सहिद सप्ताहको तेश्रो दिन :सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दको पूर्ण कदको शालिक अनावरण
कपन अनलाइन
काठमाडौँ , माघ १५ । सहिद सप्ताहको तेश्रो दिन आज आयोजना गरिएको श्रद्धाञ्जली सभामा सहिदहरु गंगालाल श्रेष्ठ र दशरथ चन्दको पूर्ण कदको शालिक अनावरण गरिएको छ ।
१९९७ साल माघ १५ गते उहाँहरुलाई प्राणदण्ड दिइएको शोभाभगवती बिष्णुमती नदी किनारामा महानगरका प्रमुख एवं सहिद सप्ताह मुल समारोह समितिका संयोजक बिद्यासुन्दर शाक्यले शालिक अनावरण गरेका हुन् ।
उक्त कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, कर्मचारी तथा जनसाधारण सहभागी थिए । वडा १५ को संयोजनमा महानगरले १६ लाख १० हजार रुपैयाँ खर्च गरेर शालिक निर्माण गराएको हो । यस कार्यका लागि जगसहित करीब १८ लाख रुपैयाँ खर्च भएको छ । शालिक महेश तुलाधरले निर्माण गरेका हुन् ।
उनिहरुलाई ज्यानदण्ड दिइएको स्थानमा सहिद स्मारक स्तम्भ र शालिक राखिएका छन् । सहिद स्तम्भ तत्कालीन काठमाडौं नगर पञ्चायतले २०३६ साल माघ १५ गते शिलान्यास गरेर २०३७ साल माघ १७ गते अनावरण गरेको हो भने शालिक चिँकमुगल बस्ने प्रचण्डलाल श्रेष्ठले २०५८ साल माघ १५ गते सप्ताह लगाएर प्राण प्रतिष्ठा गरी स्थापना गराएका थिए । यस अघि वडा ७ सिफलमा सहिद धर्मभक्त माथेमाको र गएको बर्ष वडा १२ स्थित टेकु मचलीमा शुक्रराज शास्त्रीको पूर्ण कदको शालिक प्रतिस्थापन गरिसकिएको छ । यससँगै महानगरले १९९७ सालमा प्रजातन्त्रका लागि सहादत प्राप्त गर्ने ४ जनै सहिदको पूर्ण कदको शालिक प्रतिस्थापन गराइसकेको छ ।
उक्त कार्यक्रममा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले हुकुमी शासन परिवर्तन गरेर प्रजातन्त्र स्थापना गर्न प्राणको बाजी मार्ने सहिदको योगदान कसैसँग तुलना हुन नसक्ने बताए । व्यवस्था परिवर्तनसँग स्वाधीनताको र नागरिक अधिकार प्राप्तिका लागि सहादत प्राप्त गर्ने सहिदलाई हामी चीरकालसम्म सम्झना गरिरहुन हामीले पूर्ण कदको शालिक निर्माण गराएका हौं । उनले भने सहिद गंगालालको नाममा आज हामीले गंगालाल हृदय केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गर्न सम्झौता गरेका छौं । त्यस्तै भोलि धर्मभक्तको जन्मस्थल नजिक ओमबहालमा धर्मभक्त माथेमा पार्क उद्घाटन गर्दैछौं । सहिदको योगदानलाई चीर स्मरणीय बनाउन भौतिक पूर्वाधार, सुन्दर पार्क निर्माण तथा अन्य भौतिक संरचना र सेवासँग सहिदको नाम जोड्दै लगिने मेयर शाक्यको भनाइ थियो ।
स्वतन्त्र मुलुकका स्वाधीन नागरिक भएको हेर्ने, जनतालाई रैतीबाट मालिक बनाउने लक्ष्य बोकेर प्राण आहुती दिएका सहिदको प्रेरणाले नै २०६२-०६३ को आन्दोलन भयो । त्यसैबाट नेपालले संघीय गणतन्त्रात्मक व्यवस्था प्राप्त गर्यो ।
उक्त कार्यक्रममा संघीय संसद सदस्य जीवनराम श्रेष्ठले भने महत्वपूर्ण निर्णय गर्ने बेलामा सहिदलाई सम्झिन सकियो भने मात्र पनि गलत ठाउँमा पुग्नबाट बचिन्छ ।
उक्त कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले राजनीतिक परिवर्तनसँग सहिदको सपना अन्तरसम्बन्धित भएको उल्लेख गरिन । बिकासबाट मुलुकलाई समृद्ध बनाउन र नागरिकलाई खुसी बनाउन सहिदको सपना सम्झना गर्दै निर्भीक भएर जिम्मेवारी पूरा गर्ने उन को दृढता थियो ।
सभामा महानगरको वडा नं. १५ का अध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले सहिदको सपना पूरा गराउन विद्यमान सोच परिवर्तन गर्नु पर्ने खाँचो देखाए । विकृत सोचले समस्या सृजना भएका छन् । अव सामुहिक हितका लागि सोच राख्नुपर्ने यसबाट प्राप्त परिणामले सहिदको सपनामा योगदान पुर्याउने उनले बताए ।
शुकुमी शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रकालागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनारा शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो । त्यसबखत्, एकअर्काले देख्ने गरेर गोली हानेर कायल गराउन खोजिएको थियो । ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रकालागि गोली खान तयार भएका उनीहरुलाई पहिले घुँडाभन्दा तल गोली हानिएको र पछि ज्यान जाने गरी गोली ठोकिएको थियो ।
बैतडीमा जन्मिए का दशरथ चन्दले महात्मा गान्धीले भारतमा शुरु गरेको सत्याग्रहमा पनि सक्रियतापूर्वक भाग लिएका थिए । त्यस्तै रामेछापको भंगेरीमा जन्मिएका गंगालाल श्रेष्ठ त्रिचन्द्र कलेज पढ्दै गर्दा राणा शासन विरोधी आन्दोलनमा लागेका थिए ।
फोटो सौजन्य : काठमाडौँ अनलाइन