मङ्गल : शम्भु प्रकृति (कथा)

मङ्गल : शम्भु प्रकृति (कथा)

कपन अनलाइन

काठमाण्डौ,माघ १० ।

उसको नाम मङ्गल थियो । ऊ एउटा श्रमिक र मजदुर थियो । गाउँबाट काठमाडौं उपत्यका झरेको उसको काम नै ज्यालादारी श्रममा आधारित थियो र अत्यन्त परिश्रमी कर्मठ लाग्दथ्यो । हँसमुख स्वभावको मङ्गल दाइ सबैसङ्ग घुलमिल हुने र सबैको काम गरिदिने भएकाले हाम्रो टोलछिमेकमा सबैले काम दिने श्रमिकको रुपमा परिचित थिए ।
हाम्रै टोल कात्यायनी मन्दिर आसपासमा बस्ने उनीलाई सानैदेखि देखेको हुनाले मलाई उनीसँग बोल्न र व्यवहार गर्न धक लाग्दैनथ्यो । उनको विशेषता भनेकै सबैजनाको काम गरिदिने जस्तै बारी खन्ने, भारी बोक्ने, घर बनाउने र निर्माण कार्यमा ज्यामीको रूपमा काम गर्ने आदि आदि । काममा परिश्रमी र कर्मठ उनी कहिले ठग्दैनथे । त्यसैले उनलाई सबैले रुचाउँथे ।
सायद पुर्वतिरबाट काठमाडौँ झरेका उनी मैले देख्दा नै तीस कटिसकेका थिए । एक्लै बस्थे क्यारे हाम्रो टोलनजीकै । गाउँमा भने सायद उनका परिवार थिए, तर उनले विवाह गरेका थिएनन् । एक्लै बस्ने उनको स्वतन्त्र जीन्दगी थियोे । सायद कसैको हस्तक्षेप थिएन उनको जीवनमा । दिनभर काम गर्नेश्रमजीवी जनताका प्रतिनिधिपात्र थिए उनी, तर उनको पिउने बानी मलाई मन पर्दैनथ्यो । दिनभरी कमायो अनि राती पिउने स्वभावैले उनको ज्यान लियो ।
अल्पायुमै बितेका मङ्गल दाइ खास कोही होइनन् आम नेपालीहरूमा । न्यून बर्गीय गरीव र श्रमजीवि वर्गका थिए । उल्लेखनीय रूपमा उनले श्रम गर्दथे । उनको श्रमबाट धेरैले फाइदा उठाए । हाम्रो नजीकमा भएका सम्पूर्ण पसले र साहुहरूले उनलाई नै काम लगाँउथे भरिया, कुल्लीका रुपमा पनि । उनी सबैमाझ लोकप्रिय थिए। हँसीमजाक ठट्टा पनि गर्थे उनी ।
मान्छे रातापिरा र खाइलाग्दा थिए मङ्गल दाइ । मेरो दाजुले आफ्नो लागि एउटा कोठा र किचेन बनाँउदा मङ्गल दाइलाई ज्यामी र मोन्हा मिस्त्रीलाई डकर्मीका रूपमा काम लगाएका थिए २०५६ साल फागुनमा । झण्डै १ महिना दुबैले काम गरे ज्यालादारी भएर ठेक्कामा होइन । दाजु भन्थे – “यो मङ्गलले सारै राम्रो र धेरै काम गर्छ ।” त्यसो भन्दा मङ्गल दाइ मुस्कुराँउथे । बिहारका मोन्हा मिस्त्री र मङ्गल दाइ दुबै हाम्रै टोलमा बस्दथे । दुबैको संयोजनबाट दाजुको कोठा राम्रो बन्यो कम खर्चमा ।
मेरा दाजुले बनाउन लगाएको कोठामा झण्डै आठ बर्ष बिताए। मङ्गल दाइलाई त कामको कमी कहिले भएन भने मोन्हा मिस्त्री चाहि बेलाबेलामा मसँग – “शम्भुजी ! काम खोजीदिनुस न ।” भनेर भन्न आइरहन्थे । मोन्हा मिस्त्री मेरै दाजुको उमेरका थिए। उनले हाम्रै घरमा पनि २०५४ सालमा एउटा कोठाको ढलेको गाह्रो मर्मत गरेर छानो हालिदिएका थिए, जुन २०७३ सालमा नयाँ घर नबनाउन्जेलसम्म टिक्यो। एकदमै गुणस्तरीय काम गर्थे मोन्हा मिस्त्रीपनि । मैले त उनलाई भैया भन्थेँ । मसङ्ग राम्रो साथीपनि भएका थिए । मुसलमान भएपनि हामी हिन्दु र नेपालीहरूसङ्ग सारै राम्ररी घुलमिल भएका पात्र थिए उनी ।
मङ्गल दाइ र मोन्हा मिस्त्रीले बनाएको कोठामै मेरो दाजुको परिवार बस्दा भतिजो आयुश हुर्कियो भने भतिजी आशृका जन्मेर हुर्की । आयुश अहिले न्युजिल्याण्डमा सपरिवार बस्दछ भने आशृका अमेरिकाको ओहायो राज्यमा क्यान्सर बायोलोजी लिएर ब्याचलर पढ्दै छे । मङ्गल दाइले यसरी नै धेरैजनाको घर बनाए, काम गरे र श्रमलाई पूंजीमा रुपान्तर गरे। त्यसको कुनै हिसाब र मुल्य छैन । मानवीय पूंजी बिकासमा उनको योगदान अतुलनीय छ भन्दा फरक पर्दैन । आफ्ना लागि खास उनले केही गरेनन् तर समाज र राष्ट्रका लागि भने सानो स्केलमा उनको श्रम उपयोग भयो ।
एकदिन सुनें मङ्गल बिरामी छ भनेर । उनलाई हेरचाह गर्ने कोही भएन । एकपटक उनले भन्थे –“म बिरामी छु, मर्न लागें ।” उनको कुरा सुन्दा नरमाइलो लाग्दथ्यो । दुनियाँको लागि उनले भारी बोके, बारी खने, घर बनाए । अरु के के गरे । तर उनका लागि गर्ने कोही भएन । मेरा दाजुले काम लगाउँदा मङ्गललाई भन्थे – “मङ्गलसिंह, अब दैनिक कमाएको पैसा आफ्नो नाममा खाता खोलेर जम्मा गर्ने गर ।” ऊ मुस्कुराउँथ्यो त्यसो भन्दा तर उसले कहिले खाता खोलेर पैसा जम्मा गरेन । खाएरै सक्कायो आफ्नो श्रमवापतको ज्याला रकमजति ।
आज अनायास उसलाई सम्झिएर उसको कथा लेख्न मन लाग्यो र लेख्न थालिहालेँ उजस्ता कैयौं पात्रहरूलाई सम्झेर श्रमजीवि नेपाली जनताका प्रतिनिधिहरू । उनीहरूको जीवन यत्तिकै खेर गए पनि ती बहुमुल्य छन् श्रमको मर्मलाई आत्मसात गर्नका लागि । श्रमिकहरूको कथा कसैले राम्ररी लेख्दैनन या भनौं श्रमिकप्रति कोही भावुक र संबेदनसिल छैनन् नेपालमा । तर मङ्गलजस्ता पात्रहरूले नै यो देशको रचना गर्दछन अघोषित रूपमा आफ्ना श्रम र कर्मले गर्दा ।
उसको मृत्युको खबर अचानक सुन्दा –“त्यो मङ्गले मरेछ नि ।” भन्ने शब्दहरूले मेरो दिमागमा तरङ्ग ल्याइदियो । सायद उसको लास उठाउने कोही भएन यो काठमाडौँमा र बेवारिसे भयो । तरपनी ऊ चर्चित भयो बाँच्दा र मर्दा पनि । उसको लागि कलमबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहे ऊ सधैँ अमर बनोस् भनेर पाठकहरूको आँखामा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।