फोहोर व्यवस्थापनका बाधक तत्व पत्ता लगाउन मेयर बिद्यासुन्दर शाक्यको निर्देशन

फोहोर व्यवस्थापनका बाधक तत्व पत्ता लगाउन मेयर बिद्यासुन्दर शाक्यको निर्देशन

कपन अनलाइन

काठमाडौं, पुस ३। फोहोर व्यवस्थापनमा बाधा पुर्याउने  व्यक्ति, संस्था, समुदाय तथा संरचना पत्ता लगाउन महानगरका मेयर बिद्यासुन्दर शाक्यले वातावरण व्यवस्थापन बिभागलाई निर्देशन दिएका छन् ।

बुधबार बिभागले गरिरहेका कामका बारेमा जानकारी लिने क्रममा मेयर शाक्यले भने

जनशक्ति अभाव हो, तर नपुग्दो होइन । काम गर्दा व्यक्तिगत अभिलाषा र आफूलाई केन्द्रमा राखेकाले पनि समस्या भएको छ । संस्थागत निर्णय कार्यान्वयनमा समस्या सृजना गर्ने व्यक्ति वा समूहको को हो? मलाई जानकारी दिनोस्, धेरै मानिसको हितका लागि कतिपय बेला अप्रिय निर्णय पनि गर्नुपर्ने हुन्छ । कुनै एउटा अप्रिय निर्णयले व्यवस्थालाई थप नोक्सान हुनबाट बचाउँछ भने यसका लागि नेतृत्वले डराउन हुँदैन, म डराउँदिन, मेयर शाक्यको भनाइ थियो । उनको यो भनाइ आन्तरिक व्यवस्थापनसँगै बाह्य सरोकारवाला सबैप्रति लक्षित थियो ।

फोहोरमैला व्यवस्थापन अत्यावश्यक सेवा हो । यस सम्बन्धि काम गर्दा, आफू जरुरी सेवामा भएको अनुभूति गरेर सेवा गर्नुपर्छ । मेयर शाक्यले भने फोहोर व्यवस्थापनमा निजी क्षेत्रको सहभागिता गराउने सम्बन्धि फाइल लगानी बोर्डबाट फिर्ता आएको छ । अब महानगरले प्रचलित र प्रयोगसिद्ध प्रबिधिको प्रयोग गर्ने बिषयमा अध्ययन गर्छ ।

त्यस क्रममा वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठले ओखरपौवामा क्षमता सकिएको र बञ्चरे डाँडामा पूर्वाधार तयार भइनसकेको ल्याण्डफिल्ड साइट महानगरका लागि चुनौती रहेको उल्लेख गरे । फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी तथा उपकरण मर्मत गर्दा आवश्यक पर्ने स्पेयर पार्टस बजारबाट सजिलै खरिद गर्न नसकिने कानुनी प्रबन्धले भनेको समयमा सवारी मर्मत गर्न पाइएको छैन ।

यन्त्र तथा उपकरण महाशाखा प्रमुख पुरुषोत्तम शाक्यले भने अत्यावश्यक सेवा व्यवस्थापन गर्न कानूनी प्रबन्ध र ती प्रबन्ध सञ्चालन गर्ने प्रशासनिक व्यवस्था हुनुपर्ने खाँचो देखाए। आवश्यकताका आधारमा सरसफाइमा खटिने जनशक्ति परिचालनमा समस्या छ । वडागत आँकडा प्रस्तुत गर्दै वातावरण प्रशासन महाशाखा प्रमुख सरस्वती पोख्रेलले ठूला सवारी चलाउने चालकको खाँचो देखाइन् । आफूले गरेको र गर्नुपर्ने कामका बारेमा जानकारी गराउने क्रममा फोहोरमैला व्यवस्थापन महाशाखाका प्रमुख निर्मलराज बरालले – २८ वटा सूची प्रस्तुत गरेका थिए । यस सूचीमा ट्रान्सफर स्टेशन सञ्चालन, व्यवस्थापन र सौन्दर्यीकरणदेखि ल्याण्डफिल्ड साइटको व्यवस्थापन र यसका लागि सहरी संरचनागत त्रुटीका कुरा समावेश छन् ।

त्यस क्रममा समुदाय परिचालन शाखा प्रमुख सानुमैया महर्जनले  श्रोतमा फोहोर छुट्टाउने

बिधिलाई भित्री वडाका चोक—चोकबाट सफल बनाएर बिस्तार गरिने योजना सुनाए । त्यस्तै खटनपटन शाखा प्रमुख पूर्णचन्द्र भट्टले व्यवस्थापनका चक्रमा एक ठाउँमा समस्या आउनेबित्तिकै ट्रान्सफर स्टेशनमा दवाव सृजना हुने बताए । कर्मचारीले यसरी सुनाएका समस्या मेयर शाक्यले ३ घण्टा सुनेर टिपोट गरेका थिए भने छुटेका कुरा सम्झेर भन्न प्रोत्साहित गरेका थिए ।

आफ्ना समस्या, गुनासा र अब गर्नुपर्ने काममा सूची प्रस्तुत गर्ने क्रममा अधिकारीहरुले

फोहोर उत्पादक व्यवस्थापनमा जिम्मेवार नभएको, अस्पतालजन्य तथा अन्य हानीकारक फोहोर व्यवस्थापनमा उत्पादकलाई जिम्मेवार बनाउनु पर्ने, फोहोर सडकमा थुपार्ने उत्पादक तथा निजी क्षेत्रमाथि निगरानी गर्नुपर्ने लगायत बिषय उठाएका थिए । त्यस्तै ट्रान्सफर स्टेशनलाई पर्खाल लगाएर सुरक्षित तथा पार्क बनाएर व्यवस्थित गर्नुपर्ने, ओखरपौवाको ल्याण्डफिल्ड साइट व्यवस्थापन, बञ्चरे डाँडाको ल्याण्डफिल्ड साइटको पूर्वाधारमा भइरहेको ढिलाई, साइट नहँुदा आउन सक्ने समस्या, ल्याण्ढफिल्ड साइट प्रभावित स्थानीयको गुनासो सुनुवाई तथा व्यवस्थापन, ल्याण्डफिल्ड साइट पुग्ने सडकको दुराबस्था, अन्य निकायले काममा ढिलाइ गरिदिएपछि महानगरमा सृजना हुने दबाब, निजी तथा सामुदायिक संघसंस्थासँगको सहकार्यका बिषयलाई पनि महत्वका साथ उठाइएको थियो । सार्वजनिक शौचालय निमाएणा, सञ्चालन व्यवस्थापन, वातावरणीय प्रदुषण, पानी तथा फोहोर पानी व्यवस्थापन बिषय पनि त्यस क्रममा उठेका थिए ।

महानगरको वातावरण व्यवस्थापन बिभागमातहतमा अहिले सफाइमा खटिने कर्मचारीको संख्या ४९३ छ । महानगरलाई भौगोलिक क्षेत्रका आधारमा ८६ वटा रुट बनाएर सरसफाइ गर्ने गरिएको छ । यस क्रममा ११० वटा सवारी तथा उपकरण प्रयोग हुन्छन् । यीमध्ये २० वटा ठूला सवारीलाई ट्रान्सफर स्टेशनबाट ल्याण्डफिल्ड साइट पठाउने गरिएको छ । भारी सवारी चालकको संख्यामा कमी यान्त्रिक गढबढीका कारण यो संख्या नियमित भने हुन सकेको छैन ।

फोटो सौजन्य : काठमाडौँ अनलाइन

तपाइँको प्रतिक्रिया ।