काँठका कुराः कपनका कुरा

कपनका कुराः काँठका कुरा

कपन अनलाइन हाम्रो कपन काठमाडौंको महत्वपूर्ण काँठ क्षेत्र हो । कति नयाँ बसोबास गर्न आउनेहरुलाई कपन सम्पूर्णमा सहर लाग्ला तर यो काँठ हो । हिजो काँठ सामाजिक, सांस्कृतिक तथा सभ्यताको हिसाबले एउटा पहिचान बोकेर उभिएको हुनाले विशेषणस्वरुप काँठ भएको हो । आज पनि हामी लोकगीतमा काँठे भाका भनेर छुट्टै भाका सुन्छौ ।  यी दिनहरुमा काँठले आफ्नो मौलिकता गुमाएको छ । अझ काँठेहरुले आफ्नो मौलिकतालाई सहरिया बन्ने नाममा बेचे भन्दा सहि हुन्छ । अनावश्यकरूपमा सहरिया बन्ने होडमा कपनजस्ता धेरै सहरभीत्रका गाउँले जीवन मौलिकता जोगाउने विषयमा उच्च जोखिममा रहेको छ ।   कपनको काँठे जीवनको समग्र स्थितिको बारेमा केही लेख्न खोजिएको हो । यस लेखमा अब कपनमा बाँकी रहेका केही ग्रमीण परिद्रिश्यलाई फोटोको रूपमा प्रयोग गरिएको छ ।

(लेखको आशय विशुद्ध काँठ क्षेत्रको मौलिकता जोगियोस् भन्ने हो । कसैको व्यक्तिगत वा सामाजिक जीवनलाई होच्याउनु लेखको ध्येय होइन ।)

-केशव पाठक

फोटोः सागर बैजु

केही वर्ष अघिसम्म सबै कपनवासीलाई आफ्नै उत्पादनले खान पुग्ने स्थिति थियो भने अहिले धेरै कुरा किन्नुपर्ने भइसकेको छ । जग्गाको बेचविखन व्यापक बढेको छ भने अव्यवस्थित बसोबास चरमसीमामा पुगिसकेको छ ।
काँठका धेरै गाउँमा द्वन्द्वका बेला खेतबारी र पाखाहरू बिक्रीको थालनी भयो । द्वन्द्वकै कारण प्रति रोपनी दश लाख रुपैयाँ पनि नजाने जग्गाहरू आनाको दश लाख जाने भए । किसानहरू यसलाई अवसर मानी खेत बेच्न लालायित भए । अझ खेतवालाभन्दा जग्गा बन्दोबस्त गर्ने दलालहरूको लाम निकै लामो लाग्यो । हिजोआज जग्गाको किनबेच अलि घटेको छ नत्र कपनमा जग्गाको कुरा र कारोवार नगर्ने मानिस भेट्न कठिन थियो । यस्तो लाग्थ्यो मानौं काँठले जानेको कुरा नै जग्गा बेच्ने र दलाली गर्ने मात्रै हो । चार जना चोकमा भेटिएपछि जग्गाकै कुरा हुन्थ्यो त्यो पनि बेचविखन र बैनाकै । यस्ता काममा बेरोजगारमात्र नभई उच्चस्तरका सरकारी कर्मचारीहरू पनि दत्तचित्त दिएर लागेका दर्जनौं उदाहरण छन् । कर्मठ र शिक्षित नौजवान युवासमेत अत्यन्त सक्रियताका साथ जग्गाको कारोबारमा तल्लीन देखिन्थे । अहिले घरजग्गाको कारोबार अलि घटेर मात्रै हो नत्र यो प्रवृतिचाहिँ यथावत छ ।

काठमाडौंलाई वरिपरि घेरेर बसेको काँठ क्षेत्रका गाउँहरूमा सहरीकरण र पश्चिमीकरण बढ्दै गएको छ । गाउँको रहनसहनमा व्यापक परिवर्तन आएको आउने नाममा परनिर्भरतासमेत बढेको छ । झट्ट हेर्दा गाउँ हो कि सहर हो भनेर छुट्याउन नसकिने अवस्थामा पुगेको छ राजधानी वरिपरिको काँठ ।

 

धेरै कपनबासी किसानले आफ्नो जग्गा बिक्री गरिसकेका छन् । कति बेच्ने धुनमा छन् त कति त बेचेकोमा पश्चात्तापमा पनि छन् । धान झुल्ने खेत अहिले टुक्रे घडेरीबाट अव्यवस्थित घरहरुको भीडमा परिणत भएको छ । अरू धेरै ठाउँ घडेरीमा रूपान्तरण हुँदैछ ।

फोटोः सागर बैजु

पाखोबारी सम्याएर बसोबासका लागि मिलाइँदै छन् । बेच्नेहरू केहीले अन्त किन्ने त केहीले घर बनाउने वा आफ्ना छोराछोरीलाई विदेश पठाउन थालेका छन् । कतिपय किसानले पैसाका लागि बेचेका छन् भने कतिपयले बाध्य भएर । त्यसैले हुनुपर्छ जग्गा बेच्नेहरूको जीवनस्तरमा धेरै फरक आएको । उनीहरूको जीवन गाउँमै बसे पनि सहरियाको जस्तो भइसकेको छ । अहिले कपनका अधिकांश पूराना बासिन्दाहरुका गोठगोठमा गाईवस्तु होइनन् पल्सरलगायत अन्यखालका मोटरबाइकहरू छ्यासछ्यास्ती भइसकेका छन् । कतिले जग्गा बेचेरै चढ्छन् भने कतिले जग्गाको पैसा लगानी गरी त्यसबाट आएको नाफाबाट । हातैपिच्छे मोबाइल, रंगिन टिभी त अब सुबिधाका चिजनै रहेनन् फ्रिज, वासिङ मेसिनजस्ता सुविधामुखी सामानहरू टोलटोलमा पुगेका छन् । त्यसैले जीवन व्यतित गर्ने शैली पनि उन्नत हुँदै गएको छ । उन्नत यो अर्थमा कि सबै सहरी जीवन शैलीको जस्तो । जग्गा बन्दोबस्त गर्ने दलालहरूले पनि मनग्गे आर्जन गरिरहेका छन् । कपनमा उनीहरूकै भाउ छ । जागिर खाने र व्यवसाय गर्नेहरू अल्पमतमा छन् । उनीहरूको भनाइको न त कतै कदर हुन्छ न त सुनवाइ नै । जग्गाको आडमा पैसा कमाउनेहरूकै वोलवाला छ जुन गाउँमा गए पनि ।
खेती गर्नेहरू घट्दै जानु र नयाँपुस्ताले खेतीतर्फ मन नै नदिनुले किसानहरू जग्गा बेच्न बाध्य भएका हुन् । जग्गा बिक्रीबाट प्राप्त पैसालाई सदुपयोग हुन सकिरहेको छैन । कतिपय किसानहरू त विस्थापित नै भइसकेका छन् भने करोडौंका मालिक किसानहरू अहिले शून्यमा झरिसकेका छन् । जग्गा बेचेर आएको पैसा लिएर दोहोरी रेष्टुरेण्ट जाने, बाइक किन्ने, भोजभतेर आयोजना गर्ने फजुल खर्च गर्ने जस्ता क्रियाकलापमा अचेल कपनका पूरानाबासीहरू लपक्कै टाँसिएका छन् ।

फोटोः सागर बैजु

सरकारले काँठका गाउँहरूमा उपलब्ध जग्गाको व्यवस्थित प्रयोग गर्न कुनै पनि नीति बनाइ नसकेकाले यी समस्या आएका हुन् । अझ यो समस्या चर्कदै जाने स्पष्ट छ । राजधानीमा बस्नैपर्ने र एउटा घर हुनैपर्ने मान्यताले गर्दा काँठका खेतीयोग्य जग्गाहरू बसोबासमा परिणत भएका हुन् । कपनमा देशभरीबाट उर्लेको मानवसागरको भेलले खेतीयोग्य धेरै जमिन कंक्रिटको जंगलमा परिणत गर्यो ।
शिक्षित र बुझ्ने वर्ग हरुको बस्ति जस्तो लागे पनि कपनको पूरानो क्षेत्र विकासका दृष्टिकोणले पछाडि परेको छ । अझै कपनका महिलाहरू बजारसम्म पुगेर तरकारी, दूध आदि बेचेर आउने र सो कमाइ पुरुषले जुवा तास खेल्न र मदिरा पिउनमा लगानी गर्ने पनि कमी छैन ।

 

काँठको समग्र विकास बिना काठमाडौं सहर सुन्दर बन्न सक्दैन । सुन्दर, सफा ठाउँ र प्रकृति खोज्न काँठकै गाउँ छिर्नुपर्छ । काठमाडौं सहरको सुन्दरतालाई काँठका हरिया खेत र ग्रामीण बस्तीले थप आकर्षण दिएका छन् । काठमाडौको महत्त्व जति सहरसँग छ त्योभन्दा धेरै काठमाडौंलाई वरिपरिबाट घेरिएर रहेका काँठका गाउँहरूको त्यत्तिकै छ । गाउँका प्राकृतिक स्रोत साधन र वातावरणले नै काठमाडौं सहरलाई बचाएको छ । त्यसैले काँठलाई सहर होइन उन्नत एवं समुन्नत गाउँ बनाउन स्थानीयबासी र सरकार ढिलै भए पनि लाग्नु अत्यन्तै आवश्यक छ । काँठवासी पनि साँच्चै विकासप्रेमी एवं उन्नत गाउँप्रेमी हुन र यसको साखलाई जोगाइराख्न सक्रिय हुनैपर्दछ ।

चिया पसलमा बसेर घण्टौं गफिनु तर बाटो, घाटो पुलपुलेसा, स्कुल, स्वास्थ्यचौकीका बारेमा विरलै कुरा गर्नु, नयाँ सोच र विचार कसैले ल्याएमा वा केही गर्न खोजिएमा तर्कविना नै अस्वीकार गर्नु सामान्य चरित्र हुन् कपनलगायतका काँठमा ।

 

फोटोः सागर बैजु

सामाजिक काममा औंलामा गन्न सकिने मात्र सक्रिय छन् । कुरा र बहस भने अमेरिका, बेलायत तथा क्यानडाले गरेका प्रगतिमा आधारित हुन्छन् तर आफ्नो गाउँमा गाविसले विकासका के के काम गर्दैछ भन्ने कुरा कार्यक्रम सम्पन्न भइसकेपछि मात्र थाहा पाउने गजबको प्रवृत्ति हुर्किरहेको छ यहाँ । गाविसको बैठकमा केही टाठाबाठा राजनीतिक कार्यकर्ताबाहेक आम समूहहरू अझै समर्पित भएर लाग्न सकिरहेको देखिँदैन ।
गाउँहरूमा विद्यमान हरियालीहरू मासिंदै छन् । बालुवा झिक्नाले खोलानालाहरू बग्ने ठाउँ अनिश्चित हुँदै गएको छ भने खोलाहरू गहिरिंदै गएका छन् । कयौँ खोलाहरू ढलमा परिणत भएका छन् ।   कतिपय सार्वजनिक तथा पर्ती जग्गाहरू भ्ूामाफियाहरूको चंगुलमा परिसकेका छन् । यत्रतत्र बाटो बन्दैछन् तर बढ्दो जनसङ्ख्यालाई पुग्ने पिउने पानीको समस्या टड्कारो छ । घरैपिच्छे इनार खनेर जमिनमुनिबाट पानी निकाल्दा त्यसको दीर्घकालीन असर के पर्ने हो यसबारे पनि मानिसहरू अनभिज्ञ नै छन् ।

 

 

 

तपाइँको प्रतिक्रिया ।