सुलेख र सम्झना : पागल यात्री
कपन अनलाइन
काठमाडौं भदौ २१।
काठमाडौं भदौ २१।
चैत्र २६, २०८२ को बिहीबार कार्यालय पुगी धूपबत्ती सकी चिया पिउने तरखर हुँदै थियो मेरो । एक्कासी, बडो जोशिलो आवाजमा “सर नमस्कार !” भन्ने आवाज सुनेँ, “हजुर नमस्कार !” भन्दै ढोकाछेउतिर फर्किएँ, सुशील आचार्यजी हुनुहुँदो रहेछ ।
अहो ! दाजु बिहानै झुल्किनु भो त आज भन्न नपाउँदै “तपाईँलाई ‘सुलेख’ ल्याइदिएको छु” भन्नुहुँदै हातमा थमाइदिनु भयो । औपचारिकतासाथ मैले पनि “धन्यवाद दाजु” भनेँ । “हस् म लाग्छु यति तपाईँलाई पु¥याउन आएको भनेर अर्को ल्याइदिन्छु” भन्दै निस्किहाल्नु भयो ।
चियाको चुस्कीसँगै वसन्तराज अज्ञातजीले सजाउनुभएको सुलेखको सुन्दर मुहारलाई एकछिन् हेरिरहेँ । मुहारलाई पल्टाउँदै भित्र पसेँ र भित्रीमनको पहिलो मुहार हेर्न थालेँ । त्यसपछि सम्पादकीयको स्वाद लिएँ । मीठो र रसिलो लाग्यो । “खाने मुखलाई जुँगाले छेक्दैन” भनेझैँ लेख्न जोश, जाँगर र इच्छा हुनेलाई जहीँतहीँ विषयवस्तु उपलब्ध भएको कुरा बडो सरल तरिकाले “नाच्न नजान्ने आँगन टेढो” भन्नेलाई झापड हानेजस्तो लाग्यो ।
त्यसपछि गोपाल मैनालीजीको “हिमाल हाँस्न छाडेछ”तिर आँखा पुगे । उहाँ हिमालको हितैषी साथी हुनुहुँदो रहेछ भन्ने थाहा भयो । वर्तमान समयको तीतो यथार्थले हिमाल हाँस्न नसकेको हिमालको मनको व्यथा महसुस गर्ने मौका मिल्यो । यतिकैमा आँखा चियाको कपतिर गयो, मेरो चियाले पनि हाँस्न छाडिसकेछ ! त्यसपछि आफ्नो कामतिर लागेँ ।
हुन त म जानकार त होइन, तर पनि त्यति पढ्दापढ्दै आँखाले देखेका र मनले बुझेका केही शब्दहरु सामान्य थिए तर अशुद्ध छापिएको देखेँ । सम्पादकज्यूहरुको ध्यानमा कमी भएको महसुस गरेँ ।
समय हो बिती त जान्छ । नभन्दै कार्यालयमा दैनिकी गर्दागर्दै झमक्कै साँझ प¥यो । घडीको काँटाहरुले त्यस्तै ५ः३० नाघिसकेका थिए । त्यही बिहानकै जोशिलो आवाज “सर नमस्कार ! ल हजुरलाई सम्झना आइपुग्यो ।” तत्काल मैले पनि नमस्कार भन्दै आफ्नो शिष्टाचार देखाएँ । “सर, यसमा मेरो पनि छ, १४४ पृष्ठमा, कस्तो छ भन्नुस् है ?” पछि अरु पनि भयो भने ल्याइदिउँला नि हजुरलाई, अहिले लागेँ, हस् त नमस्कार !” भन्दै जानुभयो ।
“सम्झना” भैरव स्मृति पुस्तकालयद्वारा प्रकाशित स्मारिका–२०८२ रहेछ । स्मारिका अनुसारको नाम चयन धेरै राम्रो र अर्थपूर्ण लाग्यो । त्यसपछि दायाँबायाँ नलागी पृष्ठ १४४ पल्टाउन पुगेँ । बालबालिकाका लागि बौद्धिक तथा मनोवैज्ञानिक खुराक मिल्न सक्ने बालपुस्तकालय र बालमैत्री पुस्तकालयको सञ्चालन र आवश्यकता बारे आफ्नो मस्तिष्क शब्दमा खर्चिनुभएको छ जुन सकारात्मक र अर्थपूर्ण लाग्यो ।
फर्केर गएर विषयसूची हेरेँ । आँखा ‘कवि’ भैरव अर्यालकहाँ पुग्नु भएका सर्जक, मित्र, हितैषी निर्मलजीलाई देखेँ, पल्टाएँ पृष्ठ ७१ । हास्यव्यङ्ग्यबाज हुनुअघि भैरव अर्याल पहिले एक अब्बल कवि पनि थिए भन्ने कुराको धेरै महत्वपूर्ण ज्ञान यस लेखमा उल्लेख गर्नुभएको छ । हास्यव्यङ्ग्यबाजलाई मनपर्ने अन्य हास्यव्यङ्ग्यसर्जक र उनलाई कुन–कुन कविका कविता पढेपछि कविता लेख्न प्रेरणा मिलेको भन्ने सन्दर्भ र उनको कविता मन परेर राजा महेन्द्रले पुरस्कार समेत प्रदान गरेको जानकारी पाउँदा बडो खुशी लाग्यो । जुनबेला साहित्य र साहित्यकारलाई कतिको मानमर्यादा, इज्जत र उच्च मूल्याङ्कन गरिन्थ्यो भन्ने कुराको समेत जानकारी प्राप्त भएको छ । निर्मलजीको यस लेखबाट भैरव अर्यालका केही महत्वपूर्ण कविताहरु समेत पढ्ने मौका मिल्यो, उहाँ धन्यवादका पात्र हुनुहुन्छ । यति पढिहाल्दा लागेका केही शब्दहरु कोरेको छु एक पाठकको हिसाबले ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
