सेलीको सुरुवात :सञ्जय सोती (पाठक प्रतिक्रिया)

सेलीको सुरुवात :सञ्जय सोती (पाठक प्रतिक्रिया)

कपन अनलाइन

काठमाण्डौ ,पुस २७ ।

सामान्यतया सुसेली भनेको मानिसले आफ्ना दुबै ओठलाई गोलाकार बनाएर मुखभित्रको हावा बाहिर ठेल्दा आउने ध्वनि हो । गीतको लय मिलाउँदै मुखभित्रको हावा बाहिर निकालेर मानिस एकाग्र भएको सुनिन्छ र देखिन्छ पनि । यो आफूसहित अरूलाई मनोरञ्जन दिने तरिका पनि हो । हुनत हाइकु सुसेलीको संरचनाको स्वरूप अक्षर र पङ्क्तिका दृष्टिमा उस्तै देखिन्छन् तर यसमा अन्यथा लिनु पर्ने आवश्यकता देखिंदैन किनभने हाम्रा छन्द कविता पनि एउटै संरचनामा विभिन्न छन्द वा लयमा रचना हुँदै आएका छन् ।
दुर्गाप्रसाद अधिकारी ‘भमरकोटे’ ले गाइकु भन्दै गाउँदै गरेका ५, ७, ५ को काव्य विधामा तिलकप्रसाद लुइटेल र दामोदर ढकाल दीपक तीनजना भेला भएर २०७६ सालको सुरुवातमा गाइकु शब्दको प्रसङ्ग अघि सारेछन् । सुन्दा राम्रै लाग्ने यो नेपाली नाम राख्दा राम्रै होला भन्ने तीनै जनालाई लागेछ । यसै बीचमा लामो र गहन छलफलपश्चात दामोदर ढकालले भमरकोटे सर ! गाइकुभन्दा सुसेली भन्ने नाम राख्दा अझ राम्रो हुन्छ भनेर प्रस्ताव गरेछन् । तिलकप्रसाद लुइटेलले समेत सुसेली उत्कृष्ट नाम भेटियो भन्दै समर्थन गरेपछि यही निचोड निकालेका रहेछन् ।
चतुष्पदी शब्दको अर्थ नेपाली बृहत् शब्दकोषमा चार चरण भएको श्लोक वा पद्य भनिएको छ । चतुः भनेको चार । चार हरफमा हुने कथिक रचनालाई चतुष्पदी भनिन्छ तर सुसेलीमा चतुष्पदी नभई तीन पद छन् । त्यसैले यसलाई त्रिपदी भन्न पाइयो । जसरी शरीरका अङ्ग पद भनेको खुट्टा, चरण र गोडा हुन । त्यसरी नै स्थान, ओहोदा र स्तरलाई पनि पद भनिएको छ । व्याकरणिक भाषामा सुबन्त र तिङन्त शब्दलाई पनि पद भनिएको पाइन्छ । सुबन्त भनेको विभक्ति लागेको र तिङन्त भनेको लिङ्ग, पुरुष, वचन, कारक, काल आदिले रूपान्तरण हुने अवस्था पनि हो । जसरी तीन शब्द भएकालाई त्रिपदी भनियो, त्यसरी नै तीन पद हुने रचनालाई त्रिपदी भनिएको हो । यसर्थ पनि शब्दकोष्शकै अर्थलाई स्वीकार गरेर तीन हरफ हुने रचनालाई त्रिपदी भनिएको हो ।
वेदमा – गायत्री, त्रिष्टुप, जगाती, अनुष्टुप, पङ्ति, बृहती र उणिक् गरी मुख्य सात छन्दको प्रयोग छ ।
“गायत्री त्रिष्टुब्जगत्यनुष्टुप्पङ्क्त्या सह ।
बृहत्युष्णिहा ककुप्सूचीभिः शम्यन्तु त्वा ।।” भनेर प्रमुख छन्दको नाम यजुर्वेदको २३ अध्यायको ३३औं मन्त्रमा आउँछ । यिनै सात छन्दबाट अनेकौं छन्द निःसृत भएका छन् । माथि उल्लेखित मन्त्रभन्दा पछिको मन्त्रमा त्रिपदा शब्द प्रयोग भएको छ ।

द्विपंदा याश्चतुष्पदास्त्रिपंदा याश्च षट्पदाः।
विच्छन्दा याश्च सच्छंन्दाः सूचीभिः शम्यन्तु त्वा ।।

यो त्यहीँको ३४ औं मन्त्र हो । छन्दकै चर्चा वेदमा यसरी भएको हुनाले पद शब्दको अर्थ हरफ भन्ने पनि लाग्छ । हुन त छन्द एकाक्षरीदेखि सुरु हुन्छ । तसर्थ छन्द भनिसकेपछि एक एक अक्षरका तीन पद भए पनि वा त्यसभन्दा धेरै भए पनि हरफलाई नै भनेको प्रतीत हुन्छ । तर यहाँ कुन हरफमा कति अक्षर भन्ने उल्लेख गरिएको देखिंदैन । त्यसैले वेदमा भनिएको त्रिपदी यस्तै नै हो भन्ने अनुमान गर्न सकिन्छ ।

पाँच + सात + पाँच अक्षर राखेर रचना गर्दै दुर्गा भमरकोटेले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका कुराहरू पढ्दा रमाइलो लागेर वेदविज्ञ अनुवादक तिलकप्रसाद लुइटेलले पनि त्यसै अनुसार कमेन्ट गर्थे ।

काभ्रे भमरकोटमा जन्मेका दुर्गाप्रसाद अधिकारी ‘भमरकोटे’ नै सुसेलीका प्रथम बीजारोपणकर्ता हुन्; अर्थात आविष्करणकर्ता । जब उनले सुसेलीलाई अलग्गै रूपमा स्थापित गर्न सत्र अक्षरको संरचनामा लेखिएका सिर्जनालाई गाउन थाले । तर साहित्यका पण्डितहरूले सत्र अक्षर संरचनामा लेखिने हाइकुलाई बिगारेको आरोप उनीमाथि लगाए । यद्यपि यसको वास्ता नगरी उनी सुसेली गाउँदै र लेख्दै बस्न छोडेनन् ।
यही बिगारेको भनिएको हाइकु (सुसेली) लाई सुसेलीको रूप दिँदै त्रिनेत्र सुसेली बृहत् काव्यको रूप पनि उनले दिए । वि. सं. २०७७ सालमा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।