हिम श्रृंखलाको उत्पत्ति र विकास : राजेशमान के.सी.

हिम श्रृंखलाको उत्पत्ति र विकास : राजेशमान के.सी.

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर १६ ।

हिमालय विश्वकै सबैभन्दा अग्लो र एसियाको सबैभन्दा ठूलो हिम श्रृंखला  हो । यसको लम्बाई करीव दुई हजार चारसय किलोमिटर रहेको छ । यी हिम श्रृंखलाहरु उत्तरी पाकिस्तानदेखि लिएर भारत, तिब्बत, नेपाल हुँदै भुटानसम्म फैलिएका छन् । यी हिम श्रृंखलाहरुमा रहेका ३० भन्दा बढी हिमालहरु ७६२० मिटर र सो भन्दा अग्ला रहेका छन् । यिनै हिम श्रृंखलाहरुमा नेपालस्थित विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथा पनि अवस्थित रहेको छ जसको उचाई ८,८४८ मिटर रहेको छ ।

संस्कृतमा हिमालयको अर्थ  ‘हिउँको घर’ भन्ने बुझिन्छ । हुन पनि हिमालयमा ५ हजार मिटरको उचाईदेखि वर्षभरी नै हिउँ पाइने गर्दछ । हिमालयमा विभिन्न प्रकारका दूर्लभ जीवजन्तु र वनस्पतिहरु पनि पाइन्छन् । उदाहरणको लागि कालो भालु हिमालयको फेदतिर पाइन्छ भने हिमालयको टुप्पो भागतिर अर्थात् करीव २,४०० मिटरको उचाईमा लालिगुराँस र ओकका रुखहरु पाइन्छन् । तथापि केही वर्ष यता आएर यी रुखहरु काठ र कृषि क्षेत्रको प्रयोजनका लागि भनी फँडानी गर्न थालिएको छ ।
पृथ्वीका विभिन्न भू–संरचनाहरु जस्तै टापु, पहाड, हिमाल, मैदान, ताल आदिमध्ये हिमालय श्रृंखलालाई सबैभन्दा कान्छो पर्वत श्रृंखलाको रुपमा लिइन्छ । यसको उत्पत्ति करीव ४ करोड वर्ष अघि मात्रै भएको अनुमान वैज्ञानिकहरुले गरेका छन् । वैज्ञानिकहरुका अनुसार अग्ला र वरफले ढाकिएका हिमालको रुपमा चुलिनु भन्दा पहिले यी विशाल हिमश्रृंखलाहरु टेथीस सागरको पीँँधमा थिए । त्यसो त विश्वको सर्वोच्च शिखर सगरमाथाको हिउँ भित्रका चट्टानहरुको बनौट र प्रकृति हेर्दा पनि करीव ६ करोड वर्ष पहिले निर्माण भएका समुद्री चट्टानहरुको बनौटसंग दुरुस्तै मेल खान्छ । यसबाट पनि हिमालय श्रृंखला आरम्भमा समुद्री पीँधकै रुपमा थिए भन्ने कुृराको पुष्टि हुन्छ । वैज्ञानिकहरु भन्छन् – टेथीस सागर पृथ्वीको उत्तर–पश्चिम खण्डमा रहेको फराकिलो पीँध भएको गहिरो सागर थियो ।
त्यसपछि करीव ४ करोड वर्ष पहिले पृथ्वीमा उत्पन्न भएको भीषण भू–हलचलका कारण एउटा छुट्टै महाद्धीपका रुपमा रहेको एसिया महादेशको विशाल भू–खण्ड दक्षिण दिशातिर बग्दै गयो ।
यसरी बग्ने क्रममा एसिया महादेशको भू–खण्डले टेथिस सागरको पीँधलाई माथि उठाइदियो । फलस्वरुप यसरी उठेका पर्वतहरु उत्तरी भागमा रहेका तिब्बती पर्वत श्रृंखला बन्न पुगे । शुरुको अवस्थामा ती पर्वतहरुको उचाई समुद्री सतहबाट करीव चार हजार मिटर मात्र अग्लो थियो । त्यसपछि झण्डै डेढ करोड वर्ष पहिले उत्पन्न भएको दोस्रो झट्काले ती पर्वत श्रृंखलाहरुलाई झण्डै ६ हजार मिटर अग्लो बनाईदियो । तथापि त्यसपछि पनि पृथ्वीमा भीषण झट्काहरु आउने क्रम भने जारी नै रह्यो । भनिन्छ करीव सत्तरी लाख वर्ष पहिले उत्पन्न भएको विशाल भू–हलचलले हिमालय श्रृंखलालाई तेस्रो पटक झट्का दिएको थियो । जुन झट्काले तिब्बती श्रृंखलाहरुको उचाई थप दुई हजार मिटर बढाएर आठ हजार मिटर अग्लो  बनाइदियो ।
उत्तरी भू–भागमा यस्ता अग्ला हिम श्रृंखलाहरुको निर्माण भइसकेपछि टेथीस सागरको पानी पनि विस्तारै दक्षिणतिर बग्न थाल्यो । तर टेथीस सागरको मध्य भागबाट उत्पन्न भएका अग्ला–अग्ला पहाडहरुका कारण दक्षिणतिर बग्दै गएको समुद्री पानी बिचैमा रोकिन पुग्यो । यसरी पानी रोकिएपछि विभिन्न तालहरुको निर्माण हुन पुगेको कुरा वैज्ञानिकहरु बताउँछन् ।
नेपालको उत्तर–पश्चिम भू–भागमा रहेका रारा, शे–फोक्सकुण्डो तथा तिलिचो तालहरु पनि यस्तै प्रक्रियाहरुबाट बनेको अनुमान वैज्ञानिकहरुले गरेका   छन् । त्यसपछि हिमालय श्रृंखला वरीपरी गएको चौथो तथा अन्तिम झट्काले महाभारत श्रृंखलाको निर्माण हुन पुग्यो । यसरी निर्माण भएका पर्वतहरुले उत्तरबाट बग्दै दक्षिणतिर गएका नदीहरुलाई रोकिदिए ।
नदीको पानी यसरी रोकिएपछि पुनः ठूल–ठूला तालहरुको निर्माण भएको धारणा वैज्ञानिकहरुको रहेको छ । हामीलाई थाहा भएकै कुरा हो कि काठमाडौं उपत्यका पनि पहिले एउटा विशाल ताल थियो र यो तालको पानी करीव १५ लाख वर्ष पहिले मात्रै सुकेको अनुमान वैज्ञानिकहले गरेका छन् । वैज्ञानिकहरुका अनुसार महाभारत पर्वत श्रृंखलाले रोकेको पानी ती पर्वतहरुलाई छिचोलेर बग्न खोजेका थिए । त्यसै क्रममा महाभारत पर्वतका तीनवटा कमजोर भागहरुलाई फुटाएर पानी बगेर गयो । यसरी पर्वत फुटाएर बगेका नदीहरुलाई नै अहिले हामी नेपालका कोशी, गण्डकी र कर्णालीको नामले चिन्दछौं ।
 हिमालय पर्वत श्रृंखलाको उचाई बढ्नुको मुख्य कारण एसिया महादेश तथा टेथीस सागरबीच भएको भीषण ठक्करबाट पृथ्वीमा विभिन्न समयमा उत्पन्न भएका ठुल–ठूला झट्काहरुलाई नै मानिएको छ । नयाँ पर्वत श्रृंखला उत्पन्न गराउन सक्ने तथा उत्पन्न भईसकेका पर्वतहरुको उचाई थप बढाउन सक्ने क्षमता भएका भीषण झट्काहरु प्रत्यक ३ देखि ४ करोड वर्षको अन्तरालमा आइरहन्छन् । यसलाई एक नियमित प्रक्रिया मानिन्छ । त्यसो त अहिलेको समयमा पनि हिमालय श्रृंखलाको उचाई बढ्ने क्रम पूर्ण रुपमा रोकिएको छैन ।
तर विशाल झट्काहरु आउने गति अति सूक्ष्म रुपमा हुँदै गएका कारण अबका वर्षहरुमा हिम श्रृंखलाको उचाई ह्वात्तै बढ्ने सम्भावना भने नरहेको धारणा विज्ञहरुको रहेको छ । तथापि हिमालय श्रृंखला एक अस्थिर क्षेत्र भएका कारण भविष्यमा पनि टेक्टोनिक हलचलबाट हिमालयमा ठूल–ठूला भू–कम्पका झट्काहरु गईनै रहने र सोही अनुरुप हिमालयको उचाई बढ्ने क्रमले भने बिस्तारै–बिस्तारै निरन्तरता पाइनै रहने भनाई वैज्ञानिकहरुको रहेको छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।