सुशिल कोइरालामाथि गम्भीर हमला :समाचार विश्लेषण

देशमा दण्डहिनताको पराकाष्ठा छ । संक्रमणकालको नाममा हुने हरेक अराजक गतिबिधि दण्डहिनताको उपज हो । यस्ता अराजक गतिबिधि रोक्न न समाज सक्षम छ र न राज्य । तर यही दण्डहिनताको कारण समाजमा उपद्रवहरुको श्रृङ्खला दिनप्रतिदिन बढ्दो छ ।

राजनीतिमा नाम चलेका अनुहारहरुलाई पछिल्ला केही वर्षदेखि निशाना बनाई आक्रमण हुनुलाई झनै गम्भिर विषयका रुपमा लिन सकिन्छ । जहाँ मै हँु भन्ने राजनीतिज्ञ त कुनै पनि क्षण आक्रमणको शिकार हुन सक्छन् भने साधारण जनताको हालत के होला ? यो विषय अत्यन्त संवेदनशील विषय भएर पनि राज्य वा सरकार यस प्रति कुनै पाइला चालिरहेको देखिदैन ।

आज कपनमा भएको ने.का.को क्षेत्रीय भेलामा संबोधन गर्न आएका केन्द्रीय सभपति सुशिल कोइरालालाई मञ्चमा नै आक्रमण भएको छ । प्रहरी प्रभाग सँगै रहेको कार्यक्रमस्थलमा राखिएको फोटोको आल्मुनियमको फ्रेमले सभापति कोइराला आक्रमण गर्दा संयोगले छेक्ने मानिसहरुको सुझबुझले सामान्य घाइते मात्र भएको समाचारहरु आए पनि यदि आक्रमणकारीले झम्टेको जसरी नै सुशिल कोइरालालाई लागेको भए आज झनै गम्भीर समाचार आउन सक्थ्यो । यो नेपाली राजनीतिको सौभाग्य हो ने.का. सभापति सुशिल कोइरालालाई सामान्य मात्र चोट लागेको छ ।

सबैभन्दा विडम्बनाको कुरा के छ भने आक्रमणकारी प्रवेश बस्नेत स्वयम् पनि कांग्रेसी कार्यकर्ता भएको थाहा भएको छ । नेपाली राजनीतिमा देखिएको गुटगत समस्याको सबैभन्दा चरम नमुना सायद यही होला । मञ्चमा बोलाउने नाममा देउवापक्षीय व्यक्तिहरुको नाम नआएको रोषमा नेपाली कांग्रेसका क्रियाशील सदस्य पनि रहेका प्रवेशले एकाएक आक्रमण गरेका हुन् । आक्रमणका क्रममा ने.का. क्षेत्रीय सचिव द्वय नर्वदा पोखरेल तथा श्यामकृष्ण संगतको टाउकोमा चोट लागेको छ भने मीना पराजुली पनि सामान्य घाइते छिन् ।

के यो प्रवेश वस्नेतको व्यक्तिगत आवेश मात्र हो त ? सबैभन्दा महत्वपूर्ण प्रश्न यही बनेको छ । धेरैले यसलाई ने.का. भित्रको गुटगत समस्याको उपज मानेका छन् । र यो् घटना सुनियोजित रहेको पनि बताउँछन् । ने.का क्षेत्र नं. ४ ले कपनका भएको क्षेत्रीय सम्मेलनको क्रममा नै यस घटनाको छानविनका लागि समिति निर्माण हुने जनाइएको छ ।

आधाघण्टा सभा विथोलिएपछि शुरु भएको सभामा बोल्दै ने.का. महामन्त्रि कृष्णप्रसाद सिटौलाले यो विषयमा प्रहरीप्रशासनको पनि मिलोमतो रहेको हुन सक्ने बताए । उनले यस विषयमा प्रहरी महानिरिक्षकसँग कुरा गरिने पनि जानकारी दिए ।

यसैबीच कपनका एमाओवादी र एमाले पार्टी कमिटिले यो विषयलाई गम्भीर भत्र्सना गरेका छन् । कपन एमाओवादीका तर्फबाट सुवास राइद्वारा जारी विज्ञप्तिमा ‘नेपाली काँग्रेश निर्वाचन क्षेत्र नं ४ कपन गाविस क्षेत्रीय भेला कार्यक्रममा शिर्ष काँग्रेश नेताहरुमाथि हुन गएको हमला माथि एनेकपा माओवादी कपन गाउँ पार्टी कमिटिको तर्फबाट खेद व्यक्त गर्दछौँ ‘ भनिएको छ । त्यसैगरी नेकपा एमाले कपनका तर्फबाट विज्ञप्ति जारी गर्दै अध्यक्ष ध्रुवराज न्यौपानेले ‘पार्टी भित्र आफ्ना असहमति जाहेर गर्ने विधि र प्रकृया हुँदाहुँदै नेपाली काँग्रेशका सभापति शुशिल कोइरालामाथि भएको आक्रमणको नेकपा एमाले कपन गाउँ कमिटि यस्ता गैर जिम्मेवार घटनाप्रति खेद व्यक्त गर्दछ ‘ भनिएको छ । ने.का. कपनले आफ्नो आधिकारिक धारणा क्षेत्रीय सम्मेलन पश्चात प्रदान गर्ने जानकारी दियो ।

राजनीतिका विभिन्न दाउपेच हुन्छन् तर राजनीतिमा भाग पाइएन भनेर केन्द्रीय सभापतिलाई ज्यानै लिने खालको यो आक्रमणले राज्यको वर्तमान अवस्था इङ्गित गर्दछ । राजनीतिलाई चासो दिने सबैजना यस विषयबाट अत्यन्त चिन्तित छन् ।

-केशव पाठक

तपाइँको प्रतिक्रिया ।