“साझा लडाइँ : कोरोना विरुद्ध मान्छे”
कपन अनलाइन
काठमाडौं ,चैत २४/कृष्ण राई
यतिखेर विश्वका सबैजसो मुलुक कोरोना(कोभिड-१९ )भाइरसबाट आक्रान्त छ।जस्को महामारीले सबैभन्दा चेतनशील प्राणी मानिएको मानवजाति समक्ष कडा चुनौती खडा गरिदिएको छ।त्यसो त ज्ञान -विज्ञानको सृष्टिकर्ता मानवजातिले आज भन्दा अगाडिको समयमा पनि यस्ता प्रकारका थुप्रै चुनौतीहरुको सामना गरेको र त्यस बिरुद्धको लडाइँमा सफलता प्राप्त गरिसकेको इतिहास् हामीसँग छ ।
ढिलाचाँडो कोरोना बिरुद्धको साझा युद्धमा पनि विज्ञानले नै विजय हासिल गर्नेछ र भयभीत मानवीय पीडाबाट मान्छेले मुक्ति पाउनैपर्छ, पाउनेछ । सबै मुलुकहरु कोरोना प्रकोपले आफ्नो जन र धनमा पुर्याउनसक्ने क्षतिको पूर्वआँकलन सहित आवस्यक सतर्कता अपनाउँदै कोरोना बिरुदको युद्धमोर्चामा युद्धरत छ।
संयुक्त राष्ट्र संघले अहिलेको महामारीलाई दोस्रो विश्वयुद्ध पछिको ठुलो चुनौतीको रुपमा रहेको बताएको छ। उस्ले यो महामारीको असरले आर्थिक र सामाजिक क्षेत्रमा ठुलो भयावह स्थिति सिर्जना हुने र विश्वव्यापी मन्दी ल्याउने अड्कल गरेको छ।
त्यसका साथै कसैले भनेपनि वा नभने पनि विश्व राजनीतिक शक्तिसन्तुलनको परिदृष्यमा समेत केही हेरफेर हुनसक्ने कुरालाई नजरअन्दाज गर्न सकिंदैन भन्ने कुरा शक्तिशाली भनिएका राष्ट्र र तिनीहरुको व्यवहारहरुले सङ्केत गरिरहेकै देखिन्छ।
अघिल्लो वर्षको डिसेम्बरको अन्तिम समयतिर चीनको उहानबाट सुरु भएको यो कोरोनालाई एकातिर अमेरिकाले “चाईनिज भाइरस” खासै केही होइन र केही भएपनि चीनमै मात्र सिमित रहन्छ, हामी (चीन वाहेक)लाई कुनै समस्या पार्दैन भन्ने हलुका आशय प्रकट गर्यो र अर्कोतिर चीनले विशाल आफ्नो जनसंख्यामाथि अमेरिकाले उस्को सेना मार्फत संक्रमण गराएर चीनलाई विश्व राजनीतिको नेतृत्वमा पुग्न नदिने षड्यन्त्रको जैविक हतियार भनेको छ।
जस्ले जे जे भनेपनि कोरोनाले आज संसारका सबै मुलुक र मानवजातिलाई निदाउने कुरा त परै जावस् चुप बस्न समेत दिएको छैन। बरु समयमै आफ्नो कुशल व्यवस्थापकीय क्षमताको प्रदर्शन गर्दै झण्डै साँढे दुई महिनाजत्ति पछि चीन लगभग कोरोनाबाट मुक्त जस्तै भएको भनिएको छ
( यद्यपि चीनमै पनि यसबारे सजग गराउन चीनकै एकजना डाक्टरले समयमै भनेको कुरा सरकारले नसुनेको अवस्था थियो) तर राजनीतिक दुराशयका साथ चीनको पछि लाग्नुहुन्न भन्ने शक्तिशाली राष्ट्र अमेरिका र उस्को पदचापमा हिंड्ने अन्य मुलुक (युरोपियन- अमेरिकी) हरु सजगतामा ढीला हुनु र कुशल व्यवस्थापनमा चुक्नुले आज ठुलो टाउको दुखाइमा छन्।
चीन पछि युरोप, अमेरिका हुँदै एशिया र दक्षिण एशियाली मुलुकहरु यस महामारीको चपेटामा पर्नसक्ने विश्वव्यापी आँकलन छ।त्यसमा पनि हाम्रो देश नेपाल श्रोत- साधनका हिसाबले, व्यवस्थापकीय दृष्टिकोणले र खुल्ला सिमाना रहेको भारतसँग(आफ्नो भूभागको तीनतर्फ फैलिएर रहेको विशाल जनसंख्या जहाँ यो महामारी भयावह हुनसक्ने अवस्था छ) जोडिएको आदि कारणले जुनसुकै बेला जुनसुकै अवस्थामा पुग्न सक्दछ।
निधानका लागि औषधि (anti – virus)पत्ता लगाउने होडमा विश्वका वैज्ञानिकहरु नसुतिकन लागिपरेका भएपनि औषधि पत्ता कहिलेसम्ममा लाग्छ भन्ने कुनै ठेगान छैन ।
त्यसअघि मान्छेहरूले आफ्नो दैनिकीमा सामाजिक दूरी (social distance) कायम गरेर व्यवहार चलाउनु कोरोना सङ्क्रमणबाट बच्ने एकमात्र उपाय हो। विज्ञहरूका अनुसार निश्चित ठाउँमा पुगेर क्रमभङ्ग हुनासाथ भाइरस आफै हराउँदछ।
जसरी एउटा रुख बलेर अर्को रुख तर्फ आगो सल्कँदै डढेलो लागेको बनलाई जोगाउन बनको निश्चित भूभागबाट रुखहरु अलग्याईन्छ र डढेलोको अन्त्य हुन्छ त्यसरी नै भाइरसको डढेलोलाई अन्त्य गर्न एउटा सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमित हुन नदिनु नै त्यसको अन्त्य गराउनु हो। “आँफु बच्नु र अरुलाई बचाउनु ” नै कोरोनालाई भगाउनु हो।
सङ्क्रमणको क्रमभङ्गका लागि नै विश्वले यतिबेला “Stay Home n Stay Safe” को रणनीति अवलम्बन गर्दै Lock Down को विधि अपनाइरहेका छन् ।
यो विधिलाई अमेरिका एउटाले मात्र अरुले अपनाएको तरिका अपनाउँदा शक्तिको मानमर्दन हुन्छ भनेर हो वा छिट्टै anti virus निकाल्छौं र समाधान गर्छौं भनेर हो वा उस्को आफ्नो आन्तरिक मामला हो भनेर अरुलाई आफ्नो अन्तर्यबाट टाढा राख्न अङ्गिकार गर्न चाहेको छैन । हाम्रो नेपालले भने २०७६ चैत्र ११ गतेदेखि एक हप्ता र फेरि पछि दोश्रोचोटि चैत्र २३ गतेसम्मका लागि Lock Down लाई निरन्तरता दियो र तेस्रोचोटि २०७७ बैशाख ३ गतेसम्मका लागि अझ कडाइकासाथ लागू गर्नेगरी कायमै राख्ने निर्णय गरेको छ।
यो लकडाउन, बाँचिरहेका हामी सबै नेपालीहरुको जीवनमा पहिलोपटक आत्मसाथ गर्नुपरेको विषय हो। एउटा परिवेशबाट एक्कासी अर्को परिवेशमा त्याे पनि निरन्तर लामो समयसम्म नयाँ व्यवहार धान्न हामी सबैलाई अवश्य पनि कठिनाइ भएको छ।
जस्को नाम नै “बन्दाबन्दी”अर्थात् घरभित्रैको नजरबन्द रहेछ।आफ्नै देशको जनताको जीवन रक्षाका लागि सरकारले गरेको आव्हानलाई बुझ्न बाँकी रहेका केही सोझा व्यक्ति र बुझ पचाएका केही अराजक तत्व बाहेककाले पूर्णरुपले पालना गरेका छन्।
अब दोश्रो हप्ताको लकडाउनमा सरकारले अवलम्बन गर्ने भनिएको तीन रणनीति र कार्यान्वयनका सन्दर्भमा थोरै चर्चा गरौं।
१. क्वारेन्टाइन कार्यान्वयन गर्ने (सबै तहका सरकार परिचालित हुने। खासगरी सुरक्षा निकायको परिचालन सहित विदेशबाट आएकाहरुको सुरक्षा गर्ने)।
२. नमुना परीक्षणको दायरा बढाउने (आवस्यक श्रोत साधन जुटाएर अधिकतम जनताको परीक्षण गराउने)।
३. अस्पतालको व्यवस्थापन गर्ने(उचित व्यवस्थापनको अर्थमा)। जस्को लागि दिनहुँ राष्ट्रिय टिभी च्यानलबाट प्रत्यक्ष पत्रकार सम्मेलन द्वारा जानकारी गर्ने गरिएको छ।
कार्यान्वयनका सन्दर्भमा भने सरकारको इमान्दार प्रयत्नका बाबजुद अझ थप मिहेनत गर्नुपर्ने देखिएको छ। सामाजिक रुपमा बहिष्कृत हुने डरले, सरकारी व्यवस्थापनमा विश्वस्त हुन नसक्ने पुरानो मान्यताले, विषयका हिसाबले नागरिकहरु पूर्ण सचेत भइनसकेको आदिले क्वारेन्टाइन कार्यान्वयनमा सरकारले सोचेजस्तो सफलता प्राप्त गर्न नसक्ने अवस्था सिर्जना भयो र विदेशबाट आएका सङ्क्रमितबाट पहिलोपटक अर्को व्यक्तिमा सङ्क्रमण देखापर्यो र नेपाल पनि कोरोनाको दोश्रो चरणको सङ्क्रमणको अवस्था (चैत्र २२ ) मा प्रवेश गर्यो।
यसपछि local बाट community transmission मा सङ्क्रमण हुनबाट जोगिन लकडाउनलाई अझ कडा बनाउने निर्णय गरेको छ ।एक प्रदेश,जिल्ला र स्थानीयबाट अर्को प्रदेश,जिल्ला र स्थानीय तहमा जान रोक लगाउँदै र त्यस ठाउँमा थप सतर्कता सहित फास्ट ट्र्याकबाट काम गर्न लागेकोले सरकार गम्भीर रहेको महसुस गराएको छ।त्यस्तै यस विचमा नेपाल सरकारले टेकुमा मात्र कोरोना स्वावको परीक्षण गर्ने गरिएकोमा अहिले सातै प्रदेशमा यस्तो सेवा पुर्याउने काम गरेको छ जुन प्रसंशनीय कार्य हो ।
जुन तहको सरकारले जे जे गरेपनि त्यस्को हिसाबकिताब त्यहीं नभएर जस अपजस केन्द्रीय सरकार तिरै तेर्स्याउने अवस्था एकातिर रह्यो भने अर्कोतिर प्रदेश र स्थानीय सरकारहरुले केही उल्लेख्य निर्णय र काम त गर्यो।
तर श्रोत साधनको अभाव,शक्तिको पहुँचमा कमी,कानुनी अप्ठ्यारा र रोगको नयाँपन अनि जटिलताका कारण अन्यौलताको अवस्था समेत देखापर्यो।परीक्षणको दायरा बढाउन चाहिने श्रोत साधन जुटाउने सन्दर्भमा चीनबाट मेडिकल सामान ल्याउने जिम्मा पाएको कम्पनी ओम्नी समूहले देखाएको गैरजिम्मेवारीपनले जनस्वास्थ्यमा गम्भीर खेलवाड गरेको मात्र नभई मन्त्री र नेताहरु माथि भ्रष्टाचारको गम्भीर आरोप समेत लागेको छ।
