अत्यन्त कम्जोर व्यवस्थापनबीच कपन महोत्सव शुरु
विवादै विवाद तथा आलोचना नै आलोचना हुँदा हुँदै पनि कुनै राम्रो व्यवस्थापन नगरिकनै कपन महोत्सव शुरु भएको छ । कपन अनलाइन तथा विभिन्न प्रबुद्ध व्यक्तिहरुले पटक पटक केही मौलिक काम गर्न गरेको सुझावलाई समेत उपेक्षा गरेर सायद दुनियाँमा हुने सबैभन्दा गरिब महोत्सवको सुरुवात कपन महोत्सवले गरेको छ । देशको प्रधानमन्त्रिजस्तो महत्वपूर्ण व्यक्तिलाई ल्याएर यति निरिह र गरिब कार्यक्रम प्रस्तुत गर्दा कपन महोत्सवका आयोजक मात्र होइन पछिल्लो समयमा यो महोत्सव अब हाम्रो भयो भन्ने मीठाराम अधिकारी, सुवास राई, राजाराम बुढाथोकीलगायत व्यक्ति जिम्मेवार बोध गरिरहेका थिएनन् । किन यस्तो कार्यक्रम भयो भन्दा प्रायः सँग कुनै जवाफ थिएन ।
कपन महोत्सवको उद्घाटनमा जेजस्तो देखियो ः
१. ३ रोपनी जति जमिनमा फैलिएको महोत्सव स्थलमा बनाइएको मुख्य स्टेज यति कमजोर थियो कि उपस्थित जनताले स्टेजमा बसेका कसैलाई देख्न सक्दैन थे । समान्य कार्यक्रमकोभन्दा पनि सस्तो मञ्च थियो । स्टलको व्यवस्थापन पनि अत्यन्त कमजोर थियो ।
२. विहान विभिन्न झाँकीसहितको विशाल र्याली भनिएकामा र्यालीमा सहभागिमध्ये करिब ९५ प्रतिशत स्कूलका विद्यार्थिहरु थिए । करिब डेढ घण्टा घाममा हिँडेका साना उमेरका विद्यार्थीहरुलाई पानी खुवाउने व्यवस्थासमेत गरिएको थिएन । गर्मिले विद्यार्थीहरु एकदमै सिथिल देखिन्थे ।
३. कार्यक्रम आयोजनास्थलमा आयोजकहरुको कुनै अस्तित्व देखिदैनथ्यो । यदकदा मूलसंयोजक भरतकिशोर श्रेष्ठ र मिना श्रेष्ठ फोटो खिचाइरहेका देखिन्थे ।
४. प्रधानमन्त्रिलाई कपनका बारेमा जानकारी दिन जम्मा दुई दिन भित्र तयार गरिएको वृतचित्र देखाउने वातवरणसमेत आयोजक तथा मै हुँ भन्ने राजनीतिकर्मीहरुले बनाएनन् । प्रधानमन्त्रिलाई कपनको बारेमा जानकारी दिन कार्यक्रमका उद्घोषकको रुपमा रहेको विसुकुमार केसीले गरेका केही प्रयास बाहेक कपन महोत्सवले प्रधानमन्त्रिलाई जानकारीसमेत पस्केन ।
५. उद्घाटनको दिन कुनै कपनसँग महत्व राख्ने परिचय दिने खालको कार्यक्रम प्रस्तुत भएनन् । कपन संगीत सरोवरले प्रस्तुत गरेको कपन गान मात्र उद्घाटन सत्रको कपनको मौलिक प्रस्तुति थियो ।
६. कपन महोत्सव भएर भन्दा पनि प्रधानमन्त्रि आउने भएकाले मानिसहरु आएका देखिन्थे ।
७. पत्रकारहरुले पनि यो महोत्सवलाई कम महत्व दिएको पाइयो । प्रधानमन्त्रि आउने भएकाले मात्र कभरेज गर्न आएको पत्रकारहरुको प्रतिक्रिया थियो । एक पत्रकार ‘यस्तो पनि महोत्सव हुन्छ वकावास !’ भन्दै थिए ।
८. प्रधानमन्त्रि आउने भएकाले एमाओवादिका सुवास राई देखि पछिल्लो समयमा कपन महोत्सवलाई विरोध गर्दै आइरहेका शिव बजगाईसम्म आफूलाई सबैभन्दा सक्रिय भनाउन दौडादौड गरेका देखिन्थे ।
९. मञ्चमा दुईजना मात्र अतिथि थिए, त्यो पनि एमाओवादीका । बाबुराम भट्टराई र नन्दकिशोर पुन ।
१०. एमालेका ध्रुवराज न्यौपाने नेपाली पोशाकमा सजिएर आएका थिए । उनको तर्क थियो ‘महोत्सव भएकोले आफ्ना भेषभुषा पेश गरेको नि’
। बाँकी कसैले नेपाली टोपीसम्म पनि लगाएका थिएनन् ।
११. वडा नं. १ र ३ का ५० वर्ष नाघेका केही बुढाहरुले प्रस्तुत गरेको खैजडी भजनलाई धेरै पत्रकार तथा प्रवुद्धहरुले रुचाएको देखिन्थ्यो । तर प्रधानमन्त्रिले यो समूहलाई वास्ता गरेनन् ।
१२. कार्यक्रमको समुद्घाटन पानसमा दीप प्रज्ज्वलन गरेर गर्ने क्रममा पानस तथा दीपको व्यवस्था नहुुँदा तमासा भएको थियो ।
१३. हेलिकप्टरबाट पुष्पबृष्टिको नाटक गरिहँदा प्रधानमन्त्रि आफ्ना समकक्षि पासाङसँग कुराकानीमा तल्लिन थिए । उनले कुनै चासो देखाएनन् ।
१४. कपन महोत्सवमा सायद दुनियाँमा पहिलोपटक पञ्चकन्याले प्रमुख अतिथिलाई पुष्यगुच्छा र पुष्पमालाको सट्टा खादा लगाइदिए ।
१५. उद्घाटनस्थलमा करिब १०० संख्यामा सिभिल सुरक्षाकर्मि उपस्थिति थिए भने कपनभरी जम्मा ५०० विभिन्न तहका प्रहरीहरु खटिएका थिए ।
१६. ९० हजार मानिसले अवलोकन गर्ने भनिएको महोत्सवको आयोजनास्थलमा मुस्किलले ३ हजार मानिस अटाउन सकिने अवस्था थियो ।
१७. लामोसमयदेखि कपन महोत्सवलाई एकजुट भएर साथ दिने विषयमा एकमत हुननसकेका पार्टीका प्रतिनिधिहरु कार्यक्रम शुरु हुनु २ घण्टा अघिसम्म पनि सहमति जुटाउन खोज्दैथे ।
१८. पछिल्लो ४ महिनाले प्रधानमन्त्रिले औपचारिक कार्यक्रममा कतै कालो झण्डाको सामना गरेनन् । कपन सम्पूर्णमा एमाओवादीहरुको गाविस भएको उनलाई अनुभुत गराउने प्रयास देखिन्थ्यो ।