साँखु, सालिनदी मेला र स्वस्थानी : महेन्द्र चालिसे ( धर्म–संस्कृति )
कपन अनलाइन
काठमाण्डौ ,फागुन ७ ।
साँखु, मध्य काठमाडौंबाट करीब १६–१७ किलोमिटर उत्तर पूर्वको कुनामा रहेको नेवारहरुको बस्ती भएका, पुरानो शहर हो । नेवारी भाषामा यस शहरलाई ‘साक्वा’ भनिन्छ भने यो शहरलाई पौराणिक कालको ‘लावण्य देश’ भनेर पनि चिनिन्छ भने हाल शंखरापुर भनेर भनिन्छ । साँखु पूर्वमा सालिनाखु (सालीनदी) र पश्चिममा असाखु नदी को विचमा पर्छ ।
जनश्रुती अनुसार ‘साक्वा’ नाममा २ भागमा बाडिएको छ । एक भाग ‘ क्भ्वे’ र यस्को अर्थ हो ‘तिब्बत र अर्को भाग ‘सामदे’ र यस्को अर्थ तलको । अर्थात यस्को अर्थ हो ‘तिब्बत तलको शहर । त्यस्तै साँखु चाहिं प्रसिद्ध प्राचीन शंखको आकार जस्तो देखिने भएकोले शंखरापुर भनिएको भन्ने जनश्रुती पनि पाइन्छ ।
साँखु सहरको वारेमा विभिन्न पौराणिक कथा अनि यस्को प्राचिन इतिहास पनि पाइन्छ । मनिसैला महावादनको पौराणिक कथा अनुसार पहिला साँखु क्षेत्र एउटा ताल थियो
रे । जसरी मंजुश्रीले टौदह फोडेर काठमाण्डौं उपत्यकाको पानी निकास गरे त्यसैगरी वज्रयोगिनी माइृले साँखुको पानी निकासाको लागि पहाड फोडिन र वज्रयोगिनी माईले नै तत्कालिक पुजारी जोगदेव र प्रथम राजा शंखदेवलाई शंखको आकारमा साँखु शहर वनाउन भनिन् भन्ने किम्वदन्ती छ । त्यसैगरी स्वयम्भु पुराणमा पनि साकेतुको बारेमा उल्लेख गरिएको छ, तर त्यो साँखुकै बारेमा हो भन्ने पूर्ण प्रमाणित भएको छैन । त्यसैगरी स्वस्थानी कथामा पनि साँखुको उल्लेख गरेको पाइन्छ जहाँ साँखुलाई लावण्य देश भनिएको छ । र त्यहाँ हत्तिद्वारा राजा छानेको उल्लेख छ । लावण्य देश नै साँखु हो भन्ने कुरा त्यस कथामा उल्लेख भएको सालिनदीले पुष्टि गर्छ र त्यही कथा कै आधारमा प्रत्येक वर्ष स्वस्थानी पूर्णिमा भरी १ महिना मेला लाग्छ ।
त्यसैगरी ऐतिहासिक तथ्य अनुसार साँखुमा भएका्े सवैभन्दा पुरानो शिलालेख ५३८ इस्वी सम्वत्को हो, जुन लिच्छवीकालिन समय हो । उक्त शिलालेख लिच्छवी राजा वामनदेवले लेखेका थिए । त्यतिवेला साँखु शहर तिब्बतको कुटी, सिगात्से, ल्हासा र काठमाण्डौं सम्मको व्यापारिक मार्ग बनेको थियो ।
मध्यकालमा साँखु भक्तपुर राज्य अन्तर्गत रहेको थियो । यो शहरलाई गोपाल राजा वंशालीमा सन १२४२ मा युद्ध भएको र इचिमिस पराजित भएको स्थानको रुपमा उल्लेख गरिएको पाईन्छ ।
त्यसैगरी राजा स्वर्णमल्ल १५०४ देखी १५१९ सम्म साँखुलाई दुई भाग लगाई आधा आफ्ना भाईलाई अंश दिए तर १५२० देखि ३० को समयमा राजा सूर्य मल्लले साँखु कब्जा गरेर पुनः एकिकृत गरे । इतिहासको कालखण्डमा साँखु पुन काठमाडौं अन्तर्गत आयो र राजा जय प्रकाश मल्लले साँखुमा १७३६ देखि ६८ सम्म राज्य गरे र १७६८ मा पृथ्वी नारायण शाहले मल्ल राजाहरुलाई काठमाडौंबाट पराजित
गरे ।
भनिन्छ पृथ्वीनारायण शाहको प्रारम्भिक योजना त काठमाडौं आक्रमण गर्नु अघि साँखु शहरलाई कब्जामा लिनु थियो । किनकि व्यापारिक मार्ग भएकोले यस्को ठूलो महत्व थियो । त्यसैले १७४६ मा भक्तपुरका राजा रणजित मल्लको सहयोगमा साँखुमा आक्रमण पनि गरेका थिए तर असफल भए । १९९३ मा कर्नल किर्कापाट्रिकको लेखमा यी सबै तथ्य र साँखु शहरका अन्य धेरै तथ्य हरु उल्लेख भएको पाइन्छ ।
प्राचिन समयमा साँखु शहरमा प्रवेश गर्ने ८ वटा ढोकाहरु थिए र पछि ती सबै जीर्ण भए र लोप भए । हाल ती मध्ये भाउध्वाहा ध्वाखा (बहु द्वार), म्यामचा ध्वाखा, द्युन्ला ध्वाखा, महध्यो ध्वाखा र नारी ध्वाखा नाम भएका ५ वटा ढोकाहरु पुननिर्माण गरिएको छ । प्राचिनकालमा ती ढोकाहरु (प्रवेशद्वार) मा पाटी, पौवा, ढुंगेधारा र पोखरीहरु थिए, अव अहिले कुनै कुनैमा मात्र देखिन्छ ।
प्राचिनकालमा भाउध्वाहा ध्वाखा साँखुको मुख्य प्रवेशद्वारा हुने गथ्र्यो र स्थानीय परम्परामा यो ढोका नयां दुलही प्रवेश गर्दा प्रयोग हुन्थ्यो । म्यामचा ध्वाखा अथवा छोरी ढोका– यो ढोका चाहिं छोरी विहे गरेर पठाउंदा विदाई गर्ने ढोका हो । धुन्लाध्वाखा यो ढोका वज्रयोगिनीको रथ तथा अरु जात्राहरुका रथहरु यही ढोकाबाट प्रवेश गराइन्छ । माहाध्द्योध्वांखा चाहिं मृत शरीर अन्त्येष्टीका लागि यही द्वारबाट लगिन्छ । नारीध्वाखा – सालीनदीको पर्वको समयमा माधवनारायणलाई भक्तजन सहित वाजागाजा साथ यही मूलढोकाबाट नगर भित्र र वाहिर लगिने गरिन्छ । नारी स्थानीय नाम भएकोले यो द्वारलाई नारीध्वाखा भनिएको हो भनिन्छ ।
नेपाली पात्रो अनूसार हिन्दु धर्मावलम्बीहरुको लागि माघ महिनाभरि सालिनदी एकदमै आकर्षणको केन्द्र वन्दछ । किनकि हिन्दू भक्तजनहरुले यो महिनाभरी स्वस्थानीमाताको पुजा अर्चना गर्दछन र घर घरमा स्वस्थानीको कथा सुन्ने गर्दछन् । कति भक्तजनहरु त महिनाभरि स्वस्थानी माताको व्रत पनि बस्ने गर्छन् ।
दाजू, साँखु जाने हैन ? नारायण जोशीको यो प्रश्न हो कि प्रस्ताव हो म खुट्याउन सक्तिन र सरल तर झर्रो जवाफ दिन्छु “साँखु जान कत्रो कुरा भयो त ? जहिले र जतिखेर गएपनि त भै गयो नी”
“हैन, अहिले माघ महिना, स्वस्थानीको याम, सालीनदी जाने पो भनेको त” नारायणजी प्रष्टिन खोज्नु हुन्छ ।
यो सम्बाद यही २०७८ साल माघ २० गते विहान १०–११ वजेतिरको थियो । मभित्र सुसुप्त रहेको डुलुवा मन आकर्षित भैहाल्यो “ल” जाउं न त साँखु सालीनदी । साँखु स्थित सालीनदी पचासौ चोटी गइसकेको ठाउँ तै पनि खै किन हो किन त्यो दिन पनि जान लालायित भैयो ।
‘इन्दिरा’ म श्रीमतीलाई बोलाएर नारायणजीले सालीनदी जाने प्रस्ताव राख्नु भएको छ, जाने हो भनेर सोध्छु ।’ जाने नि, किन नजानु’ अपेक्षाकृत जवाफ आई हाल्यो् । उता नारायण जी ले पनि आफ्नी श्रीमति तारा जोशीलाई तयार हुन भनिसक्नु भएछ । म तयार भएर गाडी निकाल्न ग्यारेज तर्फ जांदै थिएं, छिमेकी गणेश बरालजी आफ्नो बगैंचामा निक्लनु भएको देखें ।
“ए गणेश जी, ल आउनोस सालिनदी जाउँ” मैले उहाँलाई भनें । “जाने र ः” गणेशजी भन्नुहुन्छ । “जाने जाने आउनोस, तयार भैहाल्नोस म गाडि निकाल्छु । यती भनेर म ग्यारेज तर्फ पसें र गाडि पुछपाछ गरी सडकमा निकालें । त्यतिखेर सम्ममा गणेश बरालजी, नारायण जी, तारा र इन्दिरा चारै जना तयार भएर आउनु भयो । यसरी हामी एक्कासी त्यो दिन साँखु स्थित सालीनदी र माधव नारायणको दर्शन गर्न पुग्यौं ।
हरेक बर्ष माघ महिनामा लाखौंको संख्यामा हिन्दू श्रद्धालु भक्तजनहरु साँखुस्थित सालिनदीमा स्नान गर्न जान्छन । यसरी स्नान गर्न जाने श्रद्धालु भक्तजनहरुमा यो पनि दृढ विश्वास रहेको छ कि यदी माघ महिनामा सालिनदिमा गएर नुहायो भने आपूmबाट जान अंजानमा भएका र गरिएका पापहरु सवै पखालिन्छ ।”
सालिनदीमा गएर स्नान गरेर त्यही नै एक महिना व्रत वसेर स्वस्थानी मातालाई प्रसन्न पार्न चाहने श्रद्धालु भक्तजनहरु पनि त्यहाँ भेटिन्छन् । तर अधिकांश भक्तजनहरु चाहिं विहान गएर स्नान गरी माधवनारायण मन्दिर र स्वस्थानी माताको मन्दिर दर्शन गरेर फर्कने गर्दछन् ।
२०७८ साल माघ २० गते हाम्रो टोली पनि विहान ११ वजेतिरक घरबाट प्रस्थान गरी सालीनदी पुगेर नदीको पानी सेचन गरी त्यहाँ स्थित माधवनारायण र स्वस्थानी माताको दर्शन गरी यो वर्षको सालिनदी मेलामा आफ्नो उपस्थिति जनाईयो र घर फर्किइयो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक