चार मुक्तक : रबिता महर्जन
कपन अनलाइन
काठमाण्डौ,चैत ९।
वसन्त ऋृतुमा फूलहरु फुल्ने भयो
स्याहार्न भनी भमराहरु डुल्ने भयो
फक्रिनु अघिको त्यो मनोरम दृश्यले
विगतका सबै पीडाहरु भुल्ने भयो ।
हुनेखानेले नहुनेलाई सँधै थर्काउने किन ?
समर्थन नगरे हातखुट्टा नै मर्काउने किन ?
कस्तो असुरक्षित र अस्वस्थ समाज बन्दै गयो
आफ्नो नबने आक्षेप लगाएर तर्काउने किन ?
ढोका नखोले पनि ढक्ढक्याउँछु भन्दैछ मानव
यदि खोलि हाले कति नाफा हुन्छ गन्दैछ मानव
लोभ, मोह र आरिसको पोखरीमा हेर पौडेको
दुईखुट्टे पनि चारखुट्टे जस्तै बन्दैछ मानव ।
डरले सूर्यपुत्रलाई खोलामा बगाउँछिन् कुन्ती
महलमा आफ्नो सुन्दर जीवन सजाउँछिन् कुन्ती
मातृत्वमा साँच्चिकै भेदभाव नभएकै रहेछ
कर्णको कवच मागेर अर्जुन बचाउँछिन् कुन्ती ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
