बुढानिलकण्ठ-२ का मनकारी कार्की :जसले समस्यामा परेका संक्रमितलाई बस्ने व्यवस्था मिलाईदिए
कपन अनलाइन
काठमाडौं ,भाद्र २०।निशा बराल / शिरिष पौडेल
कोरोनाले देशमा यति बेला माहामारीको स्थिति लिएको छ ।अहिले हामी सामुदायिक स्तरको संक्रमणबाट आक्रान्त छौ । हाम्रै समुदायमा पनि एक पछि अर्को संक्रमितको संख्या थपिदै आइरहेको छ । आज भोलि समाजमा संक्रमण फैलिनुको समस्या त छदै छ त्यससँगै अस्पताल लगाएतका संक्रमणको उच्च जोखिम रहेको क्षेत्रको अग्रपङ्त्तिमा रहेर काम गर्ने र स्वयमं संक्रमितलाई नै समाजबाट बहिष्कृत हुनु परेको हेपिनु परेको समस्याहरू आजभोलि बाहिर आउन थालेका छन् । झन् हौसला र प्रेरणा पाउने बेलाका उनीहरुले उल्टै समाजबाट हेला र बहिष्कार पाउने गरेको समाचार बाहिर आउने गरेका छन ।
कोरोना संक्रमितलाई छिमेकीले गरेको ब्यवहारका बारेमा थाहा पाएका बुढानिलकण्ठ २ भद्रबस्तीमा भाडामा बस्दै आएका एक सङ्क्रमितले भने ठिक उल्टो अनुभव गरेका छन ।
संक्रमण पुष्टि भएपछि उनी कहाँ आइसोलेशनमा बस्ने भन्ने कुराले चिन्तित थिए । आफु बस्ने गरेको ठाँउमा होम आइसोलेशनका रुपमा बस्न छुट्टै शौचालय छुट्टै कोठा नभएको , घरमा अरु कोठा पनि खालि नरहेको र हस्पिटलको आइसोलेशनको पनि निकै जोखिम महसुस गरेको अवस्थामा उनी कहाँ बस्ने भन्ने कुराले चिन्तित थिए ।उनको यो समस्या थाहा पाएर उनका छिमेकिले आफ्नो घरमा रहेको खाली फ्ल्याटमानै उनीहरुलाई बोलाएर बस्ने व्यवस्था मिलाइदिए । अहिले उनी त्यहि ठाउँमा आइशोलेसनमा बस्दै आएका छन् ।
तलको कुराकानी संक्रमितसँगको संवाद : (उहाहरुको मापदण्डका कारण परिचय गोप्य राखिएको छ )
प्रश्न : तपाई कोरोना भाईरसबाट संक्रमित हुनुन्छ भनेर कसरी थाहा पाउनुभयो , केही लक्षण देखएको थियो कि थिएन ?
संक्रमित : मलाई त्यस्तो संक्रमणको लक्षण केहि पनि देखिएको थिएन । वडाले संक्रमणको जोखिममा रहेका मानिसहरुको पिसिआर परिक्षण गर्ने भनेर सुचना दिएपछि हामी केही व्यक्तिको नाम वडाले सिफारिस गरिदियो । स्बाब कलेक्सन भयो त यसको रिपोर्ट आयो । रिपोर्टमा कोरोना पोजिटिभ देखायो ।
प्रश्न:तपाईलाई कोरोना लाग्नु पूर्व र कोरोना लागीसके पछि को यो रोगबारेको धारणा के छ ?
संक्रमित : कोरोना को बारेमा जताततै बिभिन्न खाले कुराकानी सुनिन्थे । मलाई पनि यो भाइरस निकै जटिल हो , कोरोना पोजिटिभ देखिएपछि यसले चाँहि मान्छेलाई ढाल्छ , मान्छे मरिनै हाल्छ जस्तो लाग्थ्यो । तर स्वयं आफुनै संक्रमित भएर आजको दिन सम्म आइपुग्दा म मा यो प्रतिको धारणा बदलिएको छ । यो बाहिर समाचारमा आएजति जटिल चाँहि रैन्छ , त्यो भन्दा अलि सामान्यनै रहेछ र यो बाट संक्रमित हुने बित्तिकै मान्छे मरिहाल्छि भन्ने चाँहि रहेनछ ।
प्रश्न :संक्रमण पुष्टि भएपछि आइसोलेसनको व्यवस्था कसरी भयो / कसरी गर्नु भयो ?
संक्रमित :म संक्रमित भएको थाहा पाएपछि अब आइसोलेशनमा कसरी र कहाँ बस्ने भनेर चिन्ता भयो । अब कहाँ सरकारको निग्रानिमा बस्न पर्छ कि भन्ने चिन्ता थियो । परिवारसँग छलफल गरे कहाँ बस्ने अब भनेर । मकहाँ छुट्टै बस्ने ठाँउ थिएन , छुट्टै एट्ट्याच्ड ट्वाइलेट वाथरुमको व्यवस्था पनि थिएन । मेरो अफिसमा कहाँ सानो ठाँउ थियो , त्यहि बस्छु भनेर निर्णय लिए ।
पछि मलाई मेरो छिमेकमा बस्ने आदरनिय दाजु शिब कुमार कार्किले यस्तो बेलामा तपाईँ टाढा नजानुस , मेरो घरमा फ्लाट खाल छ तपाई त्यहि बस्नु भन्नु भो । हामी तपाईँलाई चाहिने सम्पूर्ण सहयोग गर्न तयार छौ भन्नु भयो । मैलाई पनि ढुङ्गा खोज्दा देउता मिलेझै भयो । म उहाँकै घर तल आइसोलेसनमा बस्दै आएको छु ।
प्रश्न:कोरोना संक्रमित होम आइसोलेसनमा बस्दा अनेकौँ समस्या भोग्नु पर्यो , समाजले हेला गर्यो जस्ता कुराहरु समाचारमा आएका छन् । तपाईँले चाँहि समाजबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ त ?
संक्रमित :म बस्ने ठाँउको नाम भद्र बस्ती हो । नामझै यहाँका मान्छेहरुपनि निकै भद्र र सहयोगी हुनुहुन्छ । यस ठाँउका प्रत्येक व्यक्तिहरु दिउँसो आउनुहुन्छ मेरो स्वस्थय स्थिति सोध्नु हुन्छ ,एकछिन रमाईला गफहरु गरेर थप हौसला दिएर जानुहुँन्छ । उहाँहरुले मलाई अहिले यति सहयोग गरिरहनु भएको छ , यति धेरै हौसला प्रदान गरिरहेनु भएको छ , त्यसले मलाई भित्र भित्र जति रोग भएपनि मलाई केही पनि नभएको जस्तो महसुस भइरहेको छ ।उहाँहरुको सद्भावले मलाई यति खुसी बनाएको छ कि मलाई त यो कोरोना रोग नै केही हैन यसलाई जित्ने नै यस्तै साथ सहयोग र हौसलाले पचाउनेहो जस्तो लाग्छ ।
प्रश्न :यो अन्तर्वार्ता पढिरहनेलाई चाँहि तपाई के भन्न चहानु हुन्छ ?
संक्रमित :कोरोना भाइरसको बारेमा जति डर समाजमा फैलिएको छ त्यति जटिल पनि छैन । तर यो भन्दै गर्दा यसलाई हेलचेक्र्याई चाँहि गरिहाल्नु हुँदैन जस्तो लाग्छ । मेरो रोग प्रतिरोधि क्षमता राम्रो भएर होकि के हो मलाई त त्यस्तो भएको छैन तर यसले प्रतिरोधि क्षमता कमजोर भएकालाई चँहि गलाउदै लाँदोरहेछ अलि असहज स्थिति श्रिजना गर्दो रहेछ । त्यसैले हामीले खाने कुरामा पौष्टिक आहारहरु लिनु पर्दो रहेछ , नियमित व्यायम कसरतहरु गर्नु पर्दोरहेछ , आफ्नो स्वास्थ स्थितिमा ख्याल गर्नुपर्दो रहेछ । यति भयो भनेचाहिँ पक्कै जित्न सकिन्छ जस्तो लाग्छ , म यसरी नै जितेर घर फर्किन्छु ।
संक्रमितलाई आइसोलेसनमा बस्न दिने त्यहि टोलका शिव कुमार कार्की सँगको कुराकानी :
प्रश्न : केही समय अगाडि Kmc hospital मा काम गर्ने डाक्टरहरुलाई एक स्थानमा बस्ने क्वारेन्टिनको व्यवस्था गर्दा स्थानियले निकै बिरोध गरेका थिए । यस्तो समाचारहरु आइरहँदा हजुर ले केहि नहिच्किचाई , डर त्रास नमानिकन एउटा उदाहरण प्रस्तुत गर्नुभयो । तपाईले यसबारेमा के भन्न चहानु हुन्छ ?
शिव कुमार कार्की : यो माहामारी हो । यो सँग हामीले मिलेर सामना गर्नुपर्छ भनेर हामी यो ठाँउको मान्छेहरु यो लकडाउन देखि नै मिलेर एकले अर्कोलाई सहयोग गरेर एउटै परिवार जसरी बसिरहेका छौ ।
हाम्रै टोलका साथिलाई संक्रमणले छोएपछि उनलाई हामीले एकलो नबनाईकन हाम्रै वरिपरि राखेर सहयोग गर्नुपर्छ, हौसला दिनु पर्छ भन्ने हिसाबले मैले सक्ने सानो सहयोग मात्र गरेको हो । यो हामी यस समाजको मानिससरुको चेतना र सद्भावको कारणले गर्दा नै भएको हो । यो भाइरस मानव जातिको लागिनै ठुलो र नौलो चुनौति हो ।
यसलाई हामीले मिलिजुलिनै सामना गर्न सक्यौ भने पक्कैपनि यसबाट पार पाउन सकिन्छ तर यसलाई त लागेछ , यो संक्रमित हो , भनेर छिछि दुरदुर गर्यौ , डराएर आफ्नो मात्र स्वार्थका साथ हिँड्यौ अरुलाई सहयोग गरेनौ भने चाँहि यसबाट पार पाउन गार्हो नै छ । हामीले यस्तो बेला मानवतालाई नै ठुलो धर्म मानेर अघि बढ्न पर्छ ।
साँचैनै शिब कुमार कार्की ज्युले एउटा उदाहरणिय काम गर्नु भएको छ । यस्तो कामलाई खुलेर प्रशंसा र अनुशरण गर्नुपर्छ । हुनपनि ‘यो रोगले धनी गरिब कसैलाई छोड्दैन’ । अरु असुरक्षित आफुमात्र सुरक्षित हुन्छु भन्ने पनि छैन ।
यो हामी जो कोहिलाई जुनसुकै समय पनि लाग्ने हुनाले हामी सजग हुन जरुरी छ । अफ्ठ्यारोमा परेकालाई सहयोग गर्न जरुरी छ । यस्तो बेला हामीले मानवतालाई ठुलो धर्म मान्नुपर्छ देखाउनुपर्छ । अनिमात्र हामी यो भाइरससँगको युद्दमा विजय हाँसिल गर्न सक्छौ र त्यहि सुरक्षित र खुसी समयमा फर्किन सक्छौँ ।
(निशा बराल / शिरिष पौडेल सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )