सपना, राजनीति अनि परिवर्तन

सपना, राजनीति अनि परिवर्तन

कपन अनलाइन, असार १४, २०७३/ साहित्य

12642463_556689544498303_6196172897080415262_n

-समिर गिरी

केही समय अगाडिको कुरा हो । ती दिनहरूमा म प्लस टु को पढाई सकेर स्नातक अध्ययनका लागि भर्खर काठमाण्डौ आएको थिए । कुराकानी तथा बसउठ गर्न चिनेजानेका कोही थिएनन् । विहान क्याम्पस गएर फर्केपछि दिनभरि कोठामा एक्लै बसिरहन्थे । कहिलेकाहि पाटन दरबार र कृष्णमन्दिर वरपरका पुरातात्विक महत्वका सम्पदाहरु र त्यहाँ आवतजावत गर्ने विदेशी पर्यटकहरु नियालेर बस्थे । साँझपख प्रायः कोठा अगाडि चोकमा चिया पिउन निस्कन्थे माइला दाईको खाजा घरमा । माइला दाइकोमा चियाभन्दा रक्सि पिउनेहरुको बढि भीड हुन्थ्यो । रक्सिको मातमा कोही अफ्ना पिडाहरु पोखिरहेका हुन्थे, कोही राजनितिक पार्टी र तिनका नेतृत्वसँग रिस पोखिरहेका हुन्थ्येँ ।

उपत्यकाको तापक्रम बढ्दै थियो । महंगीले आकाश छुदैँ जाँदा कोठामा पानी आउँदैनथ्यो । दिनमा १८ घण्टा लोडसेडिङले उपत्यका बाहिरबाट पढ्न आउने विद्यार्थीहरुको प्राय: उस्तै समस्या थियो । क्याम्पस गयो, पढाइभन्दा बढि विभिन्न राजनैतिक संघ संगठनका कार्यक्रमहरु युवा जोस र जाँगर भरिएका विद्यार्थीहरुको जमातको भीड देखिन्थ्यो । गणतन्त्र, लोकतन्त्र जिन्दावाद भनेर नारा लगाउँदै चिच्याईरहेका भेटिन्थे ।

म आफू पनि सानैदेखि राजनितीप्रति चासो राख्ने भएकोले विस्तारै विद्यार्थी संघ संगठनमा आवद्धता तिर नजिकिन थालेँ । राजनीतिकरुपमा थोरैमात्र अगाडी बढदै जाँदा विस्तारै विभिन्न राजनैतिक सभा समारोहमा मञ्च अगाडि गएर चर्को भाषण गर्ने भएको थिए । मेरो भाषणमा देशको विकृति विसङ्गति अन्याय अत्याचार र भ्रष्टचार विरुद्ध कडा अभिव्यक्तिहरु हुन्थ्ये त्यसैले छोटै समयमा मेरो परिचय बन्यो । विकट गाउँको सामान्य पारिवारिक पृष्ठभुमिबाट आएको मान्छे म पातलो, अग्लो र लिखुरे स्वरुपको आवरणले परिचित भएको थिए ।

फुर्सदमा म माक्र्स लेनिन र चे ग्वेभाराका राजनितिक दर्शनका किताबहरु पढ्ने गर्थे । कतिपय साथीहरु मेरो यो खालको क्रियाकलाप देखेर अचम्म पनि मान्थे । उनीहरुमा राजनीति खराब मानिसहरुले खेल्ने फोहोर खेल हो भन्ने सोचाई थियो । तर राजनितीक रुपमा सहयोग नगरे पनि व्यक्तिगत रुपमा भने उनीहरुको सल्लाह, सुझाब, सहयोग र सदायताको कमी भने महशुस भएन मलाई । मेरो राजनितीक क्रियाकलापले उनीहरुसँगको आत्मियतामा खल्लो महशुस कहिल्यै भएन ।

राजनीतिकरुपमा देखिने केही कार्यक्रमहरुमा सहभागितबाहेक काठमाण्डौ आउँदाका सुरुमा दिनहरुमा दिनभरि फुर्सद नै थियो । यही फुर्सद र राजनीतिप्रतिको मोहले म विस्तारै राजनितीक सभा समारोहमा व्यस्त हुन थाले । तथापि साँझपख माइला दाइको खाजाघरमा चिया पिउने क्रम भने रोकिएको थिएन मेरे । चियाखान जाने क्रममा एकजनासँग मित्रतापनि जोडियो, विगुल शाही । कालिकोट घर भएको शाही ३ बर्ष अगाडी पोलिटीकल साइन्समा मास्टर सकेको पाको उमेरका थिए । उनी म भन्दा करिब १० बर्ष नै जेठा देखिन्थ्यो । अग्लो र बाक्लो शारिरीक संरचनाका यी पुरुष छेउमा सँगै बस्दा झन्डैझन्डै बाउछोरा भन्न सुहाउँने ।

उनी पनि सँधै एक्लै चिया पिइरहेका हुन्थे, यही भएर हाम्रो चिनजान भएको थियो । मेरा आफ्ना तमाम राम्रा नराम्रा बानीहरुबीच एउटा राम्रो बानी छ बच्चादेखि बुढाबुढी सबैसँग छोटै समयमा घुलमिल हुन सक्छु । म उनलाई दाइ भन्थे उनिपनि आफ्नै भाइजस्तै माया गर्थे । एकदिन उनले मलाई आफ्नो कोठामा लगे । कोठामा माक्र्स, लेनिनका दर्शन र विश्व राजनितीक इतिहासका किताबहरु थिए । राजनितीप्रति लगाव भएकोले म स्वाभाविक रुपमा ती किताबहरु प्रति आकर्षित भएँ । त्यो देखेर उनी बोले तिमी यस्ता किताबहरु हेरेर आफ्नो समय वर्बाद नगर । तर मलाई थाहा थियो ति किताबहरु मुल्यहिनचाहिँ थिएनन् । त्यहाँ भएका केही किताबहरु मैले पढिसकेको पनि थिए ।

मैले सोधेँ, ‘कि पढ्न नहुने ?’

‘पढन नहुने भए किन जम्मा गर्नुभएको ?’

उनी केही बोलेनन् । मैले कर गरेँ त्यसपछि उनले सबै कुरा खोले । उनी कालिकोटको गरिब परिवारमा जन्मेको रहेछन् । बल्लतल्ल एस.एल.सी. सकेर उच्च शिक्षा अध्ययनको लागि काठमाण्डौ आएका रहेछन् । कर्णालीको कहालिलाग्दो अवस्थाले उनलाई नराम्रोसँग दुखित तुल्याएको थियो, खाद्यान्न अभावले भोकभोकै बस्नुपर्ने, सामान्य झाडापखालाको उपचार नपाई अकाल मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ भन्ने सपना साँचेर सहर पसेका रहेछन् र आफ्नोे विकटतालाई केही गर्ने अठोट लिएर काठमाण्डौ आएको रहेछन् ।

कर्णालीको विकटतालाई केही गर्न राजननिती एउटा बलियो बाटो थियो । त्यसैले उनी काठमाण्डौ आएपछि पढाइसँगसँगै राजनितीमा संलग्न हुन थाले । सबैले सत्तामा पुग्नको लागि प्रयोग गर्ने सजिलो र प्रभावकारी हतियार विद्यार्थी थिए । उनी उपत्यकामा हुने सबैजसो विद्यार्थी आन्दोलनहरुमा अग्रपंतिमा हुन्थे । यही क्रममा धेरै पटक पुलिसका लाठी र लात खाए अझै डामहरु आलै थिए उनको तन अनि मनमा । कति रात चिसो थुनामा भोकभोकै विताएको सम्झना गर्छन् उनी । तर यहाँ आफैलाई प्रयोग गरेर सक्तामा पुग्नेहरु सक्तामा पुगेपछि फर्केर हेर्दैनन् जो आफ्ना वरपर झुमिन्छन र गुनगान गाउँछन् चाप्लुसी गर्छन उनीहरु एकैपटक माथि पुग्छन् । जो पार्टी र संगठन भित्रका कमि कमजोरी सुधार गर्नुपर्छ भन्छ त्यसलाई चियामा परेको झिगाँ जस्तो झिकेर पाखा लगाइदिन्छन् ।

उनी थप्छन्, यहाँ त्याग समर्पण योग्यता र क्षमताको कुनै मुल्याङकन हुदैन परिचालन होइन प्रयोग गरिन्छ । म त्यसैको शिकार भए कहिले कसैको अन्धभक्त भईन सधै पार्टी र संगठनका कमिकमजोरी सुधार गर्नुपर्छ भनेर आवाज उठाइरहेँ जसको परिणाम भोगिरहेको छु ।
आज कर्णालीको नाम बेचेर राजनिती गर्नेहरु कतिपटक सिँहदरबार पसिसके तर कर्णाली जस्ताको त्यस्तै छ परिवर्तनको कुनै रेखासम्म छैन । पात्र परिवर्तन भए पनि प्रवृति उस्तै छ । नीतिहरु परिवर्तन भए होलान् तर नियती परिवर्तन हुन सकेन ।

लामो सास ताने उनले । उनको यो कुरा सुनेर म पनि झस्किएँ । राजनितीमा विस्तारै सक्रिय हँुदै गरेको म राजनितीभित्रको कुरुप खेल सुनेर सोच्न बाध्य भएँ । आजको युवापुस्ता किन राजनीतिको नाम सुन्न चाहदैनन् ? राजनीतिप्रति चासो राख्ने एकाध युवा किन पलाएन हुँदैछन् ? यी प्रस्नहरुको जवाफ उनको पिडाबाट र्छलङग हुन्थ्यो । मैले उनीसँग आफुलाई पनि राजनीतिप्रति रुचि एवम् मोह भएको कुरा बताए । उनले केही बेर मौनता लिँदै सुझाब दिए, म तिमीलाई राजनीतिमा नलाग भन्दिन किनकि राजनीति देश विकासको अपरिहार्य तत्व हो । राजनीति त्यस्तो फोहोरी खेल होइन जति फोहोर मानिसहरुले सोच्छन् । राजनिती कहिल्यै फोहरी हुँदैन तर यहाँ राजनितीज्ञहरु फोहोरी छन् । त्यसैले सोचेर अगाडि बढ, के तिमी सक्षम छौ ? त्यसपछिका दिनहरुमा म कुनैपनि कुरा गर्नुअघि विगुल दाइसँग सल्लाह सुझाब लिन्थेँ । उनी मेरो राजनीतिक मार्गदर्शक बनेका थिए ।

एकदिन कलेजबाट अलि ढिला कोठामा फर्केको थिएँ । सदाझै घर फर्केपछि चिया पिउन माइला दाइको होटलमा गए तर सँधै आउने विगुल दाइ त्यहाँ देखिएनन् । अर्को छेउमा कोही भन्दै थियो, त्यो चिया खान आउँने अग्लो केटा झुन्डिएछ । कुरा बुझ्दा विगुल दाईले आत्महत्या गरेका रहेछन् । म दगुर्दै उनको कोठामा पुगे वरिपरि मानिसहरुको भिड थियो उनी झुन्डिएको अवस्थामा थिए । भुईमा विभिन्न राजनितीक इतिहास र दर्शनका पुस्तकरु असरल्ल थिए म भावविव्हल भए ।

एउटा सपना बोकेको परिवर्तनको विगुल फुक्ने योग्य र क्षमतावान युवा आत्महत्या गर्न बाध्य भयो यसमा दोषी को ? यो एउटा प्रतिनिधि घटना मात्रै हो । देशमा कैयौँ विगुलहरु यसैगरि फक्रन नपाई ओइलिएर झरेका छन् । यस्ता घटनाहरुबाट राजनीतिमा आउन चाहने युवा पुस्ताले के सिक्ने ? त्यसैले आजका युवापुस्तालाई राजनितीप्रति आकर्षण गर्ने हो भने राजनिती फोहोरी खेल हो भन्ने मानसिकताको अन्त्य गर्दै सक्षम र क्षमतावान् व्यक्तिहरुले गर्ने मास्टर साइन्स हो भन्ने धारणाको विकास गराउन आवश्यक छ ।

तपाइँको प्रतिक्रिया ।