नैतिक सामाजिकता : ढुण्डिराज पोखरेल ( नीतिकथा )
कपन अनलाइन
काठमाण्डौ ,फागुन ७ ।
एउटी महिला च्यातिएका लुगा लगाई घायल अवस्थामा सडकको किनारामा बसेर रोइरहेकी थिइन् । उनको नजिकै एउटा सानो अबोध बालक भोकले सकी नसकी सुतेको ठाउँमा रोइरहेको थियो । ती महिलामा कुनै शक्ति नभएको कारण रोइरहेको आफ्नो शिशुलाई काखमा लिन सकिरहेकी थिइनन् । बाटामा कैयौँ मानिस आवतजावत गर्दथे । यसो हेरेर आफ्नो बाटो तताउथेँ महिलाको स्थितिप्रति आ–आफ्नै किसिमले सहानुभूतिका शब्दहरू प्रकट गरेर कैयौँ मानिस त्यही बाटो भएर आए, गए । कसैले पुलिसलाई खबर गरिदिऊँ कि भन्थे । फेरि पुलिसलाई खबर गर्दा आफैँले अनावश्यक झन्झट उठाउनु पर्न सक्छ भनेर आपसमा कुराकानी हुन्थ्यो । अचानक त्यही बाटो भएर एउटा बग्गी आयो । महिलाको छेउमा बग्गी रोकियो र एकजना व्यक्ति तल ओर्लिएर महिला भएकै ठाउँमा पुग्यो । त्यो मानिसले केही कुराकानी नै नगरीकन सानो बालक र महिलालाई त्यहाँबाट उठायो र बग्गी चालकलाई सिधै अस्पताल हिड भन्यो । बग्गी चालकले भन्यो – ‘तर साहेब तपाईंलाई त एउटा सिंचाइ सम्बन्धी जरूरी मिटिङमा जानुपर्ने होइन ? त्यहाँ तपाइको प्रतीक्षा गरेर धेरै मानिस बसिरहेका होलान् ।’ त्यो व्यक्तिले भन्यो – ‘मेरो लागि त्यो बैठकभन्दा यो मानव सेवा ठुलो हो । बग्गीचालक केही नबोलीकन बग्गी अस्पतालतर्फ लिएर गयो । अस्पताल पु¥याएपछि महिलाको यथोचित उपचार गराइयो । जब महिला पुरै आफ्नो अवस्थामा आइन् अनि त्यो व्यक्तिले उनलाई केही रूपैया दियो । बच्चालाई पनि दुध बिस्कुट किनेर खान दियो । फर्केर बग्गी चालकलाई भन्यो – ‘अब मलाई सिंचाइ सम्बन्धी बैठकमा लिएर हिँड ।’ ती व्यक्ति थिए भारतका सुप्रसिद्ध पण्डित मदनमोहन मालवीय
कुनै पनि असहाय व्यक्तिको सेवाको लागि पहिलो प्राथमिकता दिनुपर्छ । हाम्रा हरेक दिन कुनै न कुनै कार्य योजना बनिरहेकै हुन्छन् । हामी कामको सिलसिलामा हरेक क्षेत्रमा पुगिरहेका हुन्छौं तर हाम्रो निजी कामको सिलसिलामा हिँड्दा डुल्दा बस्दा कुनै पनि बेला मानिस अथवा पशु पंक्षी जो कोहीलाई विभिन्न प्रकारको आपद् विपद् परिरहेको हुन सक्छ । त्यस्तो अवस्था देखेर, बुझेर पनि नदेखेको नबुझेको जस्तो गरेर पिठिउँ फर्काएर हिड्नु हाम्रो मानवीय नैतिकताले दिँदैन, मानिस सामाजिक प्राणी हो । समाजमा हरेक प्रकारका मानिसहरू रहेका हुन्छन् । त्यस्तो दयनीय अवस्थामा पुगेकालाई आफ्नो तर्फबाट हरसम्भव मानवोचित सेवा गर्नु हामी सबैको परम कर्तव्य हुन आउँछ । यो एउटा नैतिक सामाजिकता हो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक