कपनमा राजनीति गर्नेहरु गुम्बासँग डराए !
कपनमा रमाइलो मेला(कथित महोत्सव) हुनु ३ दिन अघि निकै मेहनतले बनाइएको कपन सम्बन्धि वृतचित्र कपन महोत्सवमा नदेखाइनुको रहस्य खुलेको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार कपन सम्बन्धि यस वृतचित्रलाई प्रधानमन्त्रि समक्ष प्रस्तुत गर्ने भएकोले कपन गुम्बाभित्र रहेको महांकाल मन्दिर र कपनगढीलाई महत्वका साथ स्थान दिइएको थियो । प्रधानमन्त्रिलाई यो वृतचित्र देखाएर ऐतिहासिक कपन गढि तथा कपनको पहिचानसँग सम्बन्धित महांकाल मन्दिर अवलोकन गराउने कार्यक्रम थियो ।
एकदमै छोटो समयमा बनाइएको यो वृतचित्रमा कपन गुम्बाभित्र रहेको मन्दिर तथा गढिलाई कपनका जनताको पहुँचमा पुर्याउन पहल गर्नु पर्ने अभिव्यक्ति प्रस्तुत भएको थियो । यस विषयलाई लिएर कपन गुम्बा तथा त्यसका सम्बन्धित व्यक्तिहरुले कपनका मै हुँ भनी राजनीति गर्नेहरुलाई फोन गरे पछि एका एक महोत्सवमा कपनको विषयमा जानकारी दिइने खालको एकमात्र कार्यक्रम पनि स्थगित भएको हो । साथै कपन गढी र महाँकाल मन्दिरमा प्रधानमन्त्रिलाई लैजाने कार्यक्रम पनि रोकिएको हो ।
‘कपन ः विकास र चुनौति’ शीर्षकको यो वृतचित्र निर्माणका विषयलाई लिएर पनि विवाद भएको थियो । कपन महोत्सववालाहरु र कपन गाविसमा प्रतिनिधित्व गर्ने दलहरुबीच कसले बनाएको भन्ने बारे विवाद हुँदा अन्त्यमा कपन गाविसको निर्माण रहने निर्णय भएको थियो ।