को होला एमालेबाट वुनपा १२ को वडाध्यक्ष उम्मेदवार ?

कपन अनलाइन, काठमाडौँ । 

वुनपा-१२ मा  एमालेभित्र  कसले टिकट पाउने भनेर आकांक्षीहरू चलखेल तथा सक्रियताले कपनतिर चर्चा बढेको छ । वुनपा-११ मा राजु अधिकारी सर्वसम्मतरूपमा एमालेको तर्फबाट टिकेट  निश्चित भैसकेको तथा वुनपा १० मा नवराज भट्टराई निश्चित उम्मेदवार  बन्ने अवस्थामा  वडा नं १२ मा भने अाकांक्षीहरू कसैले कसैलाई नछाड्ने हिसाबमा सक्रिय भएको देखिन्छ ।

वडा नं १२  मा  माओवादीबाट माधव  भट्टराईको नाम प्रस्ताव भएको छ । नेकाबाट होमनाथ तिमिल्सिना उठ्ने निश्चित प्राय:  रहेकोले उनीहरुसँग भिड्नका लागि को तगडा उम्मेदवार  बन्ने विषयमा  एमाले भित्र ६ जना  आकांक्षीले आफू सशक्त रहेको दावी गरिरहेका छन् । वडा नं १२ मा  शम्भु भट्टराई, पुण्यराज पुडासैनी, निरञ्जन नेपाल, रामशरण सापकोटा, देवेन्द्र थापा र पुरुषोत्तम नेपालले वडाध्यक्ष पदमा उम्मेदवारीको आकांक्षा देखाएका छन् ।

 

यी ६ जना को कस्ता हुन् भन्ने कुरा वडावासीलाई थाहा भएको कुरो मानिन्छ । ६ नै जना एमालेका चिनिएका र सक्रिय कार्यकर्ता हुन् । यी ६ मध्ये शम्भु भट्टराई पूराना नेता हुन् । कपनको वस्ती विकाससँगै एमाले कार्यकर्ताको हैसियतामा भट्टराईको सकृय थिए । टोलसुधार समितिको अध्यक्षदेखि वडा नागरिक मञ्चको संयोजकसम्मको अनुभवी हुन् शम्भु भट्टराई । उनी हाल एमाले वुनपा नगर संगठन कमिटिका सदस्य पनि हुन् । अोली समूहका समर्थक मानिन्छन् भट्टराई ।

 

अर्का दावेदार पुण्यराज पुडासैनी बौद्धिक र प्रचारप्रसार क्षेत्रका अनुभवी मानिन्छन् । ओखलढुंगावासीहरूवीच मैत्री सम्बन्धका कारण पनि पुडासैनीको हैसियत अर्थपूर्ण  भन्ने गरिन्छ । रेडियो तथा अनलाइन पत्रकारसमेत रहेका पुडासैनी महत्वपूर्ण सामाजिक संस्थाहरूमा सक्रिय छन् । कपनमा शैक्षिक क्षेत्रमा पनि उनको भूमिका उल्लेखनीय छ । पुडासैनी एमाले क्षेत्रीय कमिटिमा सक्रिय छन् । पुडासेनीलाई यस वडामा एमालेको थिंक ट्यांक भनेर चिनाइने गरिन्छ  । उनी गत साल भएको क्षेत्रीय अधिवेशनमा  नेपाल पक्षबाट क्षेत्रीय सदस्य लडेका थिए ।

त्यसैगरी पुरुषोत्तम नेपाल एमाले १२ का अध्यक्षले पनि वडाध्यक्षको दावी गरेका छन् । पुरुषोत्तम नेपाललाई पनि युवावर्गमा बौद्धिक भनेर चिनिन्छ । युवासंघसमेत सक्रिय काम गरेको अनुभव भएका नेपाल यस वडामा पण्डितको रूपमा सक्रिय छन् । नेपालकी आमा पनि सिन्धुपाल्चोकबाट एमाले राजनीतिमा सक्रिय छिन् ।

रामशरण सापकोटा यस वडामा अर्का वडाध्यक्षका दावेदार हुन् । माधव नेपाल पक्षीय भनेर चिनिने सापकोटा यसवडामा सिन्धुपाल्चोकमैत्री उम्मेदवार हुन सक्ने देखिन्छ । सिन्धुपाल्चोकका धेरै मानिस वसोवास गर्ने यो वडामा सापकोटाको दावीलाई पनि अर्थपूर्ण मानिन्छ । सापकोटा यस वडामा एङ्कर र गायकका रुपमा पनि चिनिन्छन्। सापकोटा ललितकला क्याम्पसमा अखिलबाट राजनीति गरेको अनुभव पनि छ ।

यसवडामा अर्का वडाध्यक्षको दावेदार हुन् युवा संघ नेपालको काठमाडौँ प्रमुख रहिसकेका निरन्जन नेपाल । निरन्जन नेपाल  हालै गठन भएको नगर कमिटि सदस्य पनि छन् । क्षेत्रिय अधिवेशनमा आफ्नो वडामा सक्रिय र चक्रीय गुठ संचालन गरेको आरोपमा माधवकुमार नेपाल पक्ष उनीसँग रुष्ट रहँदै आए पनि उनले अध्यक्षलाई टोल कमिटि गठन गर्दा सहयोग गरेकाले नेपाल अहिले दुवै पक्षलाई मिलाउनसक्कने छवि भएका भनेर आन्तरिक कमिटीमा प्रसंसा बटुल्दै छन् ।

यसैगरी देबेन्द्र थापाको नाम पनि चर्चामा रहेको छ । देबेन्द्र थापा कपनका पुराना बासिन्दा हुन् । देबेन्द्र थापाको नाम  क्षेत्रिय अधिवेशनदेखि एमाले वृतमा चर्चित बन्दै गरेको छ ।  तर  स्थानीय निकाय निर्वाचन २०५४ सालपछि उनी  राजनीतिमा खासै सक्रिय नरहेकाले हाल उनलाई सहमतिको विकल्पमा हेरिने मात्र गरिएको छ ।

 

 

तपाइँको प्रतिक्रिया ।