भोट माग्दै कलाकार

भोट माग्दै कलाकार
काठमाडौं । देश संविधानसभाको निर्वाचनतर्फ उन्मुख भएपछि मुलुकमा चुनावी माहौल विस्तारै बढ्दै गएको छ । यो माहौललाई नजिकबाट नियालेका नेपाली फिल्मका महानायक राजेश हमाल र गायिका कोमल वली जनताको घरदैलोमा दुई महिना पछि पुगेर आफ्ना लागि भोट माग्न थाल्ने भएका छन् । अभिनय र गायनमा व्यस्त यी दुई सेलीब्रेटीले आफ्नो पक्षमा बहुमत जुटाउन गरेको चुनावी अभियान केबल रिलमा मात्र सीमित हुनेछ, जुन रियलमा रहँदैन् ।
बीएन फिल्मस् प्रालिको व्यानरमा युवा निर्देशक बसन्त निरौलाको निर्देशनमा1804 तयार भएको फिल्म ‘राजनीति’ मा नेताका रूपमा देखिएका यी दुई कलाकारले भदौ २८ देखि देशका प्रमुख सहरसहित विभिन्न स्थानका दर्शकमाझ भोट माग्दै आउनेछन् । समय–समयमा राजनीतिक विषयमा टिप्पणी गर्र्ने हमाल र केही समय अघि सद्भावना पार्टीमा प्रवेश गर्ने तयारीको चर्चा सुनिएकी वली पर्दामा नेताका रूपमा देखिएका हुन् ।
फिल्ममा हमालकी श्रीमतिको भूमिकामा अभिनय गरेकी अभिनेत्री कोमलले फिल्ममा आफ्नो भूमिका सशक्त भएको बताईन् । ‘समाजमा पुरुषले धेरै राजनीति गरे, अब महिला पनि राजनीतिमा एकजुट हुनुपर्छ भन्ने महिला सशक्तिकरणको सवालमा आवाज उठाउने भूमिकामा मैले अभिनय गरेकी छु,’ विभिन्न लोकप्रिय गीतकी श्रष्टा कोमलले भनिन्,‘फिल्ममा शुरुमा म हमालजीको घरमा बस्ने श्रीमतिको भूमिकामा मात्र हुन्छु, तर पनि उहाँ नभएपछि उहाँको स्थानमा पुग्ने नेतृको भूमिकामा देखिएकी छु ।’
प्राय आफ्नै गीतको म्युजिक भिडियोमा देखिईरहने वलीले फिल्मी अभिनयलाई चुनौतिपूर्ण मानिन् । ‘अभिनयको बारेमा कुनै ज्ञान नै थिएन, कतिसम्म रिसाउने, कतिसम्म खुशी हुने कुरा सबै सीमित हुँदो रहेछ, त्यसकारण पनि फिल्ममा वनावटी शैलीको बोली आउँदो रहेछ,’ उनले थपिन्,‘मलाई लाग्छ यो फिल्म सुपरहिट हुनेछ, किनकी म जहाँ पनि कार्यक्रममा जाँदा यो फिल्मकै बारेमा चर्चा सुनेकी छु ।’ उनले फिल्म ‘दबदबा’को एक गीतमा अभिनय गरेकी छन् । वलीले अभिनयलाई करियर बनाउनेतर्फ लक्षित गर्दै विभिन्न फिल्मबाट अभिनयको अफर आईरहेको बताउँदै समयले साथ दिएमा आफुले फिल्म बनाउने सोच बनाएको खुलाईन् ।
निर्देशक निरौलाले फिल्मले वर्तमान नेपालको राजनैतिक अवस्थालाई चित्रण गर्ने जानकारी दिए । दीपक सुवेदी र दीपककुमार भट्टराई निर्माता रहेको फिल्म दीपककुमार भट्टराई, दीपक सुवेदी र पवित्रा आचार्यले पनि अभिनय गरेका छन् । अर्जुन पोखरेलको संगीत र अष्ट महर्जनको द्वन्द्व रहेको फिल्मलाई शिव ढकालले खिचेका छन् ।
तपाइँको प्रतिक्रिया ।