सुत्न दिनुस् : डा. टीकाराम पोखरेल (लघुकथा)

सुत्न दिनुस् : डा. टीकाराम पोखरेल (लघुकथा)

कपन अनलाइन
काठमाडौं, पुस १३।
रातको दुई बजेको थियो । ठूलो झरी परिरहेको थियो । गाउँ माथिको पूरै पहाड खसेर गाउँका केही घरहरू पुरिए । घरसँगै मान्छे पुरिए । मान्छेसँगै जीवजन्तु पनि पुरिए ।
पुरिन बाँकी गाउँलेहरू आँत्तिएर रोइकराई गर्न लागे ।
एउटाले भन्यो– “पुलिस गुहारौँ ।”
अर्कोले थप्¥यो– “नेतालाई खबर गरौँ ।”
तेस्रोले उपाय निकाल्यो– “स्थानीय सरकार घरदैलोको सरकार हो, सुख दुखको साथी । वडा अध्यक्षकोमा जाउँ ।”
केही गाउँले उद्दारमा जुटे, केही वडा अध्यक्षको घरतिर लागे ।
वडा अध्यक्षको घरमा पुगेर गाउँलेहरूले वडा अध्यक्षलाई बोलाए– “वडा अध्यक्षज्यू ! पल्लो गाउँमा पहिरो गयो । गाउँ पुरियो, मान्छे पुरिए, उद्दारमा जुट्नु प¥र्यो । छिटो उठ्नुस् ।”
वडा अध्यक्ष मस्त निन्द्रामा थिए ।गाउँलेको आवाजले अर्धनिद्रामा आए ।
अर्ध निन्द्राबाटै वडा अध्यक्षले भने– “हिजो बेलुका पार्टीमा अबेलासम्म जनताको एजेण्डामा छलफल थियो । के गर्ने जनताको एजेण्डामा कोही खुलेर बोल्दैनन् । म मात्र परेछुँ बोल्ने । धेरै बोलेँछु, बोल्दाबोल्दा थाकेँछु । सुत्न पनि निकै ढीला भो हिजो राति।तपाईँहरू जाँदै गर्नुस्, म आइहाल्छु । अहिले मलाई सुत्न दिनुस् ।”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।