नेपालका वास्तविक राष्ट्रिय विभुती योगी नरहरिनाथ : शम्भु प्रकृति

नेपालका वास्तविक राष्ट्रिय विभुती योगी नरहरिनाथ : शम्भु प्रकृति

कपन अनलाइन

काठमाण्डौ, बैशाख २७।

नेपालका राष्ट्रगुरूका रुपमा चर्चित र प्रख्यात इतिहास अन्वेषक, विचारक, दार्शनिक, सन्त, पत्रकार, सम्पादक, प्रकाशक, आशुकवी, योग तथा आयुर्वेद, राजनीति, परराष्टनीति, कुटनीति, शिक्षानीति, विकास निर्माण र वेदशास्त्रका ज्ञाता, १२९ कोटीहोम गर्ने ५७१ पुस्तकका लेखक, पैदलयात्री योगी नरहरिनाथको जन्म बि.स. १९७१ फाल्गुन १७ गतेका दिन आइतबार कर्णालीको कालिकोट जिल्ला लालुगाउँमा बुबा ललितसिंह थापा र आमा गौरीदेवीको माइलो सुपुत्रको रुपमा श्री बलवीर सिंह थापाको शुभ जन्म भएको थियो। मिति १९८१ सालदेखि जुम्ला चन्दननाथ मन्दिरका महन्त योगी छिप्रानाथज्यूबाट शिक्षादीक्षा लिएपछि उहाँको नाम योगी नरहरिनाथ रहन गएको थियो ।
सन्जोगले उहाँको जन्म भएको बर्ष नै नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बि.पी. कोइरालाको पनि जन्म भएको थियो भने कांग्रेसका अर्का नेता सुबर्ण शमशेरको जन्म पनि फाल्गुन १७ गते १९६७ सालमा भएको थियो । नेपाली कांग्रेस र यसका नेताहरूसङ्ग योगीजीको पार्टी कर्मविर महामण्डलको द्वन्द र संघर्ष २०१७ सालको राजा महेन्द्रको सैन्य कुसम्म चलेको थियो । योगी नरहरि नाथको पार्टी कर्मविर महामण्डलले नेपाली कांग्रेसको जङ्गल राष्ट्रियकरण लगायत कतिपय मुद्दाहरूमा असहमति जनाउँदै घोर बिरोध गरेको थियो भने गोरखामा ३÷४ हजारको समुहले हातहतियारसहित बडाहाकिमको कार्यालयमा आक्रमण गर्दा सुरक्षाकर्मीले गोली चलाउदा कैयौं ब्यक्तिहरूको हताहती भएको थियो । यी सबै घटनामा तत्कालीन दरवारको संरक्षण रहेको थियो । बहुदलीय र संसदीय ब्यवस्था असफल बनाउन पनि त्यस्ता घटनाहरू घटाइएका थिए ।
केही बिबादास्पद कुराहरू भएपनी योगीजीको योगदान नेपालको अस्तित्व जोगाउन र यहाँको सनातन मानव धर्म, संस्कृति, परम्परा र नेपालका १४२ जनजातिको धर्मसंस्कृति परम्परा इतिहास नै राष्ट्रियता हो भन्नुहुने उहाँको कथन वेद बिज्ञान हो भन्ने रहेको थियो ।उहाँले गायत्री मन्त्र, जनै महिला पुरुष सबैलाई दिनुहुन्थ्यो भने गौ संरक्षक भएर हिमालबाट आएका हिन्दु हुन् भन्दै १२०० बर्ष अघिको वेद खोजेर अध्ययन गर भन्नुहुन्थ्यो । भगवान शिवकै धारामा अघि बढी गोरखनाथको प्रेरणाबाट नेपाल एकीकरणलाई पृथ्वीनारायण शाहले अगाडि बढाएजस्तै योगीजीले पनि बिशाल नेपालको बारेमा व्यापक खोज–अन्वेषण गर्दै ह्यामिल्टनको पुर्वमा ब्रहपुत्रदेखी पश्चिम्मा रावी नदिसम्मको बृहत नेपालको नक्सालाई आमरुपमा प्रचलनमा ल्याएर नेपालीलाई आफ्नो इतिहास चिनाउनुभएको थियो ।
२०५४ सालमा उहाँ लगायत ८ जना नेपालीहरू मिलेर नेपालको सर्बोच्च अदालतमा विशाल नेपालको भुमि फिर्ता ल्याउन रिट निबेदन दायर गर्नुभएको थियो जसले नेपाल र भारतमै हलचल मच्चाएको थियो । हाल फणिन्द्र नेपाल र डा.सुरेन्द्र ढकालहरूको बिशाल नेपालसम्बन्धी अभियानहरू यसैमा आधारित छन् । उहाँकै महाअभियानले नेपालीहरूलाई आफ्नो पहिचान र अधिकार संरक्षणमा सचेत र जागृत तुल्याएकै हो भने योगीजी नयाँ शिक्षाको घोर बिरोधी र देशमा छुवाछुत अन्त्य गर्न लागिपर्नु भएको थियो ।
नेपालको अस्मिता जोगाउन सदा लागिपर्नुभएको उहाँकै राष्ट्रवादी चिन्तन, वैचारिक प्रेरणाबाट नेपाल राष्टकै गरिमा र महत्ता झल्कन्छ । राजतन्त्रलाई नेपालको निर्माण, स्थिरता र एकताको प्रतीक र अपरिहार्य ठान्दै धर्म–संस्कृति र वैदिक सनातनी परम्पराको रक्षा र संरक्षणको लागि उहाँ आजिवन समर्पित रहनुभयो। नेपालको सबै पक्षहरू आर्थिक, सामाजिक, धार्मिक, शैक्षिक, साँस्कृतिकतर्फ योगदान गर्नुहुने उहाँको राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र सङ्ग राम्रो सम्बन्ध रहेको थियो। उहाँको नाममा पशुपतिको मृगस्थलीमा उहाँको समाधीस्थलमा योगी नरहरिनाथ पिठ र योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद सक्रिय रहेको छ । उहाँको योगदानलाई हेर्दा नेपालको वास्तविक राष्ट्रिय बिभुती भन्नु उपयुक्त देखिन्छ । उहाँ ब्रम्हलिन र समाधिस्थ हुनुभएको २०५९ साल फाल्गुन १३ गतेका दिन पशुपति मृगस्थलीमा हो, जहाँ उहाँको आश्रम रहेको छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।