उम्मेदवार घोषणाको अन्तिम चरणमा वुनपा कांग्रेस, दावेदारहरु पनि अन्तिम प्रयासमा

कपन अनलाइन, काठमाडौँ । बुनपा तथा क्षेत्र नं. ४ मा उम्मेदवार घोषणको अन्तिमचरणमा छ नेपाली कांग्रेस । वुनपा केही वडाबाहेक सम्पूर्ण वडाध्यक्ष तथा वडासदस्यसहित मेयर उपमेयरमा सर्वसम्मत हुन नसक्दा हरेक पदमा आधा दर्जन व्यक्तिहरुले आकांक्षा राखेका छन् । आकांक्षा राखेकाहरु अधिकांशको दावी प्रभावकारी देखिएकाले नेतृत्वलाई चयन गर्न गारो परेको बताइएको छ ।

 
वुनपा मेयरका लागि क्षेत्रीय सभापति राजु श्रेष्ठको नाम अगाडि आएपछि बाँकी आकांक्षीहरुले  बेखुशी देखाएका छन् । क्षेत्रीय सभापतिले सर्टकटमा आफ्नो नामलाई अगाडि बढाएको आरोप लागेको छ । अन्य आकांक्षीको भावनालाई थोरै पनि सहानुभूति नदेखाएको आरोप लगाउँदै उनीहरु बेखुशी भएका हुन् । २ दिनभित्र वुनपा मेयरसहित सबै पदमा उम्मेदवारहरुको नाम पार्टीले दिने भएकाले आकांक्षीहरु यतिखेर आफ्नो दावीलाई मजबुती दिनेतिर अग्रसर रहेका छन् ।

 
वुनपामा मेयर पदका दावेदारमध्ये एक भोला लामिछाने मेयरजस्तो महत्वपूर्ण पदको उम्मेदवार बन्नका लागि विकासप्रेम वा विकासमा उसको लगावलाई ध्यान दिन आवश्यक मान्छन् । उनी भन्छन्, “क्षेत्र तथा वुनपाका विकासमा उसले गरेको भूमिका तथा सक्रियता बाहेक अरु कारणले ठीक दिन हुँदैन ।” वुनपामा विकासवादी नेता मानिने लामिछाने अन्तिम समयसम्म आफू मेयरका लागि मजबुत दावी गरिरहने बताउँछन् । मेयरमा पदमा आफूले विकासमा विगत २० वर्षदेखि गरेको बिभिन्न कामहरु आफै बोल्ने दावी लामिछानेको छ ।

 

लामिछानेसहित राजाराम बुढाथोकी, आत्माराम पौडेल, न्हुच्छेनारायण श्रेष्ठ, गोकर्ण केसीलगायतका व्यक्तिहरुले वुनपाको मेयरमा दावी गरिरहेका छन् । दावेदारहरुले टिकट बाँड्ने बेलामा स्वास्थ्य मन्त्री गगन थापा र क्षेत्रीय सभापति राजु श्रेष्ठको निकटता एकदमै स्वार्थप्रेरित देखिएको बताउँन थालेका छन् ।

 
वुनपालगायतमा बिभिन्न क्षेत्र नं. ४ भित्र पर्ने कामनपाका वडामा पनि पहँुचका आधारमा मात्र टिकट पाउने हो कि भन्ने चिन्तामा बिभिन्न पदका आकांक्षीहरुलाई चिन्तित छन् । वुनपा ११ का वडाध्यक्ष आकांक्षी राजेन्द्र अधिकारी जुँगे भन्छन्, “युवा र काम गर्ने क्षमता भएका मानिसलाई टिकट नदिने हो भने चुनाव जितिदैन ।”

 

२० वर्ष अघि वडाध्यक्ष जितेको वा अन्य यसोउसोको आधारमा टिकट दिइएमा त्यो जीतका आधार नबन्ने बताउँछन् जुँगे । विकासे गतिबिधिसहित वडाध्यक्षका लागि चौतर्फि युवाहरुको माग भएको बताइएका जुँगे आफू वडाध्यक्ष पदको टिकटका लागि अन्तिम प्रयासमा जुटेको बताउँछन् ।

 
त्यसैगरी वडा नं. ११ मा नेकाबाट वडाध्यक्ष पदका लागि दावी गरिरहेको कानुन व्यवसायी तथा कपनमा पढेलेखेको युवा नेता भनेर चिनिने सन्तोष भण्डारी पनि आफू अन्तिम प्रयासमा रहेको बताउँछन् । सन्तोष भन्छन्, “अबको वडाध्यक्ष पद २० वर्ष अघिको वडाध्यक्षजस्तो हुँदैन । अबको वडाध्यक्षसँग बौद्धिक तथा कानुनी ज्ञानको प्रखरता हुन आवश्यक छ ।”

 

सन्तोष भन्छन्, “पहँुचको आधारमा लौरो उठाउने परम्पराबिरुद्ध आफू अन्तिमसम्म लड्ने छु।” अहिलेको मतदाता उम्मेदवारको योग्यता, सक्रियता र निपष्क्षतालाई हेर्ने छन् भन्ने धारणा राख्दै भण्डारीले बुनपा ११ मा पार्टीले आफू वा आफूजस्तो युवा, बौद्धिक तथा विकास परायणलाई टिकट दिनु पर्ने बताउँछन् । वडा नं. ११ मा जुँगे र सन्तोषबाहेक दिलिप खत्री, राधेश्याम खत्री र अच्यूत पौडेल नेकाका तर्फबाट वडाध्यक्ष पदको आकांक्षी दावेदार रहेका छन् ।

तपाइँको प्रतिक्रिया ।