गोकर्णेश्वर क्षेत्रलाई विश्व सम्पदा सूचिमा राख्ने प्रयासमा जुटेका छन् सांसद फुयाँल

गोकर्णेश्वर क्षेत्रलाई विश्व सम्पदा सूचिमा राख्ने प्रयासमा जुटेका छन् सांसद फुयाँल

कपन अनलाइन

केशव पाठक।

काठमाडौँको सभ्यतासँग जोडिएको  ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय गोकर्णेश्वर क्षेत्र उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । यस महत्वपूर्ण पर्यटकीय क्षेत्र सरोकारवाला निकायको बेवास्ताकै कारण राजधानीभित्रै भएर पनि बत्तीमुनिको अध्यारो झैँ बनेको हो । काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा पर्ने गोकर्णेश्वर क्षेत्रमा  पुरातात्विक महत्वका मठमन्दिर, देवालय र नेवारी संस्कृतिको मौलिकपनका लागि प्रशिद्ध छ । वागमती नदीको तटसहितको उत्तरवाहिनी र गोकर्ण मन्दिर देशकै महत्वपूर्ण तिर्थस्थल हुन् ।

यो क्षेत्रमा धार्मिक, सांस्कृतिक मात्र हैन, महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा विकास हुने प्रशस्त आधार र सम्भावना छन् । यस निर्वाचन क्षेत्रका सांसद रामेश्वर फुयाँल यस्ता सभ्यता र संस्कृतिको विकासका लागि सोचमग्न छन् । फुयाँल लिच्छवीकालमा सम्बृद्ध राजधानीको रुपमा रहेको ‘गोकर्णेश्र देशे’ नामले कहलिएको पुरानो गाउँ गोकर्ण आसपासका गाउँको  सम्बृद्धिका लागि सांसद विकास कोष र अन्य बिभिन्न निकाय चाहर्छन् ।

सांसद फुयाँलले यस क्षेत्रको वागमती नद तटमा मानिसभन्दा अग्ला रुखहरू रोप्न विशेष योजना मात्र बनाएका छैनन् गोकर्णेश्वर क्षेत्रलाई विश्व सम्पदा क्षेत्रको रूपमा सूचिकृत गर्न प्रयासमा छन् । फुयाल भन्छन्, “यो देशकै महत्वपूर्ण सम्पदा हो जुन हाम्रा पूर्वजले हामीलाई उपहार दिएका छन् । यो उपहारलाई हामिले सिँगार्नुछ, संहाल्नुछ ।” उनी सांसद विकास कोषबाट मात्र हैन ठुला बजेटबाट यो क्षेत्रको विकासको योजना कोर्न प्रयासमा छन् । यो भगिरथ प्रयासमा स्थानीयवासीको महत्वपूर्ण सहयोग रहेको सांसदको  अनुभूति रहेको छ । पशुपति क्षेत्र विकास कोष जस्तै विकासकोष बनाएर विकासको गोरेटो कोर्न उद्धत छन् सांसद फुयाँल ।

 

सभ्यता र संस्कृति नै हाम्रो पहिचान रहेको मान्ने फुयाँल गोकर्णेश्वर क्षेत्रलाई अँधेरोमा पार्न चाहदैनन् । उनकै पहलमा अलि टाढाका तारेभीर, कागेश्वरी र मणिचुड त यतिखेर चर्चामा छन् भने गोकर्णेश्वरलाई समृद्ध बनाउन उनी झन् चिन्तित छन् । गोकर्णेश्वरसँगै रहेको शहीद पार्कमा आउने सबैलाई गोकर्ण मन्दिर क्षेत्रमा ल्याउने पहलमा लागेका छन् सांसद फुयाँल ।

गोकर्णेश्वर मन्दिर क्षेत्रसँग किराँतकालीन राजा यलम्बरको राज्यसँग पनि जोडिने गरिएको छ भने लिच्छविकालिन प्रख्यात  राजा मानदेवले शासन गरेको यो गाउँ आफ्नो समयको  निकै सम्बृद्ध ठाउँ थियो भन्ने जनश्रुति रहेको छ  । त्यसबेला राजा मानदेवले गोकर्ण र भक्तपुरको चाँगुनारायण दुवै राज्यमा शासन गर्दथे जनश्रुती सम्झिन्छन् सांसद फुयाल ।

 

पितृपूण्य कार्य गर्न र गोकर्णेश्वर मन्दिरको दर्शन तथा अवलोकन गर्न हजारौँ मानिस गोकर्ण पुग्छन्, सोही सङ्ख्यामा निजकैको उत्तरगया जान्छन् तर नेवारी संस्कृति र परम्पराको सम्पदा स्थल गोकर्णेश्वर देशे गाउँ पुग्दैनन् । किनकी उनीहरुलाई यो ऐतिहासिक गाउँका बारेमा जानकारी नै छैन । पर्यटकीय सम्भावना बोकेको गोकर्णेश्वरलाई होमस्टे (घरवास)को रुपमा प्रवद्र्धन गरी आन्तरिक तथा विदेशी पर्यटक भित्र्याउन पनि सांसद फुयाल र स्थानीयवासी तम्सिएका छन् ।

गोकर्णेश्वर क्षेत्रमा परम्परागत संस्कृति बोकेका विभिन्न मठमन्दिर छन् । गाउँको प्रवेशद्वारमै लिच्छवीकालीन कलात्मक भीमसेन मन्दिर छ । यहाँ चण्डेश्वर मन्दिरमा बच्चा जन्मेपछि न्वारान गरेजस्तै गाई भैँसी ब्याएपछि १२ दिनभित्रमा पूजा गर्नुपर्ने प्रथा छ । गाउँको बीचमा श्री पकनावती गणेश मन्दिर, नाटेश्वर महादेव र तलेजु भवानीको मन्दिर छ । चिवा बुद्ध, पञ्चमुखी बुद्धको मूर्ति पनि छ । यहाँ बर्सेनि वैशाख ४ देखि ८ गतेसम्म धुमधामसँग कान्ति भैरवनाथको जात्रा मनाउने गरिन्छ । धार्मिक महत्व बोकेको गोकर्णेश्वरको मन्दिरमा भदौँमा कुसे औँसी र पुसमा पौखगया औँसीमा पितृकार्यको मेला लाग्ने गर्छ ।

 

गोकर्ण मन्दिरपछिको महत्वपूर्ण गन्तव्य उत्तर बाहिनी क्षेत्र जहाँ भैरव र कालीको मन्दिर छ, पञ्चमुखी हनुमान र जागेश्वर महादेवको मन्दिरले पर्यटक लोभ्याउँछन् । त्यहाँ रहेको ऐतिहासिक गुफामा शिवपुरीलगायतका बाबाहरुले तपस्या गरेको बताइन्छ

 

सांसद फुयाल आजका दिन देखिने मात्र हैन भोलिका दिन सबैले अनुभूति गर्ने काम गर्न चाहन्छन् । फागुन ७ गते कागेश्वरी महोत्सवको नजिकिँदै गर्दा सोही दिन देशकै पहिले अष्टधातुको कागको मूर्तिको शिलान्यास गर्ने तरखरमा छन् । ललितपुरमा कागको मूर्ति बनाउन उनले लगाइसके भने फागुन ७ गते पूर्व सभामुख सुवास नेम्वाङले सो कागको मूर्ति राख्ने स्थल शिलान्यास गर्ने कार्यक्रम छ ।

तपाइँको प्रतिक्रिया ।