सम्पादकीय- मानव निर्मित संरचनाका कारण कपन प्राकृतिक जोखिममा
– केशवराज पाठक
विवेकपूर्ण विकास गर्न सकिएन भने विकास सदैव विनासको कारण बन्न सक्ने बताइन्छ । विश्वमा भएका धेरै विनासका कारक तत्व अविवेकपूर्ण विकास हो भन्ने कुरा प्रस्ट भैसकेको छ । विशेषगरेर प्रकृतिलाई हेपेर, पेलेर वा मासेर गरिने विकास कुनै न कुनै दिन सखाप हुने कुराको उदाहरण भर्खरै भारतको उत्तराखण्ड तथा नेपालको दार्चुलामा भएको प्राकृतिक विनाशले पनि देखाएको छ ।
मानिसले प्रकृतिलाई हेपेर आफ्ना लागि भनेर सिर्जना गर्ने संरचनाको ठूलो डंगुरमा हामी कपनवासी पनि छौं । विकास भनेको के हो भन्ने न्युनतम आधार पनि ठम्याउन नसक्दा आफ्ना बुद्धिले सिर्जित बाटाघाटा र घरहरुले कपनलाई प्राकृतिक स्वरुपबाट निकै टाढा पुर्याएको हो । करिब ५ हजार घर अनि ५० हजार जनसंख्या बोकेको आजको घरैघरको जंगल देखिने हाम्रो कपन, आजभन्दा १५ वर्ष अघिसम्म भने बारीका कल्यान र खेतका फाँट, खोला–खोल्सा र राजकुलोले भरिएको थियो । वर्षामा बारीमा मकै नै मकैको जंगल र खेतमा धानका गराहरु चारैतिर थियो । बारी भएको ठाउँमा मात्रै बस्ति थियो । धान फल्ने ठाउँमा घर थिएनन् ।
तर एक्कासी एकातिर मानिसमा जग्गा बेचेर धनी बन्ने होड जाग्यो अनि सँगै अर्कातिर गाउँबाट जसरी पनि सहरमा पस्ने र सानोठूलो जग्गा किनेर घर बनाउने लालसामा कपनको प्राकृति स्वरुप छिन्न भिन्न भयो । सस्तो बन्ने नाममा अत्यन्त सुक्ष्म रुपमा टुक्रिएका जग्गामा बनेका कुरुप लाग्ने हाम्रो घर र बस्तिले सँधै हाम्रो विवेकशून्य विकासको पटाक्षेप गरिरहेको छ यतिखेर । यही विवेकशून्य विकासको क्रममा हामीले कपनका कतिपय प्राकृतिक ढिस्काहरु त मास्यौं मास्यौं, खोलासमेत ढलमा परिणत गरिसकेको छौं । कपनमा रहेका साना–ठूला गरी ६ वटा खोला अब ढलसहितको बाटोमा परिणत भैसकेकोछ । कतिपय नयाँ आएका मानिसलाई यो ठाउँमा खोला थियो भन्दा उसले पत्याउँदैन अहिले ।
प्रकृति बचाउन भारतलगायत विश्वका कतिपय देशमा सन् २००० शुरूका वर्षमा चरमोत्कर्ष आवाज उठिरहेको बेला हामी कपनवासी भने खोला पुर्दै थियौं, ढिस्कोको बालुवा सुन बनाएर बेच्दै थियौं । यो विवेकहिन कृयाकलापको पक्षमा साक्षीको किनारमा सहिछाप गर्दै थिए तत्कालिन गाविसका मै हुँ भन्नेहरु, राजनीतिक दलका प्रमुखहरु अनि स्वनामधन्य समाजसेवीहरु ।
खोलालाई ढल बनाएर बाटो बनाउने अधिकार कस्ले दियो मानिसलाई ? यो प्रश्नको उत्तर कसले दिने हो थाहा छैन, तर ढलमा खोलो नअटाए के गर्ने भन्ने उत्तर पनि हामीसँग छैन । वर्षामा पर्ने पानीको आयतन लम्बियो भने हामी कपन क्षेत्रमा तथाकथित समुन्नत बसोबास गर्नेहरुले सानोतिनो उत्तरखण्ड वा दार्चुलाको दुःख भोग्न पर्छ नै । त्यतिखेर सराप्नका लागि पात्रसमेत हाम्रा सामु रहने छैन । त्यतिमात्र हैन अबको १५ वर्षपछि त्यसबेलाको सरकारले २१ सालको नापीमा जत्रो खोला थियो त्यसलाई ब्यँुताउने निर्णय गर्यो भने अहिले हालसाबिक गरेर खोलाको जग्गामा घर निर्माण गर्ने अनि मोटरेवल बाटो छ भन्ने हामीहरुको हालत के होला ?
कपनमा यतिखेर वातावरणका क्षेत्रमा भनेर केही कार्यक्रम भैरहेका छन् । वातावरण र प्रकृति एकअर्कामा अन्र्तसम्बन्धित विषय हुन् । वातावरण बचाउनु भनेको प्रकृति बचाउनु हो । वातावरण तथा प्रकृतिका क्षेत्रमा आजभन्दा १० वर्षअघिमात्र पनि यति सकारात्मक सोच आएको भए हामी प्राकृतिक कपनको उच्चतम विन्दुमा हुन्थ्यौं । त्यसकारण हाल कपन गाविसका सचिव लोमस आचार्य साथै कपनमा आफ्नो कार्यकालमा वातावरण तथा प्रकृतिका क्षेत्रमा केही गरौं भन्ने एमाओवादी, ने.का., एमाले र नेकपा–माओवादीका प्रमुखहरु धन्यवादका पात्र हुन् ।
अन्त्यमा, प्रकृति मानिसको बसमा छैन । प्रकृति मास्नेहरुलाई ढिलोचाँडो प्रकृतिले बदला लिएकै छ