त्रिदेव दर्शन : अंशु भट्ट (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,पुस २७ ।
(विनिता र नटराजको मित्रता दुवैको बौद्धिक छलफलका कारण प्रख्यात थियो । एक दिन, उनीहरू आपसमा गहन कुराकानीमा मग्न थिए ।)
विनिता – “तिमी आफूलाई निकै चतुर र बुद्धिमान सम्झन्छौ, हैन ? मित्रता हाम्रो छ, तर तिम्रो आँखामा कहिलेकाहीँ घमण्डको छायाँ स्पष्ट देख्छु ।”
नटराज – “घमण्ड ! यस्तो लाग्छ ?मैले कहिल्यै त्यस्तो आचरण गरेको जस्तो लाग्दैन ।”
विनिता – “तर आज विक्रमसँगको कुराकानीमा तिमीले जुन उत्तर दियौ, त्यसले तिम्रो ज्ञानको मात्र होइन, त्यसको घमण्डको झल्को पनि देखायो । तिमीलाई के लाग्छ, हरेक प्रश्नको उत्तर तिमीलाई थाहा छ ? यो संसारमा के कुनै यस्तो चुनौती छैन जसले तिमीलाई मौन बनाओस् ?”
नटराज – “यो त तिम्रो दृष्टिकोण हो, विनिता । म यसलाई घमण्ड भन्नुभन्दा आत्मविश्वास भन्न रुचाउँछु । मेरो विश्वास के छ भने, संसारमा हरेक प्रश्नको उत्तर छ, हरेक चुनौतीको समाधान छ । समय लाग्छ, खोजविन चाहिन्छ, तर समाधान पक्कै हुन्छ ।”
(विनिता मुस्कुराउँदै)
विनिता – “यदि तिमी यति नै निश्चित छौ भने, मेरो एउटा चुनौती स्वीकार गर । मलाई यो कलियुगमै त्रिदेव – ब्रह्मा, विष्णु, र महेश –को जीवित दर्शन गराउँ । सक्छौ ?”
(नटराज केही बेर मौन भए । अनि उनी मुस्कुराए, र दृढ आवाजमा भने,)
नटराज – “त्रिदेवको दर्शन तिमीलाई गर्न कुनै कठिन कुरा होइन । वास्तवमा, हामी सबैले हरेक दिन त्रिदेवको दर्शन गर्छौं । फरक यति मात्रै हो कि हामीले तीनलाई चिन्न सकेका छैनौँ ।”
(विनिताको अनुहारमा कौतुहलता लहर स्पष्ट देखियो ।)
विनिता – “तिम्रो यो उत्तरले झनै रोचक बनायो मलाई । स्पष्ट पार, नटराज ।”
(नटराज गहिरो सास फेर्दै ।)
नटराज – “त्रिदेव – सृष्टिकर्ता, पालनकर्ता, र संहारकर्ता – यी तीन शक्ति एउटै अस्तित्वमा समाहित छन्, र त्यो अस्तित्व हो सूर्य । सूर्य बिना यो सृष्टि असम्भव छ । उसैले हामीलाई जीवन दिएको छ ।
(आफ्नो कुरालाई थप गहिराइमा पु¥याउँदै ।)
सूर्य ब्रह्मा हुन्, किनकि उनी नै सम्पूर्ण सृष्टिको स्रोत हुन् । सूर्य विष्णु हुन्, किनकि उनी बिना धर्तीमा कुनै जीवनचक्र सम्भव छैन । वनस्पति, प्राणी, अनि मानव सबैको पालनपोषण सूर्यकै उर्जाले हुन्छ । अनि सूर्य महेश हुन्, किनकि सूर्यको विकराल तापले समय समयमा विनाश पनि ल्याउँछ ।”
(विनिता नटराजको कुरा सुन्दै चकित भइन्, उनले नटराजको तर्फबाट यति गहकिलो उत्तरको परिकल्पना गरेकी थिइन ।)
नटराज – “सूर्योदय र सूर्यास्तका क्षणहरूमा सूर्यलाई नियाल । तिमीलाई त्रिदेवको प्रत्यक्ष दर्शन हुनेछ । सूर्यदेवलाई हेर्दा तिमी ब्रह्माको सृष्टि, विष्णुको पालन, र महेशको विनाश – यी सबैलाई एकैसाथ महसुस गर्न सक्छौ । यसैले सूर्यदेव नै त्रिदेव हुन् ।”
(विनिता स्तब्ध भइन् र उनले मुस्कुराउँदै भनिन् ।)
विनिता – “तिम्रो उत्तरले घमण्ड होइन, गहिरो ज्ञानको परिचय दिएको छ । अब म सूर्योदय र सूर्यास्तलाई नयाँ दृष्टिकोणले हेर्नेछु । धन्यवाद, नटराज ।”
(नटराजले विनिताको प्रशंसा सुनेर भने,)
नटराज – “ज्ञान सधैँ असीमित छ । यो निरन्तर प्रवाहमान नदी हो । हामीले यसको यात्रा मृत्यु पर्यन्त गरिरहने हो ।”
(त्यस दिन विनिताले नटराजको बुद्धिमता मात्र होइन, उनीभित्रको अध्यात्मिक गहिराइलाई पनि महसुस गरिन् ।)
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक