नेपाल संस्कृति र इतिहासको एक तीर्थभूमि हो

नेपाल संस्कृति र इतिहासको एक तीर्थभूमि हो

कपन अनलाइन

काठमाडौं ,पौष २६/ गोविन्दशरण उपाध्याय, पिएचडी

नेपालको इतिहास नेमुनीसँग जोडिएको छ भने भरत, ब्यास, कपिल, जैमिनी, ऋषभदेव, पार्वती, सीता, भृकुटी, बाल्मिकी, विश्वामित्र जस्ता अनेकौं यशस्वी नामहरूले नेपालीको इतिहास निर्मित भएको छ ।

हामीले बंशजका नाताले केवल इतिहासमात्रै प्राप्त गरेका छैनौँ अपूर्व सम्पत्तिका रूपमा विश्वको सबैभन्दा प्राचीन लिखित साहित्य ऋग्वेद, विश्वको सबैभन्दा प्राचीन दार्शनिक ग्रन्थ ईशवास्योपनिषद, विश्वको सबैभन्दा प्राचीन महाकाव्य बाल्मिकी रामायण, विश्वको सबैभन्दा पहिलो भाषा ब्याकरण अष्टाध्यायी, विश्वको सबैभन्दा प्राचीन मनोविज्ञानको सूत्र योगसूत्र, विश्वको सबैभन्दा प्राचीन चिकित्सा ग्रन्थ चराकसहिता, विश्वको सबैभन्दा प्राचीन विधिशास्त्र मनुस्मृति, विश्वको सबैभन्दा प्रगतिशील सम्प्रदाय बौद्ध, विश्वको सबैभन्दा प्राचीन भाषा संस्कृत, विश्वको सबै भन्दा अग्लो पहाड सगरमाथा र विश्वको सबैभन्दा विश्व अद्भूत भूगोल अर्थात् समुद्रबाट ५० मिटरदेखि ८८४८ मिटर जस्ता विविधताहरू प्राप्त गरेका छौँ ।
योगेश्वर श्री पशुपति नाथको निवास कैलाश होस् वा भगवान् श्रीनारायणको तपस्थली मुक्तिनाथ(दामोदर कुण्ड) नै किन नहोस् वा ऋषभदेवले तपस्या गरेको पुलाहाश्रम नै किन नहोस् – हामीसँग गर्विलो इतिहास छ ।

ऋषिमुनिहरूले तपस्या गरेर पवित्र बनाएका सप्त गण्डकीहरू, सप्तकोशीहरू, नौं मालिकाहरू हाम्रो जीवित इतिहास लिएर बगिरहेका छन्, मन्दिरमा विराजमान भएर हामी नेपालीहरूको जीवन्त इतिहासको साक्षी बनिरहेका छन् । वैदिक सनातन धर्म, जैन धर्म, बौद्ध, किराँतहरूका पवित्र मन्त्र तथा संस्कृतिहरू आज पनि जीवन्त छन् ।

हरेक पाइलामा प्रकाशित भएर मन्त्रहरूले हाम्रो पथ प्रकाशन गरिरहेका छन् । हामीले स्वाभिमान गर्नुपर्ने प्रमाणहरू हामीसँग जीवन्त छन् । यहाँसम्म कि हाम्रो इतिहास, संस्कृति तथा परम्पराप्रति गहिरो इष्र्यालुहरू पनि हाम्रै सभ्यताको ओत लिएर जीवनयापन गर्न बाध्य छन् ।

नाम, ठाम र घाम नेपाल आमाको प्रयोग गरेर नेपालकै धर्म, संस्कृति, इतिहासप्रति घृणा गर्नेहरूको पनि भलो नै होस् भन्ने हाम्रो इतिहासको जय होस् ।
मनमा पीडा हुन्छ कि नेपालको निर्माणमा कुनै पनि योगदान नभएकाहरूको फोटो र सिद्धान्तले नेपालीलाई गाँजेको छ तर जस–जसले नेपालको इतिहासमा योगदान गरें उनीहरू अपहेलित हुँदैछन् ।

जोसमनी सन्तहरू जसले सकारात्मक बाटो रोजेर जातीय छुवाछुतको अन्त्य गर्न मेहनत गरे, उनीहरूको यो प्रयासको राज्य र जनताले सम्मान गर्न सकिरहेका छैननन् तर गोराहरूकै ‘इसाई–मन्त्र’ निकै लोकप्रिय छ ।

म सादर नमन गर्न चाहन्छु त्यो सोच र उर्जालाई जसले चरम जातीय छुवाछुत जीवित रहेको बेला पनि अद्दैतवादका भजन गाउँदै सन्यासी बनेर जातीय भेदभाव विरुद्ध बिगुल बजाए । आफुनै उभिएर जातीय छुवाछुत विरुद्ध ‘जोसमनी’ बनेर उभिन अभिप्रेरित गरे ।

जब कसैले सकारात्मक रुपमा आफ्नै मौलिकता स्वीकार गर्दै नराम्रो संस्कारको विरुद्ध बोल्छ जनताकै जातजाति, नाक, भाषा भूगोलबाट माथि उठेर स्वीकार गर्छन् भन्ने कुरा जोसमनी परम्परामा प्रष्ट छ । बाहुन, क्षेत्री, गुरुङ, लिम्वु, राई, दलित सबै एकै मालामा उनिएका छन् ।

त्यहाँ न नाकका आधारमा भेदभाव छ, न बोलिका आधारमा, न भूगोलका आधारमा भेदभाव छ, न संस्कृतिका आधारमा । त्यसैले म भन्छु, मेरो देश र संस्कृतिप्रति मैले स्वाभिमान गर्छु किनभने यो स्वाभिमान गर्न लायक छ योगी नरहरिनाथको अनुसन्धानलाई महत्वपूर्ण ठान्नेहरू पनि छन् र उहाँको अनुसन्धानलाई रद्दो ठान्नेहरू पनि यो समाजमा छन् विदेशी ऋण तथा दुई चारजना गोरेहरूको संलग्नतामा योगीले खोजेको, भेटेको र जुटाएको नेपालको इतिहास खोजिएको भए नेपाल सरकार र यहाँ विश्वविद्यालयहरूले फुलको माला लिएर स्वागत गर्थे होला ।

आधुनिक अभियन्ताहरूका लागि योगी अपहेलित भए किनभने उनले विदेशी वा तत्कालीन सरकारबाट सहमति प्राप्त नगरी देशको लागि अनुसन्धान गरे । अमेरिकामा योगी जन्मेको भए नोबेल पुरस्कार प्राप्त गर्थे । उनी विदेशीहरूको दासत्व स्वीकार गरेका नेपालीहरूका लागि अस्तित्वमा छैनन् तर आम देशभक्त नेपालीहरूका लागि उनी आदरणीय बनेका छन् ।

नेपाल र भारतका गाउँगाउँमा पुगेर तत्थ्य र प्रमाणका साथ नेपाल खोजेर नेपाली माथि गुण लाउने योगी नरहरीनाथमा मैले किन गर्व नगरूँ ? मलाई माक्र्स, माओ, लेनीन आदि कुनै विदेशीसँग कुनै गुनासो छैन किनभने उनीहरूले आफ्नो देशका लागि धेरै गरेका छन् तर यिनलाई बोकेर हिड्नेहरू नेपालीहरू प्रति गर्व गर्ने कुनै कारण छ भने जानकारी प्राप्त होस् ।
मैले सुनेअनुसार काठमाडौँ उपत्यकामा मात्र ५६८० वटा जति मन्दिर, चैत्य, विहारहरू छन् ती सबैका निर्माता हाम्रा पूर्खा नै हुन् ।

उनले आफ्ना सन्तानका लागि (हाम्रा लागि) धेरै थोक छोडेर गए । हामी आफ्ना पूर्खाहरूप्रति कृतज्ञ हुनुपर्छ । हाम्रो पहिचान जर्मन, अमेरिकन, युरोपेली जातिहरूका आधारमा हुनै सक्दैन । हाम्रो सामाजिक, धार्मिक तथा सांस्कृतिक चिनारीहरू हाम्रो आफ्नो इतिहाससँग जोडिएको छ ।

राजा पृथ्वीनारायण शाहले नेपाल एकीकृत गरेको सत्य जति विरोध गरे पनि नकार्न सकिन्न, यो देशको निर्माण माओ, कार्लमाक्र्स, लेनीन, हब्स, रूसो, जगरमास, रोबर्ट ए, डहिल आदिले निर्माण गरेका होइनन्, नेपाल र नेपालीको पहिचान राजा जनक, सीता, बुद्ध, अंशुवर्मा, राम शाह, पृथ्वीनारायण शाह, राजा महेन्द्र, वीरेन्द्र आदि नै हुन् ।

विदेशी राजनैतिक सिद्धान्तहरूको बुई चढेर बनाएको नेपाली पहिचानको कुनै आयु नै हुँदैन, सत्य, सत्य नै हुन्छ, यदि पृथ्वीनारायण शाहको समयमा पुष्पकमल दाहालको जन्म हुन्थ्यो र उनी गोर्खाका राजकुमार हुन्थे भने अहिलेको इतिहासले श्री ५ पुष्पकमल दाहाल, श्री ५ के.पी. ओली, श्री ५ शेरबहादुर देउवा नै हुन्थे । आफ्नै इतिहास, संस्कृति, सभ्यता तथा धर्महरूको अस्तित्व समाप्त पार्ने ‘दुर्योधन’हरूसँग पनि मित्रवत ब्यबहार गर्ने आफ्नो सभ्यताप्रति मैले गौरव गर्नैपर्छ ।

कार्लमाक्र्स, लेनिन, जर्ज वासिंगटन विश्वको भलो चाहने राजनीतिज्ञ र विद्वान हुन् तर मेरो लागि आत्मगौरव त सन्त ज्ञान दिल दास, राजा पृथ्वीनारायण शाह, योगी नरहरी नाथ, राजा महेन्द्र तथा बुद्ध नै हुन् । मैले आफ्नो शिरमा नेपाली टोपी वाहेक अर्को स्वीकार्न सक्दिन तर आफ्नो देश र समाजको विकासका लागि योगदान दिने विदेशी राजनैतिज्ञहरूप्रति मेरो भरपूर सम्मान छ । उनीहरूले आफ्नो देश निर्माण गर्न आफ्नै सिद्धान्त कुँदे ।

हाम्रा नेतृत्वले रेडिमेट कोट ल्याएर नेपाली जनतालाई भिराएको छ । यो ‘फिट’ हुन्छ कि हुँदैन समय पर्खिनु पर्छ तर मागेर ल्याएको ‘कोट’ हो भन्ने रहस्य कुनै पनि हालतमा लुक्नेवाला छैन ।
विश्वको इतिहास पढ्नेले बुझेका छन् – आफ्नो देश, समाज, संस्कृति र इतिहासलाई माया नगर्ने र आफ्नो जीवनको लागि आफ्नो मातृभूमिप्रति धन्यवाद दिन नसक्नेले न आफ्नो भलो गर्न सक्छन् न अर्कोका लागि कुनै सकरात्मक संदेश प्रवाह गर्न नै सक्छन् ।

विदेशी चिन्तनमा गाँजिएको आफ्नो बुद्धि बाहेक अरू कसैको सम्मान गर्न सक्दैनन् । जव सर्वसाधारणले जवाफ खोज्छ, उनीहरूले अर्कोमा दोष थोपरेर पन्छिने गर्छन् । आफुले चुले निम्तो दिएर भित्र्याएका समस्याहरू अर्कोको थाप्लोमा खन्याएर चोखो हुन्छन् ।

नौनी घ्यूको जस आफ्नो लागि राख्छन् भने व्यबस्था, अक्षमता तथा कुशासनका लागि विदेशी (छिमेकी)लाई दोष देखाउँछन् । नेपालीमा एउटा उखान छ ‘नाच्न नजान्ने, आँगन टेढो ।’ धेरै पटक मैले आफैसंग सोध्ने गरेको छु मेरो लागि गौरवको इतिहास जर्मनीमा जन्मेका कार्लमाक्ससँग जोडिएको हुनुपर्छ कि राजा पृथ्वीनारायण शाह, महेन्द्र शाह, विश्वेश्वरप्रसाद कोइराला, मदन भण्डारी वा अन्य कुनै नेता ।

निसन्देह मेरा लागि मेरा पथप्रदर्शक र प्रेरणाका प्रथम स्रोत नेपाली नै हुनेछन् । मैले राजा पृथ्वीनारायण शाहको सम्मानमा एक हजार वटा जर्ज वासिंगटन र कार्लमाक्र्सहरू त्याग्न सक्छु ।

यही मेरो गौरव, आत्मसम्मान र मेरो मौलिक पहिचान हुन् । विदेशी महामनिषीहरूको सम्मान गर्छु तर मेरो लागि नेपाली नेतृत्व जसले विदेशीको सिद्धान्तमा विश्वास गरेनन् । आत्मसमर्पण गर्नेहरूसँग मेरो कुनै गुनासो छैन ।

तपाइँको प्रतिक्रिया ।