अविश्रान्त महाकाव्यभित्र पस्दा : सञ्जय सोती

अविश्रान्त महाकाव्यभित्र पस्दा : सञ्जय सोती

कपन अनलाइन

काठमाण्डौ,माघ १० ।

यस महाकाव्यभित्र पस्दा कवि पुरुषोत्तम सिग्देलले पूर्वीय काव्य परम्परा सम्बन्धमा लेख्नु भएको काव्य परिभाषामा दृष्टि पुग्दछ । कृतिको भूमिकामा उहाँ उल्लेख गर्नु भएअनुसार कविले साहित्य र काव्य पर्यायवाची रुपमा लिएको पाइन्छ । अरु काव्यका सिध्दान्तकारहरु– रसवादी भरत कवि भोजराज, आचार्य मम्मट, भानुदत्तहरुका पनि काव्य लक्षणाबारे आ–आफ्ना धारणा पाइन्छन् । शब्द विन्यास जस्ता भए पनि भाव चाहिँ– अर्थपूर्ण शब्दको सुन्दर अभिव्यक्ति काव्य हो भन्ने बुझिन्छ । यो काव्य स्रष्टाका पनि आफ्नै पाराको परिभाषा होला । मात्रै यहाँ उल्लेख गर्नुको प्रयोजन काव्यको क्षितिज अभिव्यक्ति, सीमा अपरिमेय र विशाल छ भन्ने हो । स्फुट कवितादेखि लामा कविता, खण्ड काव्य, चम्पूकाव्य, महाकाव्य र बृहत् महाकाव्य काव्य प्रकार छन् । यिनमा पनि प्राचीन व्याख्याताहरुले उत्तमोत्तम, उत्तम, मध्यम भनेर वर्गीकृत गरेको पनि यदाकदा पाइने भएपनि अब त्यो वर्गीकरण सुपाच्य हुन्न । होला तत्तत् समय, परिस्थिति, शिल्प, प्रवृत्ति, अध्ययन विश्लेषणले भएको होस् । बरु सृजन कलाका दृष्टिले ‘उपमा कालिदासस्य भारवेरर्थ गौरवम् । नैषधे पदलालित्यम् माघेसन्ति त्रयोगुणाः’ (अर्थात् उपमादिन कालिदास अर्थ गाम्भीर्यमा भारवि, सुललित शब्द विन्यासमा दण्डी जसरी प्रसिध्द छन् माघ, कविमा तीनैगुण पाइन्छन्) भन्ने सूक्ति अति –प्रचलित छँदैछ ।

यस्तै निकै लामो समयदेखि साहित्य सृजना गरी सक्रिय हुने एक कविको नाम हो त्रिलोचन आचार्य । उनी त्यसमा पनि नेपालीभन्दा संस्कृत छन्दको परम्परालाई पछ्याउँदै नेपाली कवतिा लेखनमा रुचाउने कवि हुन् मुख्यतः । त्यसमा पनि उनले नेपाली छन्द कविता पनि एक बलशाली रुपमा प्रस्तुत गरेका छन् । यसमा कुनै दुईमत छैन । एकमत नै छ ।उनी सानैदेखि अत्यन्त जिज्ञासु स्वभावका कवि हुन् । त्यस्तै निरन्तर केही न केही सृजनामा रमाउने व्यक्ति पनि हुन् । यसर्थ हुने विरुवाको चिल्लोपात भन्ने नेपाली भनाइलाई स्वतः पुष्टि गर्ने व्यक्ति हुन् । निकै असल, सफल र गजब स्वभावका त्रिलोचन आचार्य मेरो लागि पनि विशेष व्यक्ति हुन् साहित्य संगत र भावनात्मक सम्बन्धका दृष्टिले ।
अविश्रान्त महाकाव्य प्रकाशित हुनु भन्दा अघि उनका आठ वटा कृतिहरु नेपाली साहित्यमा प्रकाशति भइसकेका छन् । जुन निकै ओजस्वी कृतिहरु छन् । उनको यो भन्दा अघि ४ वटा कविता संग्रह, २ वटा खण्डकाव्य, १ निबन्ध संग्रह र १ मुक्तक संग्ह प्रकाशित भइसकेका छन् । यसरी निरन्तर नेपाली साहित्यको संवृध्दिको लागि लागिपरेका यी स्रस्टाको अविश्रान्त महाकाव्यले इतिहासमा बेग्दै छाप छोड्न सफल भएको छ । हुनत नेपाली वांगमयमा काव्य परम्परा वसन्त शर्मा लुइँटेल (१८५२–१९४७) बाट भक्तिधारा अवलम्ब्न गरी भए पनि काव्यिक उदारताका हिसाबले काव्य सृजना बि.सं. १८८०–१८९० का बीचमा निर्माण भएको देखिन्छ । सुन्दरानन्द बाँडा, ज्ञान दिलदास, होमनाथ खतिवडा, शम्भुप्रसाद ढुंगेल, भानुभक्त आचार्य, त्रिपुरा सुन्दरी, वसुन्धरा सोती आदि स्रस्टाहरुले यसमा इटा रंगरोगन सहित थपेको पाइन्छ । यसपछि नेपाली साहित्यको पूुुर्ण महल नेपाली साहित्यमा विशेष अतुलनीयदेन मोतिराम भट्ट, केदारनाथ खतिवडा, कृष्ण प्रसाद घिमिरे, पद्मविलास पन्त, तीर्थराज पाण्डे, लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, गोकुल जोशी, डा.बासुदेव त्रिपाठी, माधव प्रसाद घिमिरे, पारिजात, डा. बानिरा गिरी, झमक घिमरिे, भवानी घिमिरे, रुप नारायण सिँह, तोया गुरुंग, अम्बर गुरुंग, दीपक सोती, सञ्जय सोती, लक्ष्मी सोतीआदिले योगदान दिई नेपाली साहित्यको एक बेग्लै ऐतिहासिक महल खडा गरेको पाइन्छ ।
कृति सृजनामा परम्परागत अग्रज कवि, स्रस्टाहरुको प्रभाव उनमा अवश्य रहेको पाइन्छ । त्यसमा पनि आफ्नै यस प्रतिको रुची, खुबी नै उनको लागि नेपाली साहित्य रचनाको प्रेरणा भएको जस्तो मलाई लाग्छ । काव्य धारामा वहनको लागि त विशेष तत्व कथानक हो। पाठकहरुलाई जस्तै पाठकहरुले पनि आफैँले भोगेको जीवन्त कथा, देश समाज र छिमेकीले भोगेको व्यथा अवस्था र चरित्र मन पराउने हुनाले त्यसलाई नै साभार रुपमा उतार्ने काव्य र कविको माग बढेको हुनाले होला यसै काव्यको उपादेयतालाई मध्यनजर गर्दै उनले यो कृति अविश्रान्त महाकाव्यको सृजना गरेको हुनुपर्छ ।
निरन्तर साधनाद्वारा सृजना गरिएको उनको यो महाकाव्यमा तेइस सर्गहरु छन् । विभिन्न छन्दहरुको प्रयोग गरिएर लेखिएको यो महाकाव्यको नायक पात्र हो रमेश । वर्तमान समय सापेक्ष यही समाजबाट टिपिएको धिरोदत्त पात्रको चयन हो रमेश । यो अविश्रान्त महाकाव्यको मंगलाचरण नै राष्ट्रवाद र राष्ट्र वन्दनाबाट अघि बढेको छ । यसमा कविले कुनै दैविक शक्ति अदृश्य शक्तिलाई पुकार्नु भन्दा आफ्नो राष्ट्र र जन्मभूमिलाई नै प्रमुख रुपमा स्मरण गरेका पनि छन् । यसमा लिएको नायक पात्र रमेशले आपूm हुर्किएको गाