मेरो वर्दिमा डोल्पामा भारी बोक्नेको पसिना परेको छ, मैले कर्तव्यपरायणतामा चुक्नु हुन्न – इन्स्पेक्टर नवराज ढुंगाना

DSC_0645प्रहरी निरिक्षक नवराज ढुंगाना, पछिल्ला दिनमा कपनमा सबैभन्दा प्रशंसा गरिने व्यक्तिको रुपमा लिइन्छ ।कपनको शान्तिसुरक्षा पहिेलेभन्दा राम्रो देखिएपछि निरिक्षक नवराज ढुंगानाको प्रशंसा बढेको हो ।  विद्यार्थी जीवनदेखि नै   मेहनेति तथा विलक्षण स्वभावका  ढुंगानाले ०६४ सालमा प्रहरी सेवामा प्रवेश गरेका हुन् । उनको स्थायी घर उदयपुर, रिस्कु गाविस वडा नंं.४ मा हो । मिनभवनबाट एमविस फस्ट डिभिजनमा पास गरेका ढुंगानाले ०६८ मंसिरदेखि कपनमा काजमा कार्यालय प्रमुख भएर काम गरिरहेका छन् । इमान्दारिता र कर्तव्यपरायणतालाई जीवनको सिद्धान्त मान्ने निरक्षक ढुंगनासँग कपन अनलाइनले करिब २ हप्ता अघि उनकै कार्यकक्षमा कपन र प्रहरी क्षेत्रका बारेमामा विशेष अन्र्तवार्ता गरेको थियो । त्यही अन्र्तवार्ता कपन अनलाइनका पाठकहरुलाई पस्किएका छौं ।

-केशव पाठक, सागर बैजु

  • कपन अनलाइनः प्रहरी प्रमुख भएर कुनै नयाँ ठाउँमा गएपछि प्रहरी प्रमुखले शान्ति सुरक्षाको बारेमा खेल्ने भूमिका कस्तो हुन्छ ?

नवराज ढुंगाना ः जुनसुकै क्षेत्रको इन्चार्ज हुनु एउटा चुनौतिपूर्ण कार्य हो । आफू र आफू माताहातको स्टाफहरुलाई चुस्त र दुरुस्त राख्दै सामान्य नागरिकलाई सुरक्षाको अनुभुति महशुस गराउने कार्य प्रहरी प्रमुखको हो । कपनको सिलसिलामा भन्नुपर्दा क्षेत्र ठूलो तथा अधिक जनसंख्या भएको हुँदा सिमित प्रहरी टोलीलाई मोविलाइजेसन गर्नु वा गराउनु भनेको निकै नै चुनौतिपूर्ण काम हो । राजधानी भएकाले देशभरीका विविध प्रकृतिका मानिसहरु बसोबासका लागि आएका हुन्छन् । कसैले कसैलाई चिन्न सकिदैन । यस्तो परिवेशमा नयाँ प्रहरीप्रमुख भएर काम गर्दा स्थानीय संघ संस्था, राजनीतिक दललगायत सामाजिक क्षेत्रसँग गरिने सहकार्य सबैभन्दा ठूलो विषय हो । प्रहरी प्रमुखले स्थानीय सामाजिक क्षेत्रसँग राख्ने समन्वयले त्यहाँको शान्तिसुरक्षा राम्रो वा नराम्रो कस्तो हुने भन्ने कुराको निर्णय गर्दछ ।

  • कपन अनलाइनः हाम्रो देशमा एउटा प्रमुख फेरिएर अर्काे प्रमुख प्रहरी कार्यालयमा आउँदा त्यहाँको सम्पूर्ण शान्तिसुरक्षामा नै ठूलो परिवर्तन देखिने गरिन्छ । राम्रो छ भने नराम्रो वा नराम्रो छ भने राम्रो हुन सक्ने वातावरण बन्ने गरेको छ । प्रहरीजस्तो जनताको सुरक्षा दस्तामा यस्ता कुरा आउनुलाई तपाई के भन्नु हुन्छ ?

नवराज ढुंगाना ः अरुले के गरे भन्ने बारेमा म कुनै महत्व दिन्न । मेरो आफ्नो जीवनको सिद्धान्त चाहिँ इमान्दारिता र मेहनतले काम गर्नुपर्छ भन्ने हो । प्रहरी भनेको चेन अफ कमाण्डमा चलेको संगठन हो । आफू माताहतका सबैलाई दुरुस्त राख्नु र आफू स्वयम् भने मोभिलाइज् भइयो भने सक्रियता बढ्छ र शान्ति सुरक्षा राम्रो हुने गर्दछ । मूख्य कुरा आफू र आफू माताहतका लागि चुस्त र दुरुस्त बनाउनु नै हो । यसका साथमा जनसम्पर्कको कुरा पनि महत्वपूर्ण हुन आउँछ । जादुको छडिजस्तो कोही आउने वित्तिकै केही भैहाल्ने वा कोही आउने बित्तिकै विग्रिहाल्ने भन्ने कुरा हुँदैन । अपराधसुन्य समाज त कहिँ पनि हँुदैन । प्रहरीले संभावित घटना न्युनिकरण गर्ने र भएका घटनालाई अनुसन्धान गर्ने हो । सुचनामा आधारित प्रहरी क्रियाकलापका आधारमा जनसम्पर्कलाई बढि ध्यान दिइयो भने शान्तिसुरक्षा अलि मजबुत हुने गर्दछ ।

  • DSC_0646कपन अनलाइनः कपनमा तपाईं आउँदा र अहिलेको शान्तिसुरक्षाको अवस्था तपाईंको नजरमा कस्तो छ ?

नवराज ढुंगाना ः पहिलेभन्दा सुध्रिएको जस्तोचाहिँ लाग्छ । पहिलो जुन किसिमको मानिसको भीड देखिन्थ्यो त्यो भीड अहिले कम भएको छ । प्रहरी कार्यालयमा मानिसको भीड कम भयो भने शान्ति सुरक्षा केही सबल भएको मान्ने गरिन्छ । नियमित चेकिङ गरिरहेका छौं । त्यसैगरी ट्राफिकको समस्या पनि कम भएको छ । चेकिङको कामले आपराधिक गतिविधिमा संलग्न भएकाहरुको मनोबल कम भएको महशुस भएको छ । पहिला सवारी साधन नभएकाले गस्ति गर्न केही असजिलो भएको थियो । ३ महिना त म आफै मोटरसाइकलमा गस्ति गर्न हिँडे । अहिले गाडि भएकाले पनि गस्ति गर्न सजिलो भएको छ ।

  • कपन अनलाइन ः पहिला गाडि नभएकाले शान्ति सुरक्षा अलि कमजोर थियो र अहिले गाडि भएकोले शान्ति सुरक्षा राम्रो भएको भन्न खोज्नु भएको हो ?

नवराज ढुंगाना ः गाडिले सफोर्टिक भूमिका निर्वाह गरेको हो । गाडिले मात्र भन्न खोजेको चाहिँ होइन ।

  • कपन अनलाइन ः कपन प्रहरी प्रभागको प्रमुखको नाताले कपनमा शान्ति सुरक्षामा असर गर्ने यतिखेरको सबैभन्दा ठूलो समस्या के छ जस्तो लाग्छ ?

नवराज ढुंगाना ः कपनमा जुवातास, अवैध वेश्यावृत्तिजस्ता केही गम्भीर समस्या यहाँ थिए । ती कतिपय अवस्थामा कमजोर भएको छ । अबेरसम्म खुल्ने भट्टि पनि समस्याका केन्द्र थिए । यी क्षेत्रमा म आएदेखि नै केही गम्भिरताका साथ लागेको र यहाँका जनताको सहयोग भएकाले समस्या न्युनिकरणमा सहायता मिलेको छ । यतिखेर ठूलो समस्या भने पनि सानो समस्या भने पनि झैझगडाका घटना अलि देखिने गरेको छ । झैझगडा पनि घरयासी र लेनदेनका विषयमा बढि हुने गरेको छ ।

  • DSC_0645कपन अनलाइन ः कुनै समस्या प्रहरी कार्यालयमा आयो भने त्यो समस्यालाई दुई पक्षीय सहमति गराउनु र कानुनी प्रकृयामा जानु मध्ये प्रहरीको ड्युटीचाहिँ कुन हो ? आमरुपमा तपाईहरु सहमतिमा जोड दिइरहेको देखिनुहुन्छ । 

नवराज ढुंगाना ः हामी प्रहरी भनेको कानुन कार्यान्वयन गर्न निकाय हो । यसमा कुनै दुईमत हुन सक्दैन । प्रहरीले जहिले पनि पिडितको मनासय हेर्छाैं । उसले यो समस्याले कसरी लिइरहेको छ त्यसबाट हामीले अघिल्लो स्टेप चाल्छौं । पिडितले गरेको जाहेरी अनुसार हामीले मुद्धा अगाडि बढाउने हो । कहिलेकाहिँ व्यवहारिकता हेरेर सहमति गरिएका हुन सक्छन् तर त्यो पनि पिडितको मनसाय अनुरुप हुने गर्छ । पिडितले न्याय महशुस गर्यो भने मात्र यस्ता सहमति हुन सक्छ ।

  • कपन अनलाइन ः प्रहरी चौकीमा प्रायः मुद्धामा प्रहरीहरु मिल्नुस् सहमतिमा आउनुस् भन्ने कुरा बढि गरिरहेको पाइन्छ । कपनमा मात्र हैन जहाँतहिँ सहमतिलाई बढि जोड दिइएको पाइन्छ । यो व्यवहारिक बन्न खोजेको मात्र हो त ?

नवराज ढुंगाना ः जघन्य अपराधको हकमा यस्तो सहमतिको कुरा हुने गर्दैन । ससाना झैझगडा जस्ता विषयमा चाहिँ पूर्नस्थापित न्यायको सिद्धान्त अनुसार पिडितको मनसाय हेरेर व्यहारिक निर्णय हुन सक्छन् ।

  • कपन अनलाइनः हाम्रो कपनमा चाहिँ सामान्तया सहमति बढि हुने गर्दछ कि कानुनी प्रकृया जाने काम बढि हुन्छ ? 

नवराज ढुंगना ः मेरो कार्यकालमा ठूला केस धेरै आएको छैन । ससाना झैझगडा, आपसी विवाद, घरायासी समस्या नै बढि आएको छ । श्रीमतीले मलाई श्रीमान्ले रक्सि खाएर पिट्यो भनेर उजुरी गर्छन् । श्रीमान्लाई यहाँ ल्याइन्छ । एकरात राखिन्छ । भोलिपल्ट उनीहरु मिल्छन् । यस्तै समस्या बढि आउँछ । यस्ता समस्यामा सामान्यतया सहमति नै हुने गर्दछ । पिडितको मनासयलाई संबोधन गरेर मिल्ने वातावरण मिलाइदिएका घटना धेरै छन् । ठूला लुटपाटका केस, ज्यान मार्ने केस, बलात्कार गर्ने केस जस्ता जटिल विषयमा भने कुनै पनि हालतमा हामी सहमति खोज्दैनौ । कानुनी प्रकृयामा नै मुद्धालाई अगाडि बढाउँछौं ।

  • DSC_0628कपन अनलाइन ः यसरी एउटा सानो प्रभागमा काम गरिरहँदा स्थानीय राजनीतिक दवाब कत्तिको भोग्नु पर्छ ? यो मेरो मान्छे हो भनेर स्थानीय नेताहरु कत्तिको चौकी धाउने गर्छन् ?

नवराज ढुंगाना ः महशुस हुने गरी मैले चाहिँ यहाँका स्थानीय राजनीतिक कार्यकर्ता प्रभाग आएको मैले पाएको छैन । कुनै कुनै मुद्धामा बुझ्ने मनासयले आएको पाइन्छ । तर प्रहरीको निर्णयमा नै समस्या हुने गरी कुनै राजनीतिक दलले दखले दिएको मैले पाएको छैन । हस्तछेप भएको महशुस भएको छैन ।

 

  • कपन अनलाइन ः महिला हिंसाका बारेमा अहिले जताततै चर्चा हुने गरेको छ । देशभरी महिला हिंसका घटना आइरहेका छन् । कपनमा महिला हिंसाको बारेमा तपाईहरुले के अध्ययन गर्नु भएको छ ?

नवराज ढुंगाना ः महिला हिंसाका केही कुरा हाम्रो कपनमा पनि आउने गर्छन् । तर कतिपय त केस नै झुठो हुने गरेको पनि छ । महिला हिंसाको कुरा गरिरहँदा यहाँ पुरुष हिंसा पनि भएको छ । भर्खरै कपनमा बसोबास गर्ने श्रीमतीबाट आफ्नो श्रीमान्लाई केटाहरु लगाएर मारेको घटना चर्चित भएको थियो । महिला वा पुरुष होस् हिंसा आफैमा जघन्य अपराध हो । अपराध नियन्त्रणमा हामीले काखापाखा नगरी आफ्नो क्षमताले भ्याएको काम कारवाहीमा निरन्तर बढिरहेका छौं ।

 

  • कपन अनलाइन ः विशेष गरेर महिलाहरु घरेलु हिंसाका सिकार भएका घटना सार्वजनिक भइरहेका छन् । यसरी घरेलु हिंसा अन्त्यका लागि यहाँहरुले केही कार्यक्रम वा कदम चाल्नु भएको छ ? 

नवराज ढुंगाना ः समस्या पर्ने वित्तिकै हामीलाई थाहा होस् भनेर हामीले पब्लिक रिलेसनलाई विशेष जोड दिएका छौं । घरमै गएर सम्झाइबुझाई गरेका घटनाहरु पनि छन् । स्थानीय संघसंस्थाहरुसँग मिलेर कार्यक्रममा सहभागि भएका छौं । बृहत र्याली पनि गर्यौं । विभिन्न स्कूलहरुमा गएर मैले क्लास पनि लिएको छु । बेलाबेलामा माइकिङ कार्यक्रम गरेका छौं । कुनैकुनै ठाउँमा बस्ति सुरक्षा समिति पनि बनाएका छौं । प्रहरीमात्रको प्रयास सम्पूर्णमा पूर्ण हुन सक्दैन समाज र प्रहरीको हातेमालोले नै हामी सुरक्षित र शान्त हुने हो ।

 

  • कपन अनलाइनः तपाई यस प्रभागको प्रमुख भएर आएपछि कपनको शान्ति सुरक्षा राम्रो छ । सबैले तपाईको प्रशंसा गरेका छन् । यो एउटा संयोग मात्रै हो कि केही विशेष तपाईंले गर्नु भयो ? 

नवराज ढुंगाना ः कार्यालय प्रमुखको मुख्य दायित्व भनेको इमान्दारिता, मेहनत र जनसम्पर्क हो । मैले यही तीन चिजलाई अधिकतम उपयोग गरेको छु । पुलिस मोर एक्टिभ क्रिमिनल मोर प्यासिभ भन्ने प्रहरी सिद्धान्तलाई बढि लागु गरेको छु । प्रहरीको मुल्यांकन प्रहरीले नै गर्नु भन्दा पनि जनताले महशुस गर्ने हो । अनुभूति दिलाउने प्रयासमा म तल्लिन छु ।

 

  • DSC_0643कपन अनलाइन ः तपाईंले पटक पटक जनसम्पर्कको कुरा गरिरहनु भएको छ । जनसम्पर्क कसरी गरिरहनु भएको छ ? यसको संयन्त्र कस्तो हुन्छ ? 

नवराज ढुंगाना ः यसमा अन्र्तक्रियामा हामी विशेष जोड दिन्छौं । विद्यालयहरुमा पुगिरहेका छौं । संघसंस्थाहरुसँग बसेका छौं । अहिले संचारको जमाना छ । मेरो मोवाइलमा नै फोन गर्ने सुविधा प्रदान गरेको छु । सही सूचनाका आधारमा हामी कपनका हरेक तह र तप्काका मानिसलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने प्रयासमा छौं । सही सूचनाले घटना ठूलो हुन पाउँदैन प्रहरी तुरुन्त पुग्छ र त्यसलाई न्युनिकरण गर्छ ।

 

  • कपन अनलाइन ः यसरी काम गरिरहनु भएको अवस्थामा पनि तपाईंलाई अझ केही भैदिएको भए अझै राम्रो गर्न सकिन्थ्यो कि जस्तो लाग्ने विषय केही छ ? 

नवराज ढुंगाना ः प्रहरी जनशक्ति कपनको क्षेत्र र जनसंख्याको आधारमा अलि कम छ । कहिले काहिँ सबै ठाउँमा चाहे जसरी कभर सकिरहेको हुँदैन । माताहात इकाई जति धेरै भयो काम गर्न त्यति सजिलो हुने भएकोले अझै दुई ठाउँ प्रहरी बिट राख्न सकियो भने प्रहरीको उपस्थिति सबै ठाउँमा देखिन्थ्यो भन्ने लाग्छ । जनशक्ति कम भनेर आफ्नो जिम्मेवारी पन्छ्याउनु पनि हुन्न ।

 

  • कपन अनलाइन ः नेपालमा हुने अधिकांश चोरीका घटनामा प्रहरीको संलग्नता हुने गरेको भनेर पछिल्लो समयमा एउटा तथ्यांक के आएको बाहिर आएको छ । यस्तो अवस्थामा व्यक्तिगतरुपमा नवराज ढुंगाना राम्रो हुँदैमा उसको माताहातका सबै स्टाफ राम्रा हुन्छन् भन्ने केही छैन । कसरी समन्वय गरिरहनु भएको छ ? 

नवराज ढुंगाना ः कहिलेकाहिँ बाबुले छोरीलाई मार्यो भन्ने घटना सुन्न पाइन्छ । तर सबै बाबुले छोरीको हत्या गर्दैन । चोरी घटनालाई वा केही नराम्रा कृयाकलापमा प्रहरी संलग्नतालाई म यसमा जोड्न चाहन्छु । कोही व्यक्ति खराब हुन सक्छ तर संगठन खराब होइन । कार्यालय प्रमुखले आफ्ना स्टाफहरुलाई नियमित व्रिफिङ, अनुगमन र अन्र्तक्रिया गरेर ग्याप हटाएर जाने प्रयास गर्छु म । म स्टाफहरुको अनुगमन गरिरहेको हुन्छु । उनीहरु कहाँ जान्छन्, के गर्छन् भन्ने कुरामा म सजग र सचेत अनुगमन गर्छु ।

 

  • कपन अनलाइन ः नयाँ प्रहरी प्रमुख आएपछि उसको सबैभन्दा पहिलो काम भनेको आफ्नो इलाकामा रहेका गुण्डा वा डन भनिनेहरुलाई प्रहरी कार्यालयमा बोलाइन्छ र उनीहरुसँग राम्रो सम्बन्ध विस्तार गरिन्छ । र प्रहरी कार्यालयचाहिँ यी प्रवृत्तिका मनिसहरुले चलाइरहेका हुन्छन् । यस्ता प्रवृत्तिका मानिसहरुलाई बिभिन्न दशैं, तिहारजस्ता अवसरमा कपन प्रभागमै भोज पार्टी गरेर खुवाइएका दृश्य पनि यस अघि देख्न पाइएको हो । यो विषयमा तपाईको हिस्सा वा भावना कस्तो छ ? 

नवराज ढुंगाना ः विगतमा के हुन्थ्यो मलाई थाहा भएन । दशैं तिहारमा मैलेचाहिँ आफ्ना स्टाफहरुसँग बसेर मासुको झोल र भात खाएँ । यसबाट हामीबीचको सम्बन्ध फराकिलो हुन्छ भन्ने मेरो भावना छ । जहाँ सम्म डनको कुरा छ । डन हामीले लगाइदिएको ट्याग हो । यी पनि हाम्रो समाजका मानिस हुन् । त्यसकारण को डनभन्दा पनि कानुन मिच्ने वा उलंघन गर्नेहरुलाई हामीले कानुनी दायरामा ल्याउने हो यसमा काखापाखा नहोस् भन्ने कुरामा म सदैव सचेत छु ।

 

  • कपन अनलाइन ः जसले समाजलाई कुनै कुनै विषयमा निरन्तर दुख दिइरहेको हुन्छ, त्यसलाई डन भनिने हो । डनहरु मन्त्रिका पिए हुने वा डनहरु विभिन्न पार्टीका माथिल्ला श्रेणीका नेता हुने हाम्रो समाजमा यो प्रवृतिका मानिसहरु कपनमा पनि छन् । शब्दावलीमा डन भनिए पनि वा गुण्डा भनिए पनि यी आपराधिक मानसिकताका धरोहर हुन् । हिजोको दिनमा र आज तपाई हुँदा पनि कपन प्रहरी प्रभागमा यस्ता मानिसहरु देखिइरन्छन् । कहिले काहिँ तपाईहरुले भन्ने शान्ति सुरक्षाको प्रत्याभूतिचाहिँ खोक्रो जस्तो लाग्छ हामीलाई । के भन्नु हुन्छ ? 

नवराज ढुंगाना ः मेरो आफ्नो सिद्धान्त छ । मलाई के लाग्छ भने मैले लगाउने वर्दिमा डोल्पामा भारी बोक्ने भरियाको पनि पसिना छ । यी समाजका पिछडिएका वर्गको पसिनाले मलाई पालिरहेको छ भन्ने कुरा मेरो दिमागमा सदैव खेलीरहेको हुन्छ । प्रहरी कार्यालय भएपछि हरेक प्रवृत्तिका मानिस आइपुग्नु अस्वभाविक हुँदैन । तर सामाजिक रुपमा अन्याय गर्नेहरुलाई हामीले उत्साहित बनाएका छैनौ । डन भनिएकालाई राम्रो व्यवहार र पिडितलाई नराम्रो व्यवहार गरियो भने मेरो सिद्धान्त कमजोर हुन्छ । प्रहरी सिद्धान्त भनेर पिडितलाई न्याय दिलाउनु हो । कहिले काहिँ बोलचाल जोसुकै सँग हुनसक्छ । बोलचाललाई हिमचिम भन्न मिल्दैन । हाम्रो कर्तव्यपरायणतालाई सामन्यिकरण गरेको जस्तो हुन्छ । स्पष्ट पहिचान भएमा वा उजुरी भएमा त्यो जस्तो सुकै डन होस् वा जस्तो सुकै ठूला मानिसले उसलाई सुरक्षा दिएको होस् त्यस्तालाई कानुनको कठघरामा ल्याउन म कुनै कसर छोड्दिन । म प्रतिवद्धता गर्न चाहन्छु ।

 

  • कपन अनलाइन ः तपाईं काजमा भए पनि कपन आउनु भएको १ वर्ष नाघिसकेको छ । कस्तो लाग्यो कपन तपाईलाई ? 

नवराज ढुंगाना ः साह्रै ठूलो बस्ति भएको कपनमा विभिन्न ठाउँबाट आएको विभिन्न स्वभाव र चरित्रका मानिस भएको क्षेत्र हो । यहाँ राम्रा मानिस धेरै हुनुहुन्छ । खराब मानिसहरु पनि छन् यहाँ । प्रहरीलाई माया गर्ने स्वभाव यहाँका जनतामा रहेको मैले पाएँ । म बसुन्जेल यहाँ अझै केही राम्रो गर्न सकुँ भन्ने भाव सँधै ममा रहिरहन्छ । कपनवासीसँग म खुशी छु ।

 

तपाइँको प्रतिक्रिया ।