तथापि स्वयं प्रधानमन्त्रीले अोम्नी समुहलाई कार्वाहीको दायरामा राखेर मन्त्रीपरिषद्को बैठकबाट जिटुजि बिधिबाट सामान ल्याउने गरी सेनालाई जिम्मेवारी दिएको छ र जनतालाई निराश हुनबाट अलग राख्न प्रधानमन्त्रीले हिम्मत गर्नुभएको छ।
जनतालाई उत्साहित गराउन सक्नुभएको छ। सबै डक्टर,नर्स र सम्बन्धित कर्मचारीहरुको जीवनरक्षा र मृत्यु पर्यन्त बीमाको ग्यारेन्टी जस्ता सेवा सुविधा दिएर अस्पतालको उचित व्यवस्थापन गर्ने कुरामा अझ ध्यान दिनु जरुरी छ।
समग्र स्वास्थ्य क्षेत्रको उन्नतिमा निजी क्षेत्रको पनि उल्लेख्य योगदान भएकोले उनीहरूको मागको पनि सरकारले सम्बोधन गर्ने पर्दछ भने निजी क्षेत्रका स्वास्थ्यकर्मीहरुले पनि यो सङ्कटको घडीमा निस्वार्थ भावनाले काममा जुटेर राष्ट्रलाई अमूल्य योगदान गर्ने अवसरको सदुपयोग गर्ने समय हो भन्ने बुझ्नसक्नु पर्दछ।
त्यसो त यो महामारीले भयावह रुप लियोभने हाम्रो देशको स्वास्थ्य प्रणालीले नधान्न पनि सक्छ भन्ने कुरामा सरकार , स्वास्थ्यकर्मी र अाम नागरिक सबैले पहिलो प्राथमिकतामा राखेर आ आफ्नो ठाउँबाट सतर्कता अपनाउनु जरुरी छ।
जनता नभए के को देश अनि सरकार ? भन्ने ठानेर सरकारले अरु कामलाई थाती राख्दै जनता जोगाउने तर्फ लाग्नु पर्दछ भने सरकारले लकडाउन मेरै लागि लगाएको हो बाँकी अरु अधिकारका कुरा फेरि उठाउँला भन्दै पूर्णरूपले पालना गर्नुको विकल्प पनि छैन।
मन परेन भनेपनि पहिला आफु सकारात्मक र अनुशासित हुने समय हो भन्ने नभूलौं। जस्ले जे जे भनेपनि आत्तिएर वा जानाजान महाकाली नदिमा फालहाल्ने वा त्यस्तै जस्तो दुस्सहास गर्नु कसैका लागि राम्रो हुँदैहोइन। हाम्रा लागि कोरोना आयातित समस्या हो।यस बीचमा विभिन्न देशहरुबाट फर्किनु भएका नागरिकहरुले विशेष सतर्कता अपनाएर सहयोग गरौं ।
मलाई केही भएकै छैन भनेर हेलचेक्र्याइँ नगरी क्वारेन्टाइनको पालना र आवस्यक परीक्षण गरेर आफु र समाज पनि ढुक्क हुने वातावरण तयार गरौँ र अरुले उहाँहरुलाई त्यसरी नै सहयोग गरौं।
लकडाउन घटाउने कि लम्ब्याउने हाम्रै हातमा अर्थात् मान्छेको अनुशासनमै निहित छ।अब सरकारले उही तीन रणनीतिलाई सफलतापूर्वक कार्यान्वयन गर्नेतर्फ लाग्नु र जनताले त्यसलाई निशर्त सहयोग गर्नु अहिलेको प्रमुख कार्यभार हो।
अन्त्यमा फेरिपनि “घरमै बसौं,सुरक्षित रहौं”। “मान्छेले कोरोना देख्दैन,कोरोनाले मान्छे छोड्दैन।”
( काठमाडौं क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित राई नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का केन्द्रीय सदस्य एवं काठमाडौं जिल्ला अध्यक्ष हुन् )