गोकर्ण बाट ३६ सय ७४ पाइला हिड्दा मेरो घर पुगिन्छ :सालिकराम भण्डारी (कलाकार )

गोकर्ण बाट ३६ सय ७४ पाइला हिड्दा मेरो घर पुगिन्छ :सालिकराम भण्डारी (कलाकार )

कपन अनलाइन

काठमाडौ, माघ ५ ।

करिब २० बर्ष देखि रंग क्षेत्रमा काम गर्दै आएका रंगकर्मी  सालिकराम भण्डारी संग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

कपन अनलाइन : तपाइको पारिबारिक र शैक्षिक पृष्ठभूमि  बताईदिनुहोस न ?

सालिकराम भण्डारी : मेरो जन्म काठमाडौको पूर्वीय भेग तारेभिरको फेदीमा  साबिक बालुवा गाबिस वडा नं ६ हाल गोकर्णेश्वर नगरपालिका वडा नं ३  सुन्ताखानमा बुवा सुदर्शन भण्डारी र आमा सरस्वती भण्डारीको एक्लो छोराको रुपमा २०३८ साल बैशाख १७ गते  भएको हो ।

मेरो एउटा दिदि र एउटा बहिनी रहेका छन।मेरो प्रारम्भिक शिक्षा सुन्ताखान माबी बाट सुरु भयो।  त्यहि बाट एस एल सी उत्तीर्ण भए र उच्च शिक्षा गोकर्णमा रहेको श्री सहयोगी उच्च माबी बाट प्लस टु सके।

त्यो भन्दा माथि बिबिध कारणले मेरो शिक्षा अघि बढ्न सकेन। सानै उमेर देखि कला क्षेत्र मन पर्थ्यो।बिद्यालय जीवन देखि नै नाटकमा लागे त्यो बेला देखि अहिले सम्म नाटकमै रहेको छु। त्यो संग संगै नाटक लेखन र फोटोग्राफी पनि मेरो रुचिको बिषय हो।

कपन अनलाइन : अहिले के गर्दै हुनुहुन्छ ?

सालिकराम भण्डारी : अहिले भर्खरै मेरो “काले” भन्ने नाटक सकियो ।यो सामुदायिक नाटक अन्तर्गत थियो।अहिले सामुदायिक नाटक महोत्सब भनेर सरकारी बिद्यालयमा पढ्ने बिद्यार्थीहरुको शिक्षामा केके समस्या रहेको छ?

दैनिक भोग्नुपरेको कठिनाइलाई लिएर हामीले नाटक गर्दैछौ । नाटकको मार्फत बाट  सरकारी विद्यालयको शैक्षिक सुधारको लागि विभिन्न सामुदायिक बिध्यालयमा नाटक प्रशिक्षणको काम समेत गरिरहेको छु ।

कपन अनलाइन : तपाइको बुझाइमा नाटक के हो ?

सालिक राम भण्डारी : नाटक  मेरो बुझाइमा जीवन लाइ हेर्ने झ्याल हो । नाटकले समाजका बिबिध पक्ष बुझ्न सघाउछ। नाटकले हामीलाई हाम्रा कमजोरी देखाउछ र त्यसलाई सुधार गरेर असल मान्छे बन्न प्रेरित गर्छ ।

समाजले जन्माएको वा निर्माण गरेको विभिन्न चरित्रलाई नाटकमा देखाइन्छ। यसले हामीलाई फरक फरक समाज र पुस्ता बुझ्न सिकाउछ। यो समाजको ऐना र जीवनलाई हेर्ने झ्याल  भन्न रुचाउछु।

कपन अनलाइन : नाटक कला क्षेत्रमा प्रवेश कसरी गर्नु भयो ?

सालिक राम भण्डारी : सुरुमा मलाई यो अचम्मको कुरा के छ भने हाम्रो गाउमा नाटक हुने गर्थ्यो ।दाजुहरुले नाटक गर्नुहुन्थ्यो। नाटक खेल्न मलाई एकदम रहर थियो तर दाजुहरुले नाटक नखेलाउने।

त्यति बेला भर्खर भर्खर क्यासेट आएको थियो रेकर्ड गर्न मिल्ने अनि त्यो क्यासेट आएपछि  दाजुहरु कुनबेला त्यो बाटो आउछन भनेर म रेकर्ड गरेर राख्थे अनि त्यो  दाजुहरूलाई  सुनाइदिन्थे ।आफुले बोलेको क्यारिकेचर गरेको त्यो सुनाइदिन्थे।अनि त्यो दाजुहरु त्यो बाटो हिड्दा खेरि मेरो त्यो क्यारिकेचर सुन्थे । त्यसको अर्को साल देखि उनीहरुले मलाई नाटकमा राख्न थाले।

अनि त्यो जुन समयमा मलाई नाटकमा राख्नु भयो त्यो समयमा नै मैले गरेको अभिनय गाउमा  सबैले रुचाउन थाले ।त्यसपछि  नाटकको यात्रा सुरु भयो। त्यसपछि आफुलाई  नाटकमा अझ बढी कुरा सिक्नको लागि  राष्ट्रिय नाच घर गए ।

राष्ट्रिय नाचघरमा अभिनयको १ बर्षे प्रशिक्षण लिएपछि आरोहण गुरुकुलमा काम गर्न थाले। त्यहा हुने प्राय नाटक प्रशिक्षण कार्यशालाको प्रशिक्षार्थी भएर आफ्नो कला यात्रालाई  अगाडी बढाए।

संगै बिभिन्न स्कुलहरुमा नाटक प्रशिक्षकको रुपमा विभिन्न ,एनजीओ, आइएनजीओहरुमा काम  गरे । त्यस्तै गरि कला क्षेत्रमा काम गर्दै गर्दा मैले ५ /६ वटा चलचित्रमा काम गर्ने अवसर पनि पाए २ वटा हलिवुडमा पनि खेल्ने अवसर पाएको छु ।

कपन अनलाइन : रंगमंच नाटकमा लाग्दा घर परिवारको कतिको सहयोग पाइरहनु भएको छ ?

सालिक राम भण्डारी : पहिला मलाई मेरो बुवाले  “बाबु कम्प्युटर सिक्न जा तलाइ भोलि पर्सि जागिर खान सजिलो हुन्छ”, भनेर सम्झाउने गर्नुहुन्थ्यो ।

तर  म चाहि  राष्ट्रिय नाचघरमा नाटक सिक्न जान्थे। म कलेज जान्थे कलेज जाँदा खेरि पनि नाटक सिक्न गइरहेको  हुन्थे।पढाइलाइ भन्दा मेरो रुची नाटक तिर गयो।पछि पछि भए पछि घर परिवारले पनि नाटकमा लागेको थाहा पाए पछि अलि नराम्रो सोच्नुहुन्थ्यो।

कहिँ गयो भने त के गर्छस?  भनेर सोध्ने गर्थे । म चाही नाटक गर्छु भन्थे अनि जागिर चाही के खान्छस? भनेर सोध्ने गर्थे, अनि म चाही  हासी हासी नाटक गर्छु भन्थे।

पहिला पहिला नाटकमा टिक्न पनि गार्हो थियो। त्यसपछि बाच्न पनि गार्हो थियो। तर अहिले समय फरक भए संगै घर परिवारको सोचाइमा पनि परिबर्तन आएको छ। नाटक पनि राम्रो भएको छ ।यो क्षेत्र पनि उर्बर भएको छ। नाटकले नै बाच्न खान सकिन्छ भन्ने अहिले भएको छ ।

कपन अनलाइन : यो क्षेत्रमा आइरहदा कसलाई आफ्नो प्रेरणाको स्रोत र  गुरु कसलाई  मान्नुहुन्छ?

सालिकराम भण्डारी : मेरो प्रेरणाको स्रोत मेरो पहिलो गुरु गाउकै दाजुहरूलाई मान्छु। उहाहरुको प्रेरणा हौसलाले नै अघि बढेको हु। अनि त्यसपछि बिरेन्द्र हमाल ,अनुप सर, सुनिल पोख्रेल मेरो “गड फादर” नै मान्छु ।उहालाई अनि हरिहर शर्मा  बाट मैले सिकेको हो

कपन अनलाइन : अबको योजना के रहेको छ ?

सालिकराम भण्डारी : तपाइलाई नढाटी भन्नु पर्दा हाम्रो क्षेत्र पछाडी पर्नु भएको आख्यानकार रमेश विकलको नाममा एउटा थिएटर घर  खोल्ने मेरो सपना रहको छ।

यो गोकर्णेश्वर नगरपालिका संग पनि कुरा गर्ने जमर्को गरेका छौ। संगै अब यो हाम्रो क्षेत्रमा रमेश विकल नाटक घर भनेर बनाउन सकियो भने देखि यो भेगको  क्षेत्रमा नाट्य क्षेत्रमा, कला क्षेत्रमा ,साहित्य क्षेत्रमा विकास गर्न सकिन्थ्यो भन्ने लागेको छ ।त्यसै अनुरुप एउटा थिएटर खोल्ने योजना रहेको छ ।

कपन अनलाइन : यस क्षेत्रमा नाटक घरको सम्भावना  कस्तो देख्नु भएको छ ?

सालिक राम भण्डारी :  अहिले नेपाली नाट्य क्षेत्र उर्भर भएको छ । आफ्नो जमिन नभईकन नाटकघर  नाउदा खेरि भाडामा बनाउँदा एकदम गार्हो छ ।

सरकारी तवरबाट बनाएका हलहरु सबै डान्स गर्नको लागि ,अभिभाबक दिवस मनाउनको लागि मात्र उपयुक्त रहेका छन् । हामीले बनाउदा खेरि समुदायको मनिसहरु लाइ  सबैलाई समेट्न सकिने गरि नाटक घर  बनाउनु पर्छ भन्ने मलाई लागेको छ  ।

सुन्दर समाज बनाउन धेरै कुरा चाहिन्छ त्यस मध्ये नाटक र नाटक घर पनि एक हो। बिकसित देश हरुमा नाटकघर हुन्छ । काठमाडौँ मा सरकारी स्तरको नाचघर छ तर त्यसमा पैसा  तिरेरे नाटक देखाउदा उल्टै घाटा खानु पर्ने अवस्था छ।

देशका विभिन्न शहरमा नाटक पुर्याउन राज्यले भूमिका खेल्नु पर्छ जस्तो लाग्छ ।हामीले मन्चन गर्ने धेरै नाटक  घर हरु बन्द हुँदै छन् ,यसले हामी  सबै  रंगकर्मी र नाटकलाई माया गर्ने हरुको लागि दुखको कुरा हो। अहिलेको यो नाटकको उर्भर भुमि उर्भर समय छ।

यो माहोल यो उर्जालाइ बचाउन हामी सबै लाग्नुपर्छ ।नाटक  जादुको छडी चलाए जस्तो तुरुन्तै  समाज परिबर्तन हुन्छ भन्ने होइन, नाटक को कथा र चरित्र ले समाज देखाउछ त्यसले देखाएको समाज र चरित्रलाइ दर्शकको मनले चुनुपर्छ नाटकले समाज वा व्यक्तिको अध्यारो पक्ष देखाएको छ भने दर्शकले त्यसमा  उज्यालो ल्याउनु बारे सोच्न सक्छन अनि समाज परिबर्तन हुन सक्छ  ।

गोकर्णेश्वर नगरपालिकामा नाटक घर छैन। त्यसैले नाटकघर  बनाउने तर्फ समेत सोच्नु जरुरि भएको छ। त्यहा नाटक देखाउने मात्र नभई नाटक को प्रशिक्षण दिने र  नाट्यकर्मी जन्माउन समेत मदत पुग्छ ।यस क्षेत्र मा  सम्भावना छ। यहाँ ठुल ठुला बिद्यालयहरु छन् ,अस्पतालहरु छन्, घना बस्ति रहेको छ । फेरी यो क्षेत्र पर्यटकीय क्षेत्र बौद्ध नजिकै रहेको छ ।त्यो सबै कुरा हेर्दा यहाँ नाटक घरको आवश्यकता देखिएको छ। यसको सम्भावना राम्रो रहेको छ। त्यसको लागि सबै जना लाग्नुपर्छ।

कपन अनलाइन :  २०७२ सालमा  भूकम्प गएको बेलामा नाटकको माध्यम बाट कसरि सहयोग गर्नु भयो ?

सालिकराम भण्डारी: हो २०७२ सालको महाभूकम्प पश्चात मनोसामाजिक बिषयमा नाटकको माध्यम बाट भूकम्प पिडितलाई हामीले सहयोग गरेका थियौ।

मैले भूकम्प पश्चात  भूकम्प प्रभावित जिल्लामा दुइ वर्ष लगातार नाटक देखाएका थियौ ।हामीले गोर्खा ,सिन्धुपाल्चोक, नुवाकोट ,काभ्रे मा झन्डै २ लाख मनिसहरुलाई नाटक देखायौ। सिन्धुपाल्चोक को ५० वटा  गाविसमा घुमे ,त्यतिबेला भूकम्प पछि मानिसहरु त्रासमा थिए ,आक्रान्त थिए ।

त्यतिबेला मानिसहरुलाई अब के गर्ने कसरी  जीवन यापन गर्ने? घर छैन ,आफन्त गुमाएका छन्, परिवार गुमाएका छन् ,बस्तुभाउ गुमाएका थिए ।

मनिसहरु  एकदमै निरास भएका थिए त्यस्तो अवस्था मा हामीले  सुरुमा नाटक देखायौ। नाटक  आफैमा एउटा थेरापी भयो ।नाटक देखाउजेल उनीहरुले घर परिवार श्रीमती छोराछोरी सबै कुरा बिर्सिए ।नाटकमा मात्र ध्यान दिए। त्यो नाटकले गर्दा खेरि बाच्ने एउटा उर्जा दियो। त्यो बाहेक हामीले समाजमा लुकेर बसेको मनोसामाजिक समस्यामा रहेका मानिसहरु धेरै भेट्यौ ।

लगभग  २० हजारको हाराहारीमा त्यस्ता मानिसहरुलाई काउन्सेलिंगको पाटो  त्यसपछि उपचार को पाटो मा लिएर गयौ ।त्यो चाहि मलाई लाग्छ म नाटकमा लागेर मैले सामाजिक उत्तरदायित्व अन्तर्गत त्यति काम गर्न पाए। यो भूकम्पको बेलामा जस्तो मलाई लाग्छ ।

कपन अनलाइन : कला क्षेत्रमा लाग्दै गर्दा कुनै त्यस्तो अविस्मरणीय क्षण सम्झनु पर्दा ?

सालिक राम भण्डारी :  हामी स्वप्न बगैचा ( गार्डेन अफ ड्रिम) मा नाटक गरेको थियौ ।त्यतिबेला नाटक बेलुका सुरु भएको थियो घर फर्किंदा खेरि रातको १२ बजेको थियो।

अनि मेरो घर त टाढा थियो। गाडीले पनि त्यति बेला ल्याईदिएन। अनि जोरपाटी देखि म हिडेर घर पुगेको छु ।घर पुग्दा खेरि,गोकर्ण देखि मेरो घर कति पाइला रहेछ भनेर मैले नापेको छु। त्यो नाप्दा ३६ सय ७४ पाइलामा म घर पुगे।

त्यो  अहिले पनि धेरै साथीहरुलाइ घर कहाँ ? भनेर सोध्छन अनि म मेरो घर गोकर्ण देखि ३६ सय ७४ पाइला माथि भनेर भन्ने गरेको छु ।यो मेरो लागि अविस्मरणीय क्षण जस्तो लाग्छ। त्यस्तै अर्को भनेको मैले नाटक गर्न थालेको २० वर्ष भयो।

सुरु सुरुमा नाटकमा पैसा थिएन। गुरु हरुले पनि नाटक गराउनु हुन्थ्यो ।तर पैसा दिनुहुदैन थियो । त्यति बेला हरियो माइक्रोले ६ रुपैया लिन्थ्यो। आफु संग पांच रुपैया हुन्थ्यो। अनि मन्दिर तिर जान्थ्यौ । कहा एक रुपैया चढाएको छ त्यो हेर्थ्यौ। अनि त्यो एक रुपैया पायौ भने माइक्रो चढेर घर आयो  नत्र प्राय जसो हिडेर नै आउने गर्थ्यौ। त्यो कुराहरु कहिले पनि बिर्सन सकिन्न ।

कपन अनलाइन : अन्त्यमा के भन्न चाहनु हुन्छ ?

सालिक राम भण्डारी : कलालाई माया गर्दिनुहोस। कलालाई पनि ठाउ दिनुहोस  भन्न चाहन्छु र कपन अनलाइनलाई  पनि  आफ्नो कुरा राख्ने मौका दिएकोमा धन्यबाद दिन चाहान्छु ।

 

तपाइँको प्रतिक्रिया ।