‘नेपालको पुनर्निर्माणमा डायस्पोरा पुँजी परिचालन गर्नु पर्नेमा जोड’
कपन अनलाइन
काठमाडौं भदौ २२ ।
नेपालमा हालै विपद्पछिको पुनर्निर्माणका लागि ठूलो पुँजी आवश्यक पर्ने भएकाले विदेशमा रहेका नेपालीको पुँजी, प्रविधि, ज्ञान र सीपलाई परिचालन गर्नुपर्ने एनआरएन अगुवाहरूले सुझाव दिएका छन् ।
रसुवाको भोटेकोसी र त्रिशूली नदी कोरिडोरमा आएको भीषण बाढीले ठूलो जनधनसँगै सडक, पुल, जलविद्युत् आयोजना, बस्ती तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुर्याएपछि अब मुलुकसामु राहत र उद्धारसँगै पुनर्निर्माणको ठूलो चुनौती खडा भएको बेला उनीहरूले त्यस्तो बताएका हुन् ।
आइतबार प्रवासमा रहेका नेपालीहरूसँग भर्चुअल माध्यमबाट अन्तरक्रिया गर्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान अध्यक्ष महेश कुमार श्रेष्ठले नेपालमा हाल देखिएको पूर्वाधारको क्षति पुनर्निर्माण गर्न सरकारको बजेट मात्र पर्याप्त नहुने भएकाले विदेशमा रहेका नेपालीको लगानीलाई व्यवस्थित रूपमा नेपाल भित्र्याउनुपर्ने बताए। उनका अनुसार अहिले विपद्को समयमा लगानी कम्पनीको चर्चा गर्नु असान्दर्भिक जस्तो देखिए पनि त्यसको वास्तविक उद्देश्य तत्कालीन राहतभन्दा धेरै पर, दीर्घकालीन पुनर्निर्माण र पुनर्संरचनासँग जोडिएको छ।
‘अहिले यस्तो विपतको बेलामा उद्धार र राहतको कुरा गर्नुपर्ने समयमा कहाँबाट फेरि यो कम्पनीको कुरा गर्न लागियो भन्ने बुझाइ पनि हुन सक्छ,’ श्रेष्ठले भने, ‘तर हाम्रो बुझाइ के छ भने, पहिलो चरणमा त हामीले उद्धार, राहत र पुनर्स्थापनाका कामहरू गर्नुपर्ने नै हुन्छ। त्यस सँगसँगै अहिले हाम्रो जिम्मेवारी भनेको पुनर्निर्माण र पुनर्संरचना गर्ने पनि हो।’
डायस्पोरा इन्भेस्टमेन्ट कम्पनीका अध्यक्षसमेत रहेका श्रेष्ठले उद्धार र राहत तत्काल गर्नुपर्ने काम भए पनि विपद्पछिको सबैभन्दा लामो र खर्चिलो चरण पुनर्निर्माण भएको बताए । क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न ठूलो पुँजी आवश्यक पर्ने भएकाले त्यसको भार सरकारले मात्र थेग्न नसक्ने उनको तर्क छ। ‘उद्धार र राहत पहिलो चरणको काम हो, तर सबैभन्दा लामो समय लाग्ने, हामीले गर्नै पर्ने र सरकारले मात्रै गर्न नसक्ने काम भनेको पुनर्स्थापना, पुनर्निर्माण र पुनर्संरचना नै हो,’ उनले भने, ‘यो धेरै समय लाग्ने र पुँजी पनि धेरै चाहिने विषय हो।’
श्रेष्ठले नेपालले विगतका विपद्बाट पाठ सिक्दै अबको पुनर्निर्माणको ढाँचा नै परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार क्षतिग्रस्त संरचना पुरानै स्वरूपमा बनाउनु मात्र पुनर्निर्माण होइन। भौगोलिक अवस्था, प्राकृतिक जोखिम र वातावरणीय संवेदनशीलतालाई ध्यानमा राखेर नयाँ ढङ्गले संरचना निर्माण गर्नुपर्ने उनको भनाइ छ।
‘अब बनाउँदा मात्र भएन, निर्माण गर्दा पनि कसरी बनाउने भन्ने महत्त्वपूर्ण छ,’ श्रेष्ठले भने, ‘नेपालको भौगोलिक संरचना र परिस्थिति अनुसार जलविद्युत् बनाउँदा पनि नयाँ ढङ्गले बनाउनुपर्ने देखियो। सडक निर्माण गर्दा वा बस्ती विकास गर्दा जति पनि संरचनाहरू बनाउँछौँ, त्यसमा प्रकृतिसँग मिलेर संरचनाहरूलाई कसरी बचाउन सक्छौँ र हामी बाँच्न सक्छौँ भन्ने विषयमा अलि फरक ढङ्गको विकास र पुनर्संरचना हुनुपर्छ।’
उनका अनुसार अहिलेको विपद्लाई भविष्यमा त्यस्तै क्षति दोहोरिन नदिने गरी विकासको ढाँचा परिवर्तन गर्ने अवसरका रूपमा पनि लिनुपर्छ। त्यसका लागि सरकार, निजी क्षेत्र र विदेशमा रहेका नेपालीबिच सहकार्य आवश्यक रहेको उनले बताए।
‘अहिले यसको सही समय पनि भएको छ,’ श्रेष्ठले भने, ‘हाम्रोजस्तो निजी क्षेत्रको कम्पनीले नेपाल सरकार, नेपालका निजी क्षेत्रहरू र थुप्रै वित्तीय संस्थाहरूसँग मिलेर धेरै काम गर्न सक्छौँ जस्तो लाग्छ।’
