आनन्द : सरण राई ( लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,फागुन ७ ।
एकजना आफन्तलाई सिलगडी उपचार गर्न लगेको बेला सस्तोमा किनेको जुत्ताको सम्झनाले अझै पनि मलाई मनमनै हसाउँछ ।
नरसिङ्गहोममै चिनजान भएको जोरथाङको एकजना नेपालीसँग प्रधाननगरको व्यस्त सडकमा घुम्न गएका थियौँ । एकजना खम्पाजस्तो देखिने आइमाई ‘वुडल्यान्ड’ ट्रेडमार्कको जुत्ता सडकको छेउमा फिजाएर बेचिरहेकी थिई । जुत्ताको मूल्य सोध्दा १५०।– भनिन् । त्यस्तो जुत्ताको मूल्य (शोरुम) दोकानमा अठार,उन्नाइस सय रुपियाँ पथ्र्यो ।
मान्छेहरू तँछाडमछाड गर्दै फटाफट जुत्ता किनिरहेका थिए । हेर्दाहेर्दै
३० र ४० जोडी बिक्री भयो । मैले पनि एक जोडी किनेँ । जोरथाङको नेपाली साथीले नौ जोडी किने । मसित पनि पैसा भएको भए नौ जोडी नै किन्ने थिएँ त्यति सस्तो पाएको बेला !
सस्तोमा पाएको जुत्ता नेपाल फर्केपछि गमक्क पर्दै लगाएँ । पहिलो दिन जुत्ताको अलिकति सिउनी उध्रियो, दोस्रो दिन अर्को ठाउँ फाट्यो । हप्ता दिन बित्न पाएको थिएन, जुत्ता फाटेर टुक्रा टुक्रा भयो । कति नराम्ररी फसिएछ । १५०।– रुपियाँ सित्तै गयो । मन च्वास्स दुख्यो । ‘सस्तो बेसाहाले पखाला चलायो’ सम्झेँ । मन खिसिक्क भयो ।
तर जोरथाङको साथी जसले नौ जोडी जुत्ता किनेका थिए, सम्झदा आफू ठगिएको कुरा बिर्सिएर मलाई आनन्द लाग्यो । परपीडाको आनन्द !
हप्तादिनमै टुक्रा टुक्रा हुने नक्क्ली नौ जोडी जुत्ता किन्ने उनको अवस्था कस्तो भयो होला ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक