भन्दछन् भक्ति थापा :त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं ,असार १३।
छोए माटो कसैले, कलुषित मनले, दुख्छ छाती चसक्क
नेपाली ती हुँदैनन्, जन मन कुडिँदा, हाँस्न सक्ने मुसुक्क
गोर्खाली वीर नामी, सवल शिखरमा, चढ्न सक्ने डटेर
हेप्दै कोही नहेपोस्, डर बल छलले, तर्सिने को छ हेर ?
आई हाम्रै सिमामा, किन किन किन रे, गर्नु पर्ने तमाशा ?
हाम्रै खोसेर पाटो, किन किन किन रे, चर्नुपर्ने हमेशा ?
ए ! ए ! हाम्रो छिमेकी, कति कपट गरी, हिँड्न सक्छौ यहाँ झन् ?
सानो हो थिच्छु भन्ने, नलिनु भ्रम यहाँ, भक्ति थापा अझै छन् ।
हाम्रो काली र हाम्रै, जमिन त्यस यता पुर्वको त्यो नटेक्नू
कालापानी मिचेरै, ढलिमलि त्यसमा, हुन्छ भन्ने नसोच्नू
मान्दैनन् त्यो सुगौली, सहज यदिभने, काँगडा खोज्नुपर्छ
तिष्टा हाम्रो सिमाना, अटल छ दिलमा, फेरि त्यै रोज्नुपर्छ ।
भन्छौ रोटी र वेटी, सकल निकटता, हेप्नकै लागि हो र ?
भन्छौ पानी जवानी, झुटमुट लुट त्यो, छोप्नकै लागि हो र ?
भन्दै प्यारो अँगालो, पल–पल यसरी, मित्र घाँटी नि ! रेट्छन् ?
नेपाली भित्र तातो रगत छ कसले, भन्छ जे हुन्छ मान्छन् ।
नेपाली भोक मेट्छौँ, हर क्षण श्रमले देशको घात हुन्न
नेपाली नित्य रोज्छौँ जगत चहकिलो बढ्न उन्माद दिन्न
माटो चिन्दै नचिन्ने, किन किन सरिता, गर्दछन् आज डाँको
बोल्दै राम्रो, नराम्रो गतिविधि किन भो ? हुन्न राम्रो रडाको ।
जा जा फर्केर जा भारत किन किचलो गर्न तम्सेर आईस्
छाडा साँडे कुदेझैँ, उधुम अति गरी, नित्य सन्त्रास ल्याइस्
तेरो विस्तारवादी प्रवृति छ ननिको, चल्न सक्दैन ज्यादा
खेद्यौँ अंग्रेजलाई, अनुज बन दरो, भन्दछन् भक्ति थापा ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक