इमान : अंशुकुमार गुप्ता (लघुकथा)

इमान : अंशुकुमार गुप्ता (लघुकथा)

कपन अनलाइन

काठमाडौं, साउन २४ ।

पूर्णिमाको रात । विराटनगरको गुद्री बजार चन्द्रमाको उज्यालोमा नुहाइरहेको थियो । पसलहरू बन्द भइसकेका थिए । सडक सुनसान थियो ।
अचानक मेरो अगाडि एउटा अनौठो छाया उभियो ।
मैले सोधेँ, “तिमी को हौ ?”
छायाले हल्का मुस्कानसहित भन्यो, “म यही नेपालको इमान हुँ । कुनै बेला हरेक नेपाली मनमा मेरो बास थियो । आज नेपालीहरूले मलाई बोझ ठाने, अनि म छायामा परिणत भएँ ।”
मैले वरिपरि हेरेँ । उज्यालो प्रशस्त थियो, तर उसका लागि कतै ठाउँ थिएन ।
त्यो छाया बिस्तारै चन्द्रमाको उज्यालोमै विलायो ।
म घर फर्कँदै थिएँ । त्यस रात पहिलोपटक महसुस भयो—पूर्णिमाको रातमा चन्द्रमा आकाशमा झलमल चम्किरहेको थियो तर हाम्रो समाजको इमानमा औँसी लागिसकेको रहेछ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।