काठमाडौं–४: इज्जतको लडाइँ लड्दै कांग्रेस !
– केशव पाठक
काठमाडौं–४ नेपाली राजनीतिमा केवल एउटा निर्वाचन क्षेत्र होइन । यो चुनावी क्षेत्र समय–समयमा राजनीतिक प्रवृत्तिको दिशासूचक बन्दै आएको छ । यहाँको मतदाताले सत्ता होइन, सन्देश दिने गरेका छन् । यस क्षेत्रले हरेक निर्वाचनमा व्यक्ति होइन, दृष्टि दिइरहेको छ । यो त्यही क्षेत्र हो जहाँबाट नेपाली कांग्रेसले शहरी राजनीतिको नेतृत्व गरेको थियो र यही क्षेत्रले कांग्रेसलाई गगन थापाजस्तो बहसप्रिय, प्रश्न गर्ने र सर्बप्रिय नेता पनि दिएको थियो ।
तर आज दृश्य बदलिएको छ । फागुन २१ मा हुने आमनिर्वाचनमा यस क्षेत्रमा गगन थापा हुने छैनन् । गगन थापाको अनुपस्थितिमा कांग्रेस काठमाडौं–४ आफ्नै खुट्टामा उभिनु पर्नेछ । गगन थापाको नाम काठमाडौं–४ सँग केवल चुनावी जीतका कारण जोडिएको नाम होइन । उनले यस क्षेत्रलाई राष्ट्रियरूपमा राजनीतिक पहिचान र महत्व दिएका थिए । यस क्षेत्र विकासको आधार दिएका थिए । शहरी मध्यमवर्ग, युवा मतदाता र बौद्धिक वृत्तसँग संवाद गर्न सक्ने क्षमता गगनको मुख्य शक्ति थियो । उनी भाषण गर्न मात्र होइन, प्रश्न सुन्न र बहस गर्न हरहमेसा तयार हुन्थे ।
काठमाडौं क्षेत्र नं ४ बाट ३ पटक विजयी भएर संसद्मा सरकारको आलोचना होस् वा आफ्नै पार्टी नेतृत्वप्रति असन्तुष्टि, गगनको राजनीति सहज थिएन, तर त्यसैकारण उनी प्रभावकारी थिए । गगन थापा कांग्रेसका लागि व्यक्ति मात्र थिएनन्, उनी पार्टीको शहरी अनुहार थिए । पार्टीभित्रको पुरानो शैली र बाहिरको नयाँ अपेक्षाबीच पुल थिए ।
आज यही राजनीतिक पूँजीको अनुपस्थितिले कांग्रेसलाई काठमाडौं–४ मा परिवर्तित लडाइँको केन्द्र बनेको छ । आज काठमाडौं क्षेत्र नं ४ बाट गगन हटेपछि गगन नामको तिलस्मी अनुहार छैन र गगन नामको स्पष्ट नेतृत्व छैन । अब क्षेत्र नं ४ कांग्रेससँग गगनको विरासत छ, उनले गरेका कामहरूको कथा छ । अनि उनको विकल्पमा उनलेनै इच्छाएका युवा अनुहार छन् सचिन तिमिल्सिना । सचिनको सोच अनि सपनालाई कथा बुनेर गगन विरासतको नेतृत्व बनाउने लडाइँ गर्नु छ अब क्षेत्र नं ४ कांग्रेसले ।
यद्यपि आज काठमाडौं–४ मा कांग्रेसको समस्या उम्मेदवार को हो भन्नेभन्दा धेरै गहिरो छ । समस्या हो, कांग्रेसले मतदातालाई के भन्न खोजिरहेको छ ? गगन हुँदा कांग्रेसको एउटा स्पष्ट कथा थियो । त्यो कथा सुधारको थियो, प्रश्नको थियो र वैकल्पिक राजनीतितर्फ संकेत थियो । गगनविना चुनावी कथामा प्राण कसरी भर्ने ? भन्ने लडाइँमा छ यतिखेर क्षेत्र नं ४ कांग्रेस ।
क्षेत्र नं ४ कांग्रेससँग गगन थापाको गौरवपूर्ण इतिहासलाई विश्वसनीय रूपमा बेच्न सक्ने प्रशस्त आधारहरू छन् । सोही आधारमा यहाँको कांग्रेसले नयाँ भविष्यको खाका प्रस्तुत गर्न सक्नुपर्छ । गगनको विश्वसनीय इतिहास अनि सचिनरूपी नयाँ भविष्यको खाकामा आत्मविश्वासी चुनावी अभियानको रेखा कोर्न त्यति गारो पनि देखिदैन ।
काठमाडौं–४ को मतदाता पछिल्ला वर्षहरूमा तीव्र रूपमा बदलिएका छन् । यो क्षेत्र डिजिटल रूपमा सक्रिय छ, सूचनामा सचेत छ, र भावनात्मक नाराभन्दा व्यावहारिक उत्तर खोज्छ । यहाँ पार्टीको नामले होइन, उम्मेदवारको क्षमता, स्पष्टता र विश्वसनीयताले मत तान्छ । गगन थापाको क्षमता र स्पष्टताका अगाडि ०७० देखि हरेक पक्ष यस चुनावी क्षेत्रमा निस्तेज हुँदै आएको छ । तर कांग्रेसको चुनावी शैली अझै पनि पुरानै ढाँचामा अड्किएको देखिन्छ । घरदैलो, ठूला नेताको फोटो र विगतका उपलब्धिको सूची—यी कुरा आजको काठमाडौं–४ का लागि पर्याप्त छैन । यहाँ मतदाता “के गर्नुभयो ? ” भन्दा पनि “के गर्नुहुन्छ?” भन्ने प्रश्न सोधिरहेको छन् । यो धारिलो प्रश्नमा सचिन तिमिल्सिनासँग पर्याप्त उत्तर हुनुपर्छ ।
गगनको अनुपस्थितिले क्षेत्र नं ४ मा प्रतिस्पर्धीहरूलाई अवसर पनि दिएको छ । एमाले, रास्वपा, नेकपा, राप्रपासहित वैकल्पिक राजनीतिक धारका पात्रहरू यही खाली ठाउँ भर्न खोजिरहेका छन् । एमालेबाहेक अरू शक्तिको सन्देश सरल छ “पुरानो राजनीति असफल भयो, नयाँ विकल्प चाहिन्छ” । यो सन्देशमा कांग्रेस अलमलिनु हुँदै । कांग्रेस पुरानो हुन नचाहने अनि नयाँ बन्न नसक्ने पुरानो रोगबाट उठ्नुपर्छ । यतिखेर कांग्रेसका लागि आफ्नो पहिचान चुनौती बन्नु हुँदैन । गगन थापाले कांग्रेसभित्र ल्याएको सुधार नै पहिचानका लागि पर्याप्त हुनुपर्छ ।
काठमाडौं–४ मा कांग्रेसले लडिरहेको लडाइँ मूलतःइज्जतको लडाइँहो । यहाँ हार्नु भनेको केवल एउटा सिट गुमाउनु होइन, गगन थापाको विरासतमाथि प्रश्न हुनुको साथै शहरी राजनीतिमा कांग्रेसको सान्दर्भिकतामाथि प्रश्न उठ्नु हो । यदि कांग्रेसले यो क्षेत्रमा फेरि पनि स्पष्ट विचार, विश्वसनीय नेतृत्व र भविष्यको दृष्टि प्रस्तुत गर्न सकेन भने, यो पराजय दीर्घकालीन हुनेछ । यसले कांग्रेसभित्र गगन थापाले गर्न खोजेको परिवर्तनको सन्देश कुण्ठित हुन्छ । यस क्षेत्रमा कांग्रेस पराजित भयो भने कांग्रेस अब शहरी, शिक्षित र आलोचनात्मक मतदातासँग संवाद गर्न सक्षम छैन भन्ने सन्देश पनि जानेछ ।
त्यसैले फागुन २१ को चुनाव काठमाडौं–४ कांग्रेसका लागि चेतावनी पनि हो र अवसर पनि । चेतावनी गगन भएरमात्र यस क्षेत्रमा कांग्रेस विजय भएको हो, गगनविनाको यो क्षेत्र कांग्रेसको हैन भन्ने सन्देश जान सक्छ। अवसर यस अर्थमा कि गगनको अनुपस्थितिले कांग्रेसलाई आत्ममूल्याङ्कन गर्ने मौका दिएको छ । के क्षेत्र नं ४ कांग्रेस गगन थापा नहुँदा बलियो र आत्मनिर्भर बन्न सक्दैन ? के गगन थापाको व्यक्तिको करिश्मामात्र हो त क्षेत्र नं ४ मा कांग्रेसको लगातार विजय ? यी तथा यस्ता प्रश्नहरूको जवाफ अब क्षेत्र नं ४ कांग्रेसले व्यवहारले दिनुपर्ने समय आएको छ ।
अन्त्यमा, काठमाडौं–४ को चुनाव केवल मतको खेल होइन । यो कांग्रेसको भविष्य परीक्षण गर्ने प्रयोगशाला हो । यहाँ गगनविनाको कांग्रेस कस्तो देखिन्छ ? सचिन तिमिल्सिनाले क्षेत्र नं ४ लाई कसरी आत्मसात गर्छन् ? गगन विनाको यस क्षेत्रको कांग्रेस आलोचना सुन्न, स्वीकार गर्न र सुधार गर्न तयार छ कि छैन ? यी सबै प्रश्नहरूको उत्तर यही क्षेत्रमा रहेका एक एक कांग्रेस नेता तथा कार्यकर्ताले दिनुपर्नेछ । आज कांग्रेस इज्जतको लडाइँ लड्दैछ । तर इज्जत जोगाउनु केवल उम्मेदवारको काम मात्र होइन, स्पष्ट एजेन्डा र विचारसहित साहसी नेतृत्व र आत्मसमीक्षाको क्षमता चाहिन्छ । गगन बिना पनि क्षेत्र नं ४ कांग्रेस सहजै उभिन सक्छ भन्ने आत्मबल यहाँको कांग्रेस स्वयंले गर्नुपर्नेछ ।
