रिलायन्स एजुकेसन नेटवर्कले रिलायन्स पब्लिक RPMUN को दशौँ संस्करण आयोजना गर्ने
कपन अनलाइन
काठमाडौँ, साउन २८।
रिलायन्स एजुकेसन नेटवर्कले रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसङ्घीय अभ्यास (आरपिमुन) को दशौँ संस्करण आयोजना गर्ने भएको छ । मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी गराएको हो ।कार्यक्रम आगामी श्रावण २९ गतेदेखि ३१ गतेसम्म बुढानीलकण्ठ रिलायन्स पब्लिक स्कुलको प्राङ्गणमा हुने जनाइएको छ ।
सन् २०१५ देखि निरन्तर सञ्चालन हुँदै आएको यो वार्षिक सम्मेलनमा देशका विभिन्न भागका १३ देखि १८ वर्ष उमेर समूहका २०० विद्यार्थी सहभागी भई कूटनीतिक क्षमता, नेतृत्व विकास र अनुसन्धान सीप अभिवृद्धिको अभ्यास गर्नेछन्।
विश्वका ज्वलन्त विषयहरू—जलवायु परिवर्तन, कृत्रिम बौद्धिकताले सक्षम हतियारको नियमन, ऐतिहासिक कन्स्ट्यान्टिनोपलको पतन, भ्रष्टाचार निवारण, जनावरका अङ्ग प्रत्यारोपणका जोखिम, दिगो विकास लक्ष्यमा आर्थिक–सामाजिक समावेशिताको भूमिका तथा सशस्त्र द्वन्द्व र शरणार्थी अधिकार संरक्षण—जस्ता विषयमा सात वटा फरक समिति मार्फत छलफल र समस्या समाधानको अभ्यास गरिनेछ।
सम्मेलनलाई संयुक्त राष्ट्रसंघ नेपालले रणनीतिक साझेदारका रूपमा सहयोग गर्नेछ। उद्घाटन समारोहमा संयुक्त राष्ट्रसंघका पूर्व आवासीय समन्वयक तथा आवासीय प्रतिनिधि विश्व वीर पराजुलीले विशेष सम्बोधन गर्नेछन्। यसपटक काठमाडौँ उपत्यका भित्रका १८ र रुपन्देही, चितवन, धनुषा लगायतका जिल्लाका गरी २२ वटा विद्यालय तथा क्याम्पसका विद्यार्थी सहभागी हुनेछन्।
सहभागीहरू निःशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा समिति (DISEC), सामाजिक, मानवतावादी तथा सांस्कृतिक समिति (SOCHUM), ऐतिहासिक संकट समिति (HCC), संघीय संसद् नेपाल (FPN), विश्व स्वास्थ्य संगठन (WHO), अन्तर्राष्ट्रिय प्रेस, संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP) र संयुक्त राष्ट्र मानव अधिकार परिषद् (UNHRC) गरी ७ वटा र थप एउटा संघीय संसद् नेपाल (FPN) गरी ८ वटा समितिमा कार्यरत हुनेछन्।
रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रविन्द्र जंग थापाले शिक्षण संस्थाका रूपमा आफूहरूले पढ्ने र पढाउने काम मात्रै भन्दा पनि चिन्तन गर्ने र नयाँ कामहरू पनि गर्ने गर्दै आएको बताए। संसारलाई शान्त र सुन्दर ठाउँ बनाउने संयुक्त राष्ट्रसङ्घको प्रयास जस्तै उद्देश्य कार्यक्रमले पनि बोकेको उनले बताए। अन्तर्राष्ट्रिय स्तरमा समेत रिलायन्सको सहभागिता पुगिसकेको उल्लेख गर्दै उनले अब ती देशहरू बाट समेत प्रतिनिधिहरू ल्याउने प्रयास भइरहेकोबताएका छन ।
उद्घाटन कार्यक्रम श्रावण २९ गते बिहीबार बिहान १०ः३० बजे र समापन समारोह श्रावण ३१ गते शनिवार दिउँसो ३ः०० बजे रिलायन्स पब्लिक स्कुलको सभाहलमा हुनेछ।
