चार मुक्तक : मीना चौलागाईं
कपन अनलाइन
काठमाण्डौ,चैत ९।
पराजय होस् या विजय, कुर्न छाडिदिएँ
नमिलेपछि जीवनको लय, कुर्न छाडिदिएँ
म व्यस्ततामै पनि कसैलाई सम्झिने मान्छे,
मैले कसैको फुर्सदको समय, कुर्न छाडिदिएँ ।
विश्वासको शिखर चढाएर झार्न सकिएन
असल छोडी खराब पक्ष स्वीकार्न सकिएन
सधैँ बेथितिको पक्षपोषण गर्नेहरूका लागि,
आफूभित्रको परम सत्यलाई मार्न सकिएन ।
एउटा साथी भन्छ उता, पण्डित हुन मन छ
अर्को साथी भन्छ यता, मण्डित हुन मन छ
मलाई भने उभिने रहर प्रेमको कठघरामा,
हजुरकै इजलासबाट दण्डित हुन मन छ ।
खडेरी परेको मनलाई पनि रसाउन सकियोस्
दुःख बाँडेर खुसीको हाँसो हँसाउन सकियोस्
यत्ति स्थान त बनाइराख्नु खास कसैको मनमा,
रुँदा पनि सँगै दुई थोपा आँसु खसाउन सकियोस् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
