पाँच मुक्तक : त्रिलोचन आचार्य

पाँच मुक्तक : त्रिलोचन आचार्य

कपन अनलाइन

काठमाडौं ,भाद्र २०।

(छन्द : नान्दिमुखी)

१. झर–झर¬–झरना, झर्छ त्यैँ खुल्छ शान्ति
लह–लह–लहरा, डुल्छ त्यैँ खुल्छ शान्ति
टह–टह छ अहा ! चाँदनी हेर कस्तो –
हर पल पहरा, उठ्छ त्यैँ खुल्छ शान्ति ।

२. सकस छ नभनौँ, खान छेक्दैन जुँगा
विपत छ नभनौँ, फुट्छ मर्दैन ढुङ्गा
प्रगति छ र कहाँ ? बस्न खोज्दा पछाडि –
समय छ नभनौँ, पुग्छ गन्तव्य डुङ्गा ।

३. मन किन ‘शठ’ भो ? त्यो स्वयंभित्र खोज
भय किन ‘हठ’ को ? त्यो स्वयंभित्र खोज
पर–परतिर त्यो, दोष लाएर हुन्छ ? –
अनुचित ‘गठ’ पो ? त्यो स्वयंभित्र खोज ।

४. उठन–उठ सबै, भन्छ भाले उठेर
जुटन–जुट सबै, काम थाल्नू रमेर
समय पल त हो, जान्छ चाँडै विलाई –
बुझन–बुझ कुरा, हुन्छ धेरै अबेर ।

५. कति त सुख यहाँ, दाममै मिल्छ भन्छन्
कति त सुख यहाँ, धाममै मिल्छ भन्छन्
किन किन सुखको मार्ग यौटै रहेन –
कति त सुख यहाँ, काममै मिल्छ भन्छन् ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।