अशान्ति : ध्रुवराज थापा ‘पुरूष’ (लघुकथा)

अशान्ति : ध्रुवराज थापा ‘पुरूष’ (लघुकथा)

कपन अनलाइन
काठमाडौं, पुस १३।

“निकै ठूलो चर्काचर्की पो सुनिन्छ त ! हैन के को रडाको मच्चिएछ ? माथ्लो घरमा ?” सन्जयले आफ्नी श्रीमतीलाई सोधे ।
करूणाले पनि आश्चर्य व्यक्त गरिन्, “खै के भाको हो ? बुढाबुढीको खासै मिल्ती छैन तिनीहरूको पनि !
हरिबाबु तपाईँकै साथी हो क्यारे ! जानुस् न एकपटक बुझेर आउनुस् ।” करूणाले श्रीमानलाई भनिन् ।
“दुबै आगो आगो ! एउटा आगो अर्को पानी भए पो हुन्छ ! ल हुन्छ के भको रहेछ म बुझेरआउँछु नि त !” भन्दै सन्जय माथ्लो घरतिर लागे ।
“म मुद्दा हाल्छु ! पुलिस कारबाही गराउँछु ! त्यतिकै छोड्छु भन्या होला !” भन्दै हरिकी श्रीमती चिच्याउँदै थिइन् ।
सन्जयले घर बाहिरको डिलमा उभिएर केही बेर उनीहरूका कुरा सुने, बुझे अनि फरक्क फर्किएर आफ्नो घरतिर लागे ।
“के कुरा बुझेर आउनु भयो त ? के रहेछ अशान्तिको कारण ? थाहा पाउनुभयो ?” करूणाले आफ्ना पति सन्जयलाई सोधिन् ।
सन्जयले उत्तर फर्काए, “हरिले शान्ति ल्याएछ, त्यही भएर अशान्ति भएको रहेछ !”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।