याइदिए ।
उसले चुनाव जित्यो । सदनमा पुगेपश्चात् केही दिन रनभुल्लमा पर्‍यो । पद नभई कसरी काम गर्ने भनी सोच्यो । मन्त्रीका रूपमा मन्त्रालयमा छिर्ने प्वालहरू खोज्यो र अन्ततः सफल पनि भयो ।
मन्त्री भएपश्चात् ऊ उसैका लागि काम गर्न थाल्यो । मतदाताले यो कुरा बुझे ।
उसको चर्को विरोध सुरु भयो । उसका कदमका विरूद्ध नारा लागे । ऊ आफ्नो बाटो हिँड्यो भने माहोल उसको
विपरीत । यसपटकको नेतृत्व रामदयालले लिएको थियो ।
विरोधकै भीडभाडमा गाइँगुइँ सुनियो – अब हेरिराख, आउँदो चुनाव रामदयालले नै जित्छ । अबको केही वर्षपछिको मन्त्री रामदयाल पक्का ।
यो रामदयालको तयारीको कार्यक्रम थियो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।