नजमुल्लालाई खुला पत्र :वैरागी जेठा (कविता )
कपन अनलाइन
काठमाडौं ,असार १३
प्रिय नजमुल्ला !
मसँग कुनै शब्दहरु छैनन्
म स्तब्ध छु ।
उत्तेजित हुन्छु र लजावती झैँ लजाउन बाध्य छु
मेरो देश, देश रहेन
घर, घरजस्तो घर भएन
आजको युगमा पाइला टेक्दा
अनुशासन, नैतिकता र दायित्व बोधहरु हराइरहेछन्
पोखरीका धूँवाका वाफहरुसँगै
यतिबेला स्तब्ध छु ।
प्रिय नजमुल्ला !
तिमीले कुरान समायौ, मैले गीता समाए
यत्तिफरक हो हामी बीचमा ।
कोरनाझैँ मान्छेहरु एकनास हिँडीरहेछन्
हरेक अनुहार मान्छेका जस्ता लाग्दैनन्
सडकको बीच भागमा भाग्न कुदिरहेका
अधबैँशे युवायुती देखेर
मन कुँडिन्छ, कुँडिरहेछ
मेरा आँखा बाउँडिएका छन्
पोखरीको डिलमा !
जब तिम्रो पसलमा
अस्तित्वहिनहरुले प्रहार गर्छन्
काई परेका चेतनाहरु
ओहोर–दोहर गर्छन्
म मृत्यु नजिक उभिएझैँ लाग्छ
उभिन्डिएर हेर्छु, तिम्रो पसल
आँखाले सनाई बजाउँछ, पीडाहरुको ।
प्रिय नजमुल्ला !
उपाहस गर्छन् काला चराका वर्दीहरु
प्रहारबाट बिउँझन्छ हृदय
मनग्य पीडालाई, घुट–घुट पिएर
जीवन ओइलीएको छ
तिमीलाई विरहका कथा सुनाएकै हुँ
कोरनासँगै हिँडेका बुटहरु
कपटी पासा खेलिरहेछन् ।
म भाँचीएको छु, लडेको छु ।
प्रिय नजमुल्ला !
भन तिम्रो खबरहरु
पठाऊ सुन्दर जवाफहरु
पर्खिरहने छु, तिम्रो पसलमा ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक