कवि वसन्त रिजाल र उनको  ‘ब्युँझिएपछि’ कविता सङ्ग्रहमा व्यक्त वैचारिकता :प्रा.डा. हेमनाथ पौडेल 

कवि वसन्त रिजाल र उनको  ‘ब्युँझिएपछि’ कविता सङ्ग्रहमा व्यक्त वैचारिकता :प्रा.डा. हेमनाथ पौडेल 
कपन अनलाइन
काठमाडौं, पुस १३।
१. कविपरिचय
‘ब्युँझिएपछि’ कवि वसन्त रिजालद्वारा लिखित कविता–सङ्ग्रह हो । वसन्त रिजाल कवि, लेखक एवं समाजसेवी व्यक्तित्व हुन् । काठमाडौँको उत्तरपूर्वी क्षेत्रमा एउटा सामाजिक–साहित्यिक विम्ब नै बनेका छन् उनी । सादा जीवन र सक्रिय दिनचर्या भएको एउटा इमान्दार र समर्पित व्यक्तित्वको नाम हो– वसन्त रिजाल । काठमाडौँको जोरपाटी हालको गोकर्णेश्वर नगरपालिका वडा नं ५ उनको पुख्र्यौली थलो हो र हाल पनि उनी यहीँ नै बसोबास गरिरहेका छन् । वसन्त २०१९ साल असार २ गते बुबा रामहरि रिजाल र आमा दुर्गादेवी रिजालका सुपुत्रका रूपमा जन्मेका हुन् । स्नातकसम्मको अध्ययन गरी साहित्यिक एवं सामाजिक क्षेत्रमा अनवरत क्रियाशील रहेका रिजाल धेरै साहित्यिक संस्थामा क्रियाशील रहेका छन् । हाल उनी भैरव पुरस्कार गुठीका सचिव, रमेश विकल साहित्य प्रतिष्ठानका पनि सचिव, साहित्य सदन नेपालका कोषाध्यक्ष, अरुणिमा शैक्षिक प्रतिष्ठान, कार्यसमितिका सदस्य, स्तूपा सामुदायिक अस्पतालका संस्थापक सदस्य, अभिनव साहित्य समाजका पूर्व कोषाध्यक्ष, सुरभि साहित्य प्रतिष्ठानका सल्लाहकार र हाल सदस्य रहेका छन् । साहित्यमा लागेर सक्रिय योगदान गरेबापत उनले विभिन्न पुरस्कार र सम्मान पनि प्राप्त गर्दै आएका छन् ।
सम्पन्न आर्थिक परिवारमा जन्मे, हुर्केका भएर पनि उनको जीवनशैली सरल रहेको छ । ढोङ, पाखण्ड र  देखावटी व्यवहार नगर्ने सत्य, निष्ठा र न्यायका पक्षमा उभिने रिजाल प्रगतिशील संस्कृतिका पक्षधर व्यक्ति हुन् । राजनीतिक रूपमा सचेत रहेकाले वैचारिक पक्षधरता पनि उनमा छ । सहीलाई सही र गलतलाई गलत भन्न सक्ने स्वभाव भएका प्रतिबद्ध व्यक्तित्व हुन् वसन्त । उनको यो स्वभाव र प्रवृत्तिको प्रभाव उनका लेखनमा पनि पाइन्छ । त्यसैले उनका कविता पनि उनी जस्तै सरल, सकारात्मक र वैचारिक रहेका छन् ।
२. ‘ब्युँझिएपछि’ कविता–सङ्ग्रहको समीक्षा
वसन्त रिजालद्वारा लिखित ‘व्युँझिएपछि’ (२०७७) कविता–सङ्ग्रह उनको पहिलो कविता–सङ्ग्रह हो । कवि वसन्तले कविता लेख्न थालेको चार दशकअगाडिदेखि नै हो तर आफ्नो भन्दा समाजकै काममा लागिरहने र आफू प्रचारित हुन नचाहने उनको स्वभावले गर्दा धेरैपछि आएर मात्र यो कविता–सङ्ग्रह प्रकाशनमा आउन सकेको हो । यस सम्बन्धमा उनी स्वयंले यस कविता–सङ्ग्रहको ‘आफ्ना कुरा’ मा भनेका छन्– ‘‘कविता लेख्न सुरु गरेको झन्डै चार दशक भएछ । केही कुराले छोएपछि यसो कोरकार गर्दै आएको हुँ । लेखिसकेपछि त्यसलाई व्यवस्थित नगर्नाकै परिणामस्वरूप कति कविता कता हराए कता । उपलब्ध कविताको पुनर्लेखन वा परिमार्जनको आवश्यकता समेत महसुस गरिनँ ।’’ यसबाट उनको कवितालेखनको यात्रा लामै रहेको बुझिन्छ र यी कविता पनि विभिन्न काल खण्डकै रचना हुन् भन्ने प्रस्ट हुन्छ ।
कवि रिजाल प्रगतिशील वैचारिक कवि हुन् । उनी गोपालप्रसाद रिमालबाट प्रभावित देखिन्छन् । त्यो प्रभाव यस सङ्ग्रहका कवितामा पनि पाइन्छ ।  यस कारण पनि सङ्ग्रहमा रहेका उनका कविता विचारशील छन् । उनले आफ्ना कवितामा मुलुकमा भएका सकारात्मक परिवर्तनलाई स्वीकार गर्दै अझै पनि जनताले अपेक्षा गरेअनुकूलको परिवर्तन आउन नसकेकोमा असन्तुष्टि प्रकट गरेका छन् । उनका कवितामा समाजमा रहेका विकृति–विसङ्गति एवं अव्यवस्था, अधोगति र अकर्मण्यताको तीव्र आलोचना छ अनि अन्तर्यमा समाजलाई सुन्दर, सभ्य एवं मुलुकलाई सुशासनयुक्त बनाउने कुराका पक्षमा आफ्नो विचार प्रकट गरिएको छ । उनले आन्दोलनबाट आएको परिवर्तन आफैमा बेठिक नभएको तर यसलाई राजनीतिक पार्टी र नेताले दुरुपयोग गरेर विकृत बनाएको विचार प्रकट गर्दै वर्तमानमा मौलाएको विकृत राजनीति, नेतृत्वको अवसरवादिता र सत्तास्वार्थको कडा आलोचना गरेका छन् ।
प्रस्तुत कविता सङ्ग्रहमा विविध विषय र भावका लामाछोटा गरी ६४ ओटा कविता सङ्कलित छन् । प्रविष्टिका हिसाबले सङ्ग्रहको पहिलो कविता ‘आगमन’ र अन्तिम कविता ‘ब्युँझिएपछि’ हो । पहिलो कविता ‘आगमन’ ले नेपाली समाजमा परिवर्तनको आवश्यकता बोध गर्दै त्यसलाई आह्वान गरेको छ भने अन्तिम कविता ‘ब्युँझिएपछि’ ले परिवर्तनहरू त भए तर अझै पनि पूर्ण परिवर्तन हुन सकेन भन्ने भावलाई सङ्केतात्मक अभिव्यक्ति गरेको छ । त्यसैले यी दुई कविता रचना कालका हिसाबले पनि सुरु र अन्तिमतिरकै हुन् भन्ने बुझिन्छ ।
यस सङ्ग्रहमा समाविष्ट पहिलो कविता ‘आगमन’ ले परिवर्तनको आवश्यकता बोध यसरी गरेको छ ।
‘वीरत्वको महत्त्व नबुझेर
निर्दोष मानवताको
हत्या गर्न गइरहेछन् दुष्टहरू,
…तिम्रा केही सहकर्मीहरू
कालकोठरीमा बन्दी बनाइएका छन्,
…तिमी आएपछि
केही न केही अवश्य नै हुन्छ
त्यसैले तिम्रो आगमनलाई
सबैले पर्खिरहेका छन् । (पृ.१९)
यसरी यस कविताले ‘तिमी’ भनेर क्रान्तिपुरुषलाई सम्बोधन गरी उसलाई आह्वान गरेको छ । सरल शब्दचयन र सोझो प्रस्तुति भए पनि यसले बोकेको भाव र अर्थ गहिरो छ । कवि रिजालले कविताका पुछारमा रचना मिति उल्लेख नगरेको भए पनि भावका हिसाबले यो क्रान्तिपूर्वको रचना हो भन्ने बुझिन्छ ।
कुनै पनि वैचारिक कवितामा समयसञ्चेतना हुन्छ र त्यो सञ्चेतना अन्तर्वस्तुसँग घोलिएको हुन्छ । रचनामा प्रस्तुत भाव वा विषयबाट नै त्यो रचना कुन कालको हो भन्ने खुल्ने हुनाले रिजालका रचनामा पनि त्यो समय सञ्चेतना पत्ता लगाउन गाह्रो छैन ।
सङ्ग्रहको अन्तिम कविता ‘ब्युँझिएपछि’ चाहिँ एतत्कालीन रचना हो । यसले वर्तमानप्रतिको असन्तुष्टि र अकर्मण्यतालाई यसरी अभिव्यञ्जित गरेको छ ।
आमा र साहुबासँगै
धर्तीमाताको पनि ऋण छ
तिर्न बाँकी ऋण कसरी तिर्ने होला ?
म कहिले मुक्त हुने होला ?
…मैले साहुबाको ऋण नतिर्ने निधो गरेँ
तैपनि तिम्रो ऋण तिर्न सकिनँ । (पृ.१६०)
यसरी कविता–सङ्ग्रहको शीर्षकसमेत रहेको यस कवितामा ‘म’ ले नेपाली जनतालाई प्रतिनिधित्व गरेको छ अनि यहाँ साहुको ऋण नतिर्ने घोषणाले विद्रोहलाई सङ्केत गरेको छ भने आमाको ऋण तिर्न नसक्ने कुराले चाहिँ अकर्मण्यतालाई बुझाएको छ । साहुबा शोषकका प्रतिनिधि हुन् भने धर्तीमाता नेपाल आमा हुन् । यसबाट अझै पनि नेपाल आमाको ऋण तिर्न नसकेको प्रसङ्गबाट नेपालमा जति परिवर्तन भए पनि तिनले समृद्धि दिन नसकेको यथार्थलाई व्यक्त गरिएको छ ।
रिजालका यी दुई कविताका बिचमा समाविष्ट अरू ६२ ओटा कविता पनि विविध विषय र संरचना भएका वैचारिक कविता नै हुन् र यिनले आफ्नो चालिस बर्से लेखनयात्राका क्रममा अनुभूत गरेका विभिन्न उतारचढाव र तात्कालिक चेतनालाई व्यक्त गरेका छन् । उनका अधिकांश कवितामा राजनीतिक विकृति र विसङ्गतिको आलोचना तथा नेतृत्वप्रतिको खबरदारी रहेको छ । यस क्रममा उनले नेतृत्वमा आएको नैतिक ह्रासप्रति पनि चिन्ता व्यक्त गरेका छन् । तल केही उदाहरण हेरौँ ः
तर ऊ पहिला बिस्ट्याउँछ अनि दैलो देख्छ
हिजो गालीको गोली हान्नेसँग
गठबन्धनको लगनगाँठो जोडिएको छ उसको
हेर्नुपर्छ उसलाई
म अहिल्यै कसरी ठिक भनौँ । (‘नायक’ पृ.२५)
यस कविताले नेपाली राजनीतिमा हुने गरेको अनैतिक सत्तागठबन्धन र अवसरवादितालाई उजागर गरेको छ । त्यस्तै यस सन्दर्भमा अर्को एउटा उदाहरण पनि लिऊँ ः
हामी सही बाटोमा छौँ
ठिक छाँै, ठिक बाटोमा हिडिरहेका छौँ
लड्खडिएका त खुट्टाहरू मात्र हुन् ।
…पूर्व र पश्चिमै भए पनि
  हामी मिलेका छौँ हैन त ? (‘सही बाटो’, पृ.६३)
वैचारिक विचलनको कुरूप र भद्दा पक्षलाई यस कविताले विपरीत शैलीबाट व्यङ्ग्य गरेको छ । गलत बाटोमा हिडेर पनि नेतृत्व कसरी आफ्नो अनैतिक चरित्रलाई सही साबित गर्न खोज्छ भन्ने कुरालाई यस कविताले उजागर गरेको छ । यस्ता अरू पनि कविता छन् यस सङ्ग्रहमा ।
कवि रिजाल वामपन्थी विचारधारा अवलम्बन गर्ने स्रष्टा हुन् र प्रत्यक्ष रूपमा नभए पनि उनी राजनीतिमा संलग्न पनि छन् । त्यसैले उनले आस्था राखेको पार्टी र भरोसा गरेका नेताको व्यवहार र आचरण एवं कार्यशैली र त्यहाँभित्रको अनावश्यक गुटबन्दी देखेर उनी खिन्न भएका छन् । उनी लेख्छन् ः
म जे थिएँ, त्यही छु
फरक तिमी छौ र तिम्रा विश्वास पात्रहरू छन्,
..गुट रोप्न खप्पिस छन् तिम्रा विश्वास पात्र
त्यसैले चिन्ता छ
दृढ विश्वास र आत्मविश्वासका साथ
मैले रोपेको बिरुवा किन ओइलाइरहेछ । (‘जनवाद’, पृ.५९)
कालो वस्तु देखाएर
सेतो भन्न कर लगाउने
कस्तो होला तिम्रो मति ?
कस्तो होला तिम्रो मुखुन्डो ?(‘भो पुग्यो मलाई’, पृ.१३०)
यस किसिमका गुटबन्दी र गलत व्यवहारका बारेमा आलोचना गरिएका अरू कविता पनि छन् यस        सङ्ग्रहमा । ‘नायक’, ‘कैदी ५४’, ‘मूर्दावाद’  ‘स्थगन’ लगायतका कवितामा पनि उनले पार्टीभित्रको गुटबन्दी र गलत राजनीतिक पक्षको कडा विरोध गरेका छन् ।
कवि वसन्त रिजालले वैचारिक विचलन र राजनीतिक विकृतिका साथै अवसरवादको पनि खरो रूपमा विरोध गरेका छन् । उनका विचारमा अवसरवाद ज्यादै खतर्नाक कुरा हो र यसले मुलुकका साथै पार्टी र स्वयं नेतालाई समेत अधोगतिमा लैजान्छ । उनी लेख्छन् ः
बुद्धलाई सोध, सोध सगरमाथालाई
कमिलालाई सोध, मौरीलाई सोध
तर रङ बदल्ने छेपाराहरूलाई नसोध
मौकाअनुसार पल्टिने पिपलपातेहरूलाई नसोध । (‘सपना’, पृ.२२)
तिम्रा जिब्रा, उसका जिब्रा
उसका जिब्रा, तिम्रा जिब्रा
बेलाबेलामा चिप्लन्छन् ।
ठेगान नभएको बुद्धिबाट सञ्चालित जिब्रो
कुन बेला, कहाँ चिप्लिन्छ थाहै हुँदैन
त्यसैले भनिन्छ ः उस्तै उस्तै हुन् नानू
हात्ती र हात्तीछाप चप्पल अनि जिब्राहरू । (‘चिप्लिएका जिब्राहरू’, पृ.४२)
माथिका यी कविताले वर्तमानको राजनीतिक अवसरवाद र नेतृत्वको छद्मभेषी चरित्रलाई राम्ररी उजागर गरेका छन् र तिनको कठोर रूपमा आलोचना गरेका छन् ।
कवि रिजालले नेपालमा पटक पटक भएका आन्दोलन र परिवर्तनबाट पनि सही गन्तव्य पहिल्याउन नसकेका अवस्थाको बोध राम्ररी गरेका छन् । त्यसैले यस सम्बन्धमा उनी लेख्छन् ः
धेरै पटक शिलान्यास भए पनि
मूल बाटो बनेको छैन
बाटो नबनेकै कारण
गन्तव्य पनि पहिलिएको छैन । (‘बाटो बनाउनेहरू’ पृृ.१४३)
यसबाट राजनीतिक परिवर्तन धेरै पटक भए तर सही रूपमा राजनीति अगाडि नबढेको र लक्ष्य पनि पहिचान हुन नसकेको भन्ने उनको विचार देखिन्छ । यसो भए पनि कवि रिजाल निराश भने छैनन्, आशावादी नै छन् । त्यसैले यस सम्बन्धमा उनको यस्तो भनाइ छ ः
वसन्त आवश्यकता हो
माटोमा, मनहरूमा, मुटुहरूमा, जूनहरूमा ।
कुरूपता विरुद्ध
वसन्तको आगमन
उज्ज्वल भविष्यको सुन्दर बिहानी हो
छाइरहोस् वसन्त, आइरहोस् वसन्त । (‘वसन्त आउने छ’, पृ.९४)
यसरी आशावादी हुँदै उनी एक दिन आफूले चाहेको परिवर्तन आइछाड्ने विश्वासका साथ आफ्नो विचार यसरी प्रस्तुत गर्छन् ः
विश्वास डगमगाएको छैन
धरोहर धरोहरकै रूपमा स्थापित छ,
माटो सुहाउँदा राता बिरुवाहरू
हुर्किंदै छन्, बढ्दै छन्
कहिल्यै नओइलाउने फूलहरू
आगाका फूल भएर फुल्दै छन् ।
डाँडाहरूमा, लेक र बेंसीमा । (‘आस्था मरेको छैन’, पृ. १३६)
अनि फेरि उनी आफू विचारका पक्षमा उभिइरहने दृढताका साथ यसो भन्छन् ः
मेरो मतको विश्वासघातमा
म तिम्रा विरुद्ध विचारको युद्ध लडिरहेछु
कसले के भन्छन्, भनिरहुन्
विश्वास छ– जित सत्यकै हुन्छ  । (‘ती को हुन्’, पृ.२८)
वसन्त रिजालका कवितामा कवि र कविताका सम्बन्धमा पनि विचार व्यक्त भएको छ ।
कविता कहिल्यै हार्दैन, कवि कहिल्यै मर्दैन
आफ्ना कहिल्यै नतुहिने सपनामा
कवि बाँचिरहने छ । (‘हार्दिक श्रद्धाञ्जलि’ पृ.६२)
आन्दोलनको मेरो घाइते साथी
उसको शरीरबाट बगेका रगतका टाटाहरू
एउटा चित्रकार र उनीहरूको कोठा
यो आन्दोलनको ऊर्वर भूमि हो
कविताको अजस्र स्रोत हो, के छैन त्यहाँ ? (‘कोठा ः मेरो विश्व’, पृ.७८)
कवि वसन्त रिजाल साहित्य–कला वर्गीय हुन्छ भन्ने मान्यता राख्छन् । त्यसैले कविता कहिल्यै नहार्ने र कवि पनि कहिल्यै नमर्ने विचारका साथ कविताको स्रोतका रूपमा उनले आन्दोलन र जनतालाई लिएका छन् । साच्चिकै प्रगतिशील कवि भनेको आन्दोलनबाट खारिएको हुन्छ भन्ने विचार उनका कवितामा पाइन्छ ।
वसन्त रिजालका यस सङ्ग्रहमा सङ्कलित ‘ए मान्छे’ मा मानवतावादी विचारलाई प्रस्तुत गरिएको छ भने ‘आइएसओको सर्टिफिकेट’ मा कुरा गर्ने सुरक्षा र गुणस्तरको तर काम र व्यवहार अर्कै गर्ने कुराप्रति व्यङ्ग्य गरिएको छ । यस्तै ‘बाल उद्गार’, ‘मेरो म’ ‘अपूरो काम’ जस्ता कवितामा मानवीय जीवनका विविध पक्षको अभिव्यक्ति छ अनि ‘हार्दिक श्रद्धाञ्जली’ मा कविको मृत्युप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उसको योगदानलाई सम्मान गरिएको छ भने ‘सन्त्रास आँखा’ र ‘रामवदनहरू निर्विकल्प मृत्यु रोजिरहेछन्’ जस्ता कवितामा चाहिँ सहिदप्रति सम्मान व्यक्त गरिएको छ ।
यी बाहेकका यस सङ्ग्रहका अरू कवितामा उलने कविता लेख्दाका अवधिमा देखापरेका राजनीतिक, सांस्कृतिक  विकृति एवं मानवीय आचरण र व्यवहारका पक्षलाई विषय बनाएका छन् । उनका कवितामा विविध विषय र भावको अभिव्यक्ति छ ।कवितामा सूक्तिमयता पनि छ अनि ती उल्लेखनीय पनि छन् । यस सन्दर्भमा तल यस प्रकारका केही पङ्क्तिलाई उदाहरणका रूपमा लिऊँ ः
सपनाबाटै बन्छ बिपना
पूरा भएन भन्दैमा
सपना देख्न छोडूँ । (पृ.२०)
……….
सत्ता र शक्तिको दासतामा रमाउनेहरू
जुठा टपरीहरूमै रमाउँछन् । (पृ.२२)
………
मान्छे एक, रूप अनेक
रङ्ग अनेक, ढङ्ग अनेक
फुत्त आउँछ र गायब हुन्छ । (पृ.५०)
………
भट्टीको मात, पानीको नशा
बाँदरको मुटु, ढुकुरको छाती
बेसमयमै भुकिरहन्छन्
सदाबहार कुकुरहरू पृ.(९०)
यस किसिमका कविता छन् उनका । यी उदाहरणबाट कवि वसन्त रिजाल राम्रा कवि हुन् र उनका कविता वर्तमानमा लेखिएका कतिपय तथाकथित कविताका तुलनामा राम्राभित्र पर्ने कविता हुन् भन्न सहजै सकिन्छ । यद्यपि कवि रिजालले आफ्ना कविताको आत्ममूल्याङ्कन गर्दै ‘आफ्नै कुरा’ मा लेखेका छन् ः ‘‘म स्वीकार गर्छु– मैले कालजयी रचना लेख्न सकको छैन । जसका लागि लेख्नुपर्ने हो, त्यसका लागि लेख्न सकिरहेको पनि छैन । त्यसैले हिजोका कवितालाई आज आएर हेर्दा आफैंप्रति प्रश्न उठ्ने गर्छ– मैले लेखेका कविता साच्चिकै कविता हुन् त ?’’ कवि रिजालको यो भनाइ निश्चय नै नम्रताको अभिव्यक्ति हो । कुनै पनि कविलाई आफूले लेखेका कविता पूर्ण छन्, अरूका भन्दा राम्रा छन् भन्ने लागेमा ऊ अहङ्कारी बन्छ र साधनाबाट विमुख पनि हुन सक्छ । म अझै राम्रा कविता लेख्छु भन्ने भइरहनुपर्छ कविमा अनि मात्र उसको साधना यात्रा अगाडि बढिरहन्छ । कालजयी हुनु र कविता हुनु फरक कुरा हुन् ।सबै कविता कालजयी हुदैनन् पनि । त्यसैले आजका कवि र कविताका भिडमा वसन्त रिजालको यो कविता–सङ्ग्रह र यसको प्राप्तिका बारेमा कुरा गर्दा कलामूल्यका हिसाबले सरदर नै भए पनि विचार प्रक्षेपणका हिसाबले यी कविता उल्लेखनीय रहेका छन् ।
यस क्रममा कविता–सङ्ग्रको भूमिका लेखनका क्रममा शार्दूल भट्टराईले ‘‘उनका कविता विषय, शिल्प र प्रस्तुतिका दृष्टिले सरल, स्पष्ट र सन्देशमूलक छन् । यही नै उनको कविता सिर्जनाको खास विशेषता हो ।’’ भनेका छन् भने डा. ऋषिराज बरालले आवरण पृष्ठमा ‘‘कविता लेखनमा तीन दशकको यात्रा पार गरेका वसन्त रिजाल साहित्यिक फाँटमा प्रगतिशील कविका रूपमा चिनिन्छन् । आफूले देखे, भोगेका सामाजिक जीवनका राजनीतिक, सांस्कृतिक विकृृति–विसङ्गतिप्रति आलोचनात्मक चेतका साथ व्यङ्ग्यात्मक प्रहार गर्नु कवि रिजालको विशेषता हो । मानवीय जीवनबोधका लागि सङ्घर्षरत मान्छेको सुखद र सुन्दर समाजको परिकल्पना रिजालका कविताको संसार हो । यस सङ्ग्रहका कविताले यसै विशेषतालाई प्रतिनिधित्व गर्छन् ।’’ भनेका छन् । उक्त विद्वान्हरूका विचारसँग सहमत नहुने कुरै छैन किनभने वसन्तका कविताको विशेषता भनेको पनि यही नै हो ।
३. निष्कर्ष
निष्कर्षमा भन्दा कवि वसन्त रिजालका सबै कवितामा वर्तमान समाजका कुरूप यथार्थको आलोचना छ अनि कहीँ पनि निराशा, कुण्ठा र पलायन भने छैन । सबै कविता आशावादी छन् र तिनमा उत्साह र सङ्घर्षको भाव नै व्यक्त भएको छ । यी कवितामा वर्तमान समाजका राजनीतिक, सांस्कृतिक विकृति र विसङ्गतिप्रति कडा आलोचना त छदै छ सामाजिक असमानता र विभेदप्रति पनि यी कविता निकै संवेदनशील छन् । अन्तर्यमा यी कविताले अन्यायका विरुद्ध चेतना जागृत गर्ने र न्यायका पक्षमा उभिने सन्देश दिन्छन् र पाठकलाई आत्मनिरीक्षण गर्न प्रेरित गर्दै समाजका कुरूप पक्षका विरोधमा सङ्घर्षरत रहन उत्प्रेरणा प्रदान गर्दछन् । गद्यलयका सरल शैली र संरचनाका ढाँचामा प्रस्तुत भएका तथा लामाछोटा आयाममा विस्तारित एवं आन्तरिक व्यङ्ग्यसमेत रहेका यी कवितामा पाठकको आन्तरिक चेतनालाई जागृत गराउने शक्ति रहेको छ । कवितामा भावको तिख्खरता र सूक्तिमयतामा केही कमी भए पनि यी कविता निकै मर्मस्पर्शी र चेतनामूलक छन् ।
प्रगतिशील कवि भावगुम्फन र शैलीका जटिलतामा भन्दा जनताले बुझ्ने भाषामा आफ्ना कुरा सम्प्रेषण गर्न चाहन्छ । उसको मूल उद्देश्य भनेको समाजका कुरूपताका विरुद्ध आलोचना गर्नु र त्यसलाई रूपान्तरण गरी असल समाजको निर्माण गर्नु हो । वसन्त पनि प्रगतिशील कवि भएकाले उनका कविता पनि सरल, सन्देशमूलक र वैचारिक छन् । त्यसैले यी कविता पठनीय र सङ्ग्रहणीय रहेका छन् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।