महाविपत्ती : लक्ष्मण ज्ञवाली (लघुकथा)
कपन अनलाइन
काठमाडौं भदौ २१।
“एक्कासी भयङ्कर आवाज आयो ।”
स्कुल जाने तरखरमा रहेको नाति चिच्याउँदै आगनमा निस्क्यो । अनि मैरीमा अर्घ चढाउदै गरेका हजुरबालाई समाउन पुग्यो ।
हजुरबाले भोटेकोशी पूर्बोत्तर दिशातिरबाट आफुतिर आइरहेको भिषण कहालीलाग्दो महाकालको दृश्य देखे । आँखै अगाडि त्यो दृश्य देखेका हजुरबुबाले नातिको पाखुरा समातेर निमेशमै माथि डाँडामा उक्लिन सफल भए ।
नातिले हक्कानिँदै रूदै प्रश्न सोध्यो । “आमा, हजुरआमा, दाइ दिदीहरू खोइ त ?” हजुरबुबाको मुटु भक्कानिइसकेको थियो ।
तरपनि मुटुमा गाँठो पारेर भने, “आउलान् नि ! तल खेतमा गएका छन् ।” नातिलाई आस्वस्त पार्न खोजे । बलबर्कत हुनेहरू र समयमै सूचित हुन सकेकाहरू अग्लो ठाउँ तिर दौडिदै थिए ।
आफ्नो घर, खेत, छरछिमेक, बाल बृद्ध अपाङ्गहरू र सिंगो बजार नाङ्गो आँखाले देखिने जति ठाउँ बाढीको ताण्डवले सर्लक्क निलिसकेको दृश्य थियो ।
डरले काँपिरहेको नाति हजुरबुबा को छातीमा बेस्सरी टाँसियो । हजुरबुबाको मुटु जोड तोडले धड्किरहेको थियो । हजुरबाले विगत सम्झिदै पश्चाताप गर्दै टोलाउनु भयो ।
उहाँको मुटुको पहिलो धड्कनले भनिरहेको थियो,
“पुर्खाले अग्ला सम्मो ठाउँमा बस्ती बसाल्थे । बेंसी फाँट नदी किनारामा खेतीको राम्रो प्रबन्ध मिलाउँथे । त्यसरी ठूला बाढी प्रकोपबाट मानवीय क्षति हुनबाट जोगाउँथे । तिसब अनुभवका अकाट्य मार्ग दर्शनलाई उहिलेका कथा बनाइयो।”
दोस्रो धड्कनले भन्दै थियो ।
“तिम्रो पुस्ता लोभी निस्क्यो, सजिलोको लागि नदी किनारामा बस्यो । नदीको साँध सिमाना मिचेर वासस्थान बनायो । ठूला विपत्तिको आँकलन गर्न सकेन । फलतः यो हविगतको भागिदार बन्न पुग्यो ।“
हजुरबाको मुटुको धड्कन हठात् बन्द भयो । उहाँ भुईमा पल्टिनु भयो । नातिले झकझकाउँदै चिच्यायो “हजुरबुबा – आमा, हजुरआमा र दाई, दिदीहरूलाई बोलाउन जाउँ न ।”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
