सन्तानेश्वर महादेवदेखि बज्रवाराहीसम्म : महेन्द्र चालिसे (नियात्रा)

सन्तानेश्वर महादेवदेखि बज्रवाराहीसम्म : महेन्द्र चालिसे (नियात्रा)

कपन अनलाइन
काठमाडौं, पुस १३।
“दाइ, तपाईं बाँडे गाउँ, झरुवारासी जानु भएको छ ?” एकदिन चिया जमघटमा बद्रीजी सोध्नुहुन्छ । गएको हुँला, ती ठाउँ गोदावरी जानेबाटो पर्छ हैन ? म प्रतिप्रश्न गर्छु । मलाई लाग्यो त्यतातिर कुनै मन्दिर अथवा घुम्ने ठाउँ पक्कै हुनुपर्छ, नत्र बद्रीजीले किन सोध्थे ?
अनि किन घुम्न जान मन लाग्यो, के छ त्यहाँ ? म कौतुहलता व्यक्त गर्छु । “ए, गुरुलाई सन्तानेश्वर महादेव जान मन लाग्यो होला नी, त्यहाँबाट कस्तो राम्रो हिमालहरु टलक्क टल्केको देखिन्छ” बद्री भन्दा पहिला पुरुले जवाफ दिन्छ ।
–हुन्छ नी त मिलाउनोस म त जहाँ जान पनि राजी छँदैछु नी। म बद्रीजीलाई उक्साउँछु । त्यसपछि बद्रीले मेसेन्जरमा एउटा गु्रप वनाउनु भएछ १० जनाको अनि त्यो ग्रुपमा मेसेज गर्नुभयो “ल सन्तानेश्वर महादेव जान इच्छुक कोको हुनुहन्छ ? तर हाम्रो त्यहाँ जाने साइत जुर्दै जुरेन । बद्रीजीले सन्तानेश्वर महादेव जाने योजना गर्नुभएपछि बरु हामी दुई ठाउँ चम्पादेवी र ऋषेश्वर, दामन पुग्यौं तर सन्तानेश्वर गइएन । जाने भनेको ठाउँमा जान नपाए मलाई खुलदुली खुलदुली भैरहन्छ त्यस्मा पनि त्यहाँबाट गजब राम्रो प्राकृतिक अनि हिमालहरुको दृष्य देखिन्छ भनेपछि त झन् जानैपर्ने जस्तो लाग्यो र एकपल्ट सवैलाई सम्झाउनु प¥यो भनेर बद्रीजीको त्यो पेजमा मैले एउटा मिति तोकेर “ल यो दिन हामी सन्तानेश्वर महादेव मन्दिर जाने” भनेंर मेसेज गरें ।
खै बुढापाकाले एउटा उखान भन्थे “चिनी पनि धेरै खायो भने तितो हुन्छ” भनेर ।सायद हाम्रा साथीहरुलाई पनि घुम्न डुल्न धेरै भएछ क्यार २–४ जना वाहेक अरुले खासै चासो दिन छाड्नुभयो । “हामी नभई, र हामीलाई छोडेर यी कहाँ जान्छन् र ?” भन्ने पनि सोच्न थाल्नुभयो कि जस्तो भान पनि भयो । त्यसैले अव कोही गए जान्छन् नगए हामी बुढाबुढी मात्रै भएपनि जाने सोच राखेर पुष २ गतेको योजना वनाएँ । त्यो दिन जानेमा बद्री, पुरु, सुधा र हामी २ जना तयार भयौं–ल ठिक छ ५ जना जाने एउटा गाडी लिएर भन्ने योजना बनाइयो ।
“दाजु २ गतेको साटो १ गते जान पाए तारा र म पनि जान्थ्यौ, २ गतेलाई अफिस छाड्न मिलेन भनेर नारायण जोशीले मेसेज गर्नुभयो । र त्यसरी अनुरोध गरेपछि नमिल्ने भन्ने त कुरै थिएन नी, २ गते जानुपर्छ भन्ने के थियो र । हामीले मिति सा¥यौं तर अव सातजना भएपछि अर्को गाडी त चाहियो, अनि खालि के जानु भनेर अरु सधैं संगै जाने साथीहरुलाई मान पुगेन कि भनेर व्यक्तिगत सूचना गरें तर उहाँहरुले खासै वास्ता गर्नुभएन । “खालि गाडी त के लानु दाई, तपाईं खालि वास्ता नगर्नेहरुलाई दोहो¥याई तेहराई सोध्नुहुन्छ, जान खोज्नेलाई वास्ता गर्नु हुन्न” बद्री जी मलाई भन्नु हुन्छ । म सोध्छु कस्लाई भन्ने त ? “विमल दाइ इन्दु भाउजुलाई लग्नोस्न । डुल्न कस्तो रमाइलो मान्नु हुँदोरहेछ ।
बद्रीजीले ठिक भन्नुभयो ठानेर मैले विमल पौडेलदाइलाई ल हामी पर्सि १ गते सन्तानेश्वर महादेव जाँदैछौं दाइ भाउजु पनि जाने हैन त ? “ल..ल किन नजानु, अनि तिमीहरु हिंड्दा खानेकुरा बोकर जान्छौ, ल हाम्रो तर्फबाट तरकारी पकाएर लग्छौं, जाने कति जना छौं ?” दाइ खुसी मानेर भन्नुहुन्छ । हामी ९ जना छौं म दाइलाई भन्छु र बद्री र पुरुलाई खवर गर्छु”
“दाइ मेरो त वरबाद भयो, फुपु दिदी की को हो वित्नु भएछ, त्यो दिन विचार लिएर जानुपर्ने भयो । त्यसैले म जान मिलेन है” शनिवार विहान वद्रिजी खवर गर्नुहुन्छ । मिलेसम्म हिंड्नोस्न, मिल्दै नमिल्ने भए त के गर्नु म बद्रिजीलाई भन्छु ।” ल आठजना जाने दाइ, अरु नथपौं” पुरुले सल्लाह दियो र सोही अनुसार ८ जना विहान साँढे सातवजे आरुबारीबाट हिंंड्ने सल्लाह भयो ।
२०८१ पुष १ गते विहान उठेर सवै तयारी गरेर हिंड्ने वेला हुँदै थियो पुरु चालिसेको फोन आयो– “दाइ, सुधा जान मिलेन, त्यसैले १ जनाकोलागि एउटा गाडी लिएर के जानु, त्यसैले अव म पनि जान्न, दाइहरु यसो कोचिएर भएपनि एउटै गाडीमा जानोस्न हुन्न ?” सायद मैले के कोचिएर जानु, हिंड् भनेको भए पुरु जान्थ्यो होला । तर मलाई पनि उस्को भनाई ठिकै लाग्यो, एक जनाको लागि के छुट्टै गाडी लग्नु, हुन्छ भनिदिए । हामी ४ जना म, इन्दिरा, नारायण र तारा अरुबारीबाट हिंड्यौं र चावहिलबाट विमल दाइ र इन्दु भाउजुलाई लिएर सन्तानेश्वर महादेवको लागि प्रस्थान ग¥यौं । चावहिलबाट एयरपोर्ट, कोटेश्वर, ग्वार्को, सातदोवाटो हुँदै बाँडे गाउँ र झरुवारासी हुँदै सन्तानेश्वर महादेव मन्दिरको फेदीमा पुग्यौं । त्यहा गाडीहरु पार्किङ्ग गर्ने ठाउँ रहेछ, गाडी त्यहाँ पार्किंग गरेर मन्दिर जाने सिंढी उक्लन थाल्यौं । पहिला पहिला जानेहरुले आधा घण्टा उकालो उक्लिनु पर्छ भन्थे तर अहिले गाडी अलि माथि सम्म जाने भएर हो कि हामी जम्मा ९–१० मिनेटमा सिंढी चढेर मन्दिर पुग्यौं ।
सनातन हिन्दू, धर्मशास्त्र अन्र्तगत विभिन्न पुराणहरु पाइन्छ । ती मध्ये स्कन्द पुराणको केदार खण्डमा भगवान शिवको महिमा गाइएको छ । त्यही शिव महिमा अन्तर्गत सन्तानेश्वर महादेवको पनि वर्णन गरेको पाइन्छ । त्यसैगरी श्री स्वस्थानी व्रतकथाको दशौं अध्यायमा पनि महादेव पत्नी सतिदेवीको अंग पतन्को वर्णन गर्ने क्रममा “नेपालको ओमकारेश्वरमा पुग्दा सतिदेवीको माथिल्लो ओठ पतन भई ओमकार पीठ, मातृका देवी, पुर्णहरी योगीनी श्री सन्तानेश्वर महादेव उत्पन्न भई शिव शक्ति स्वरुपले रहंदा भया” भनेर भनिएको छ । त्यसैगरी स्वस्थानी व्रतकथामै “त्यस पवित्र भूमिमा कल्पवृक्ष आएर नाना भाति फलफुलहरु चढाई पूजा गर्दा इश्वरी प्रसन्न भइ वरदान माग भन्दा कल्पवृक्षले आफुले चिताएको फलाउन सकुं भनेर वरदान मागेको” कथा पनि छ । हुन त महादेव र कैलाश पर्वतका वारेमा सयौं किम्वदन्ती र जनश्रुतीहरु भेटिन्छन् । जस अनुसार द्वापर युगमा भगवान श्रीकृष्णले सन्तान प्राप्तिको चाहना राखी यही स्थानमा आइ महादेवको आराधना गरेर आफ्ना प्रत्येक पत्नीहरुबाट दश–दश वटा छोरा र एक एक वटी छोरी जन्मिएका भन्नै पौराणिक किम्बदन्ती छ ।
त्यसैगरी यस स्थानमा रहेको सन्तानेश्वर महादेवको मन्दिरमा गएर पुजा अर्चना गर्ने रुद्री गरेर त्यस्को अभिषेक लिएमा सन्तान नहुने दम्पतिहरुले सन्तान प्राप्त गर्छन् भन्ने जनश्रुती पनि रहेको सुनिन्छ । अर्को किम्बदन्ती अनुसार प्राचिनकालमा त्यस क्षेत्रमा कुनै उत्सव पर्दा आवश्यक भाँडाकुँडाहरु महादेव मन्दिर नजिक गएर माग्दा प्राप्त हुन्थ्यो रे । यस्को प्रमाणको रुपमा मन्दिर भन्दा अलि तल रहेको महांकाल मन्दिरको प्रस्तरको मूर्तिमा रहेको प्वालहरुमा कान थापेर सुन्ने हो भने भाँडाकुँडा वजेको आवाज सुनिन्छ भन्ने किम्बदन्ती छ तर मैले चाहिं त्यस्तो कान थाप्ने खालको छिद्र कतै देखिन । प्यागोडा शैलिमा निर्मित सन्तानेश्वर महादेव मन्दिर रहेको उचाईको स्थानलाई कैलाश पर्वत भनिदो रहेछ । समुन्द्री सतहदेखि १५०० मिटर (एपल वाचले देखाए अनुसार) उचाईमा रहेको यस कैलाश पर्वत परिसरमा महादेव मन्दिर भित्र अर्को सानो मन्दिर रहेको छ जस्को गर्भ गृहमा सन्तानेश्वर महादेवको शिलाको स्वरुप रहेको छ । त्यो शिलाको स्वरुपमा पनि ३ वटा साना ठुला भागमा बाडिएको देखिन्छ । त्यहाँका गौतम थरका पुजारीका अनुसार त्यो तीन भागमा बाडिएको शिलामा पहिलो सन्तानेश्वर महादेव, दोश्रो शिला पार्वती र तेश्रो शिला चाहिं गणेश मानेर पुजा गर्ने गरिन्छ । यस कैलाश पर्वत परिसरमा अष्टमातृका गणेश सहित श्री स्वस्थानी माताको मूर्ति, कालभैरब, वासुकी नाग, हनुमान चौसठ्ठी शिवलिंग, वसाहा, गणेश, सरस्वती, दुर्गा, कृष्ण, विष्णु जस्ता विभिन्न देवी देउताका मूर्तिहरु स्थापित रहेछन् । लगनखेलबाट करिब ७–८ किलोमिटरको दुरीमा रहेको यो सन्तानेश्वर महादेव अवस्थित ठाउँ झरुवारासीको नाम रहेको वारेमा पनि एउटा किम्वदन्ती प्रचलनमा रहेछ । जस अनुसार स्वर्गबाट १२ रासीहरु एकैपटक स्वर्गबाट झरेर यस ठाउँमा आएर भगवानको शिवको ध्यान गरेकोले “झरुवारासी” नाम रहन गएको हो ।
हामी विहान नौवजे त्यहाँ पुग्दा सोमवार परेकोले होला त्यहाँ १५–२० जनाको समुह जो टाढाबाट आएको हुनुपर्छ, दर्शन गर्दै थिए । हाम्रा साथीहरु पनि आफ्नो श्रद्धा भक्ति अनुसार पूजा अर्चनामा व्यस्त हुन थाले । कोही फोटो खिच्न थाले । मौसम सफा भएको वेलामा त त्यहाँबाट काठमाडौं उपत्यका छर्लङ्गै देख्न सकिने रहेछ भने उत्तर तिरको हिमाल श्रृंखलापनि मनोरम देखिने रहेछ । अहिले त डाँडाको फेदीबाट मन्दिर पुग्न तीनतिरबाट करिब करिब पौने चार शयवटा सिंढी र त्यसमा समातेर जानका लागि रेलिंग वनाइ दिएकोले पहिला पहिला जाँदा जस्तो कस्ट महसुस गर्न पर्दोरहेनछ ।
हामीले साढे नौ पौने दश सम्ममा त्यहाँ दर्शन गर्ने वरिपरिका दृष्यहरु हेर्ने मनग्गे फोटोहरु खिच्ने काम सबै सकिसक्यौं । “ए बाबु, दिन विताउने र घुम्ने भनेको, ल दसै वजे सवै काम सकियो त । अव के गर्ने, यति चाँडै खाना पनि के खानु, घर पनि के जानु” इन्दु भाउजु भन्नुहुन्छ ।
“यहाँबाट वज्रवाराही नजिकै पर्छ त्यहाँ दर्शन गर्नु भए हुन्छनि त”– इन्दु भाउजुको कुरा सुनेर हामी चिया खाइरहेको पसलको साहु–केटा सल्लाह दिन्छ ।
“हुन्छ नि त यहाँबाट वज्रवाराही जाउँ, त्यही जंगलमा वसेर खाना खाउँ, अनि फर्किउँला” नारायण जी थप्नुहुन्छ । तर तारा जोशीका अनुहारले चाहिं चाँडै नै जान पाए हुन्थ्यो भन्ने भाव दर्शाइ रहेको थियो । ताराको आमा विरामी हुनुहुन्छ र त्यसदिन उहाँको अस्पताल जचाउने दिन परेको थियो । र आमाले मिलेसम्म छोरी आइदिए हुन्थ्यो जस्तो गर्नुभएको छ रे । तर ताराले पनि वज्रवाराही जाने कुरा नकार्न सक्नु भएन किनकि अरु पाँचै जना यस अघिपनि वज्रवाराही गैसकेको भएपनि इन्दुभाउजु अहिलेसम्म जानु भएको छैन रहेछ । त्यसैले हामी त्यहाँबाट वज्रवाराहीतर्फ प्रस्थान ग¥यौं । त्यहाबाट करिब ३ किलोमिटर जति जानुपर्ने रहेछ । त्यहा पुगेर गाडी पार्किग गर्यौ ।
गाडीबाट करिब २ सय मिटर जस्तो परसम्म खानेकुराहरु वोकेर लग्नु पर्ने रहेछ । सवै मिलेर बोक्यौं र अलि घाम लागेको ठाउँमा सामान राख्यौं । एकातिर बाँदर र कुकुरहरुबाट खाना जोगाउनु छ भने अर्कोतिर दर्शन पनि त गर्नु छ, त्यसैले पालैपालो दर्शन गर्न जाने भनेको तर नारायणजीले “तपाईंहरु जानोस म सामान कुरेर बस्छु किनकि म मन्दिर पस्दिन, र दर्शन गर्दिन” भन्नुभयो । ए हो त नी, उहाँको काका वित्नुभएको ३५–३६ दिन मात्र भयो क्यार, उहाँलाई ४५ दिन आशौच वार्नुपर्छ क्यार । ल ठिक छ त भन्दै हामी उहाँलाई खानेकुराको रख्वाली गर्न लगाएर मन्दिरतिर गयौं, मन्दिर खालि जस्तै थियो । सबैले आनन्दले दर्शन गरें ।
त्यहाँबाट नारायणजी भए ठाउँमा गएर खाना खाने तरखरमा लाग्यौं । भोक पनि लाग्ने समय भैसकेको थियो । लगेको खानेकुरा खाइवरी त्यहाँबाट प्रस्थान ग¥यौं । विहान ग्वार्को भएर गएका थियौं तर फर्कंदा तारा जोशीलाई जावलाखेल अस्पताल जानुपर्ने भएकोले जावलाखेल हुँदै घर फर्कने सुरसारले हाम्रो गाडी एकान्तकुना तर्फ लाग्यो– एउटा अविस्मरणीय सम्झना बोकेर ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।