सानो सहयोग, ठूलो अर्थ : विपद्मा नागरिक दायित्वको एउटा उदाहरण (महेन्द्र चालिसे)

सानो सहयोग, ठूलो अर्थ : विपद्मा नागरिक दायित्वको एउटा उदाहरण (महेन्द्र चालिसे)

कपन अनलाइन
काठमाडौं भदौ २१।
राष्ट्रका लागि कुनै व्यक्ति वा साना गैरनाफामूलक सामाजिक संस्थाले दिने एक दुई हजार रुपैयाँ आफैंमा ठूलो रकम नहुन सक्छ । राज्यको विशाल आर्थिक संरचना र विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने करोडौँ रुपैयाँको तुलनामा त्यस्तो रकम नगण्यजस्तो देखिन सक्छ । तर विपद्का बेला सहयोगको मूल्य रकमको आकारले मात्र निर्धारण हुँदैन । त्यतिबेला महत्वपूर्ण हुन्छ सहयोग गर्ने भावना, सामाजिक उत्तरदायित्व र आफू पनि राष्ट्रको दुःखमा सहभागी छु भन्ने नागरिक चेतना ।
प्राकृतिक विपत्ति कुनै पूर्वसूचना दिएर आउँदैन । बाढी, पहिरो, भूकम्प, डुबान वा अन्य प्राकृतिक प्रकोपले एकैपटक परिवार, बस्ती र समुदायको जीवन अस्तव्यस्त बनाइदिन सक्छ । त्यस्तो अवस्थामा पीडितका लागि सरकारको राहत र उद्धार संयन्त्र सबैभन्दा महत्वपूर्ण हुन्छ । तर सरकार मात्रै पर्याप्त हुँदैन । नागरिक, सामाजिक संघ–संस्था, निजी क्षेत्र र विभिन्न समुदायको सामूहिक सहभागिताले विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन सक्छ ।
यही सन्दर्भमा नेपालको उत्तरी क्षेत्रमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिले हामी सबैलाई संवेदनशील बनाएको छ । नेपालको मित्रराष्ट्र चीनसँग सीमा जोडिएको उत्तरी क्षेत्रमा दुबै देशमा प्राकृतिक विपत्तिले पु¥याएको क्षति दुःखद् र गम्भीर विषय हो । छिमेकी मुलुकमा भएको यस्तो विपत्तिप्रति मानवीय संवेदना प्रकट गर्नु र आफ्नो सामथ्र्यअनुसार सहयोग गर्नु केवल सद्भावको विषय मात्र होइन, छिमेकीप्रतिको मानवीय जिम्मेवारी पनि हो ।
यही भावनालाई आत्मसात् गर्दै गोकर्णेश्वर नगरपालिकाले प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने उद्देश्यले कोष खडा गरेको समाचार सार्वजनिक भएको छ । नगरपालिकाको यो पहल आफैंमा प्रशंसनीय छ । स्थानीय सरकार नागरिकसँग सबैभन्दा नजिकको सरकार हो । त्यसैले स्थानीय तहले विपद्को समयमा राष्ट्रिय तथा मानवीय सरोकारका विषयमा नागरिकलाई जोड्ने प्रयास गर्नु सकारात्मक नागरिक संस्कार निर्माण गर्ने काम पनि हो ।
गोकर्णेश्वर नगरपालिकाले थालेको यस्तो अभियानमा नगरवासीको साथ रहनु स्वाभाविक मात्र होइन, आवश्यक पनि छ । एउटा व्यक्तिले दिएको सानो सहयोगले सम्पूर्ण विपद्को समाधान गर्न नसक्ला । तर हजारौँ व्यक्तिले आफ्नो क्षमताअनुसार थोरै थोरै सहयोग गर्दा त्यसले ठूलो आकार लिन सक्छ । नेपाली समाजमा प्रचलित एउटा उखान छ “सित थापेर घैला भर्नु ।” विपद्को समयमा यही उखानको मर्म अझ सान्दर्भिक हुन्छ ।
यसै सोचलाई आत्मसात् गर्दै रमेश विकल साहित्य प्रतिष्ठानले पनि गोकर्णेश्वर नगरपालिकाको उक्त अभियानमा ऐक्यबद्धता जनाएको छ । प्रतिष्ठान साहित्यिक तथा सांस्कृतिक गतिविधिमा केन्द्रित संस्था भएकाले विपद् व्यवस्थापन वा राहत वितरण उसको नियमित कार्यक्षेत्र नहुन सक्छ । तर सामाजिक संस्था हुनुको अर्थ समाजका सुखदुःखमा आवश्यक पर्दा आफ्नो उपस्थिति जनाउनु पनि हो ।
विशेषतः रमेश विकल साहित्य प्रतिष्ठान र गोकर्णेश्वर नगरपालिकाबीच विगतदेखि नै सहकार्य र सम्बन्ध रहँदै आएको छ । प्रतिष्ठानलाई आवश्यक परेको समयमा नगरपालिकाबाट सहयोग प्राप्त भएको सन्दर्भलाई पनि आत्मसात् गर्दै प्रतिष्ठानका केही पदाधिकारीले अनौपचारिक रूपमा छलफल गरी यो अभियानमा प्रतिष्ठानलाई सहभागी गराउने निर्णय गरेका हुन् ।
यस निर्णयको एउटा महत्वपूर्ण पक्ष के हो भने प्रतिष्ठानमाथि अतिरिक्त आर्थिक भार नपरोस् भन्ने कुरालाई ध्यान दिइएको छ । इच्छुक साथीहरू तथा आजीवन सदस्यहरूबाट स्वेच्छाले प्राप्त सहयोग संकलन गरियो र त्यसमा प्रतिष्ठानको कोषबाट समेत केही रकम थप गरी नगरपालिकामार्फत सम्बन्धित राहत कोषमा हस्तान्तरण गर्ने काम गरिएको छ । अर्थात्, यो कसैलाई बाध्य पारेर उठाइएको रकम होइन; स्वेच्छिक भावना र सामाजिक उत्तरदायित्वबाट जुटेको सहयोग हो ।
यस अभियानमा प्रतिष्ठानलाई सहयोग गर्नेहरूमा शाम्ब चालिसे, महेन्द्र चीलिसे, आलोक चालिसे, शम्भुप्रसाद चालिसे (कुमार), पुरुषोत्तम चालिसे (पुरु), सनतकुमार रिसाल, फुरसांग लामा तामाङ, रमेश चालिसे, बद्रीनाथ पौडेल र राजेश थापा रहेका छन् । रकमको आकारभन्दा पनि विपद्को समयमा आफ्नो संस्थामार्फत सहयोगको हात बढाउने उनीहरूको तत्परता प्रशंसनीय छ ।
हामीले अक्सर सामाजिक सेवाका विषयमा कुरा गर्दा ठूलो रकम, ठूलो संस्था र ठूलै कार्यक्रमलाई मात्र महत्व दिने गर्छौँ । तर सामाजिक उत्तरदायित्वको वास्तविक आधार त्यस्तो होइन । समाज निर्माणमा साना साना योगदानको पनि उत्तिकै महत्व हुन्छ । एक जनाले दिएको एक हजार रुपैयाँले एउटा परिवारको सम्पूर्ण समस्या समाधान नहोला, तर त्यही एक हजार रुपैयाँ अरू सयौँ व्यक्तिको सहयोगसँग जोडिँदा त्यसले उल्लेखनीय आकार ग्रहण गर्न सक्छ ।
त्यसैले विपद्को समयमा “मैले दिएको थोरै रकमले के फरक पर्छ र ?” भन्ने मानसिकता त्याग्न आवश्यक छ । फरक पर्छ । किनभने सहयोगको रकमभन्दा महत्वपूर्ण कुरा त्यसले निर्माण गर्ने सामूहिक भावना हो । एउटाले अर्कोका लागि हात बढाउँदा समाजमा विश्वास बढ्छ । विपद्को पीडामा परेकाहरूले आफू एक्लो नभएको अनुभूति गर्छन् । यही सामाजिक एकता कुनै पनि राष्ट्रको ठूलो शक्ति हो ।
रमेश विकल साहित्य प्रतिष्ठानको यो सहभागितालाई पनि यही दृष्टिकोणबाट हेर्नुपर्छ । साहित्य र समाज एकअर्काबाट अलग विषय होइनन् । साहित्यले मानवीय संवेदना, करुणा, सहअस्तित्व र सामाजिक जिम्मेवारीको चेतना जगाउने काम गर्छ । त्यसैले साहित्यिक संस्थाले विपद्को समयमा मानवीय संवेदनाका पक्षमा उभिनु उसको सामाजिक भूमिकासँग पनि जोडिन्छ ।
रमेश विकलजस्ता साहित्यकारको सिर्जनात्मक चेतनाको मूलमा पनि मानिस, समाज र मानवीय जीवनका विविध पक्षहरू रहेका छन् । त्यसैले उहाँको नाममा स्थापित प्रतिष्ठानले सामाजिक सरोकारका विषयमा आफूलाई जोड्नु केवल औपचारिकता नभई साहित्यिक संस्थाको सामाजिक चरित्रलाई अझ बलियो बनाउने अभ्यास पनि हो । यद्यपि यस्ता सहयोगलाई प्रचार प्रसार वा व्यक्तिगत श्रेयको विषय बनाउनु हुँदैन । विपद्को समयमा सहयोग गर्नु कुनै उपकार होइन; मानवीय दायित्व हो । कसैले आफ्नो क्षमताभन्दा धेरै दिएको होला, कसैले थोरै । तर सबैको भावना समान रूपमा सम्मानयोग्य हुन्छ। सहयोगको मूल्यांकन रकमको आधारमा गर्नु हुँदैन ।
आज देशभित्र वा बाहिर जहाँसुकै नेपाली तथा मानव समुदाय विपद्मा परेको अवस्थामा हामीले आफ्नो सामथ्र्यअनुसार सहयोग गर्न सक्ने संस्कार विकास गर्न आवश्यक छ । स्थानीय सरकारहरूले त्यस्ता अभियानलाई पारदर्शी, विश्वसनीय र प्रभावकारी बनाउनुपर्छ । सामाजिक संस्थाहरूले पनि आफ्नो क्षमताअनुसार सहकार्य गर्नुपर्छ । अनि नागरिकहरूले “सरकारले गरिहाल्छ” भनेर मात्र पन्छिने होइन, आफूले गर्न सक्ने योगदानका बारेमा पनि सोच्नुपर्छ ।
गोकर्णेश्वर नगरपालिकाले थालेको अभियानमा रमेश विकल साहित्य प्रतिष्ठानको सहभागिता यसै सामूहिक भावनाको एउटा सानो तर अर्थपूर्ण उदाहरण हो । रकम ठूलो नहोला, योगदान सीमित होला; तर विपद्को घडीमा “हामी पनि साथमा छौँ” भन्ने सन्देश आफैंमा महत्वपूर्ण हुन्छ ।
अन्ततः राष्ट्र निर्माण ठूल्ठूला घोषणाबाट मात्र हुँदैन । नागरिकको सानो सानो जिम्मेवारी, सामाजिक संस्थाको सानो सानो पहल र मानवीय संवेदनाबाट पनि राष्ट्रको चरित्र निर्माण हुन्छ । विपद्को समयमा एक मुठी अन्न, एक हजार रुपैयाँ, एक दिनको श्रम वा एउटा सहानुभूतिपूर्ण हात यी सबैको आफ्नै महत्व हुन्छ ।
त्यसैले नेपाली उखानले भनेझैँ, “सित थापेर घैला भर्नु” नै सामूहिक समाजको सुन्दर विशेषता हो । रमेश विकल साहित्य प्रतिष्ठानमार्फत जुटेको सहयोग पनि त्यही भावनाको एउटा प्रतीक हो । यो रकमले मात्र विपद्को सम्पूर्ण पीडा मेट्न सक्दैन; तर यसले मानवीय सम्बन्ध, सामाजिक उत्तरदायित्व र राष्ट्रिय एकताको एउटा सानो घैला भने अवश्य भरिरहेको छ ।
आज आवश्यक कुरा पनि यही हो सक्नेले धेरै गरौँ, नसक्नेले थोरै गरौँ, तर विपद्मा परेकालाई एक्लै नछोडौँ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।