जेबी अन्तर-विद्यालय चेस प्रतियोगितामा टुङ्ग्रम इन्टरनेशनल एकेडेमी प्रथम
कपन अनलाइन
काठमाडौं , भाद्र २ ।
बुढानिलकण्ठस्थित जेबी स्कुलले आयोजना गरेको प्रथम जेबी अन्तर-विद्यालय चेस प्रतियोगितामा टुङ्ग्रम इन्टरनेशनल एकेडेमी (TIA) ले पहिलो स्थान हासिल गरेको छ।
दुई दिनसम्म चलेको यो प्रतियोगिता स्विस लिग प्रणालीमा सञ्चालन भएको थियो। यसमा विभिन्न विद्यालयका २०० जना विद्यार्थीले भाग लिएका थिए। विद्यार्थीको कक्षा र उमेरका आधारमा छात्रतर्फ तीन र छात्रातर्फ दुई गरी पाँच फरक श्रेणीमा खेलहरु खेलाइएको थियो।
यस प्रतियोगितामा टीआईएका ९ जना खेलाडीले विभिन्न श्रेणीमा प्रथम स्थान हासिल गरेपछि समग्रमा टीआईएले शीर्ष स्थान ओगट्न सफल भएको हो।
टीआईएकी प्रधानाध्यापक निरा प्रधानले चेस खेलले विद्यार्थीको बौद्धिक विकासमा ठूलो सहयोग पुग्ने बताए। आफ्नो विद्यालयको चेस क्लबले प्राप्त गरेको यो सफलताले आफू निकै उत्साहित भएको उनले जानकारी दिएका छन ।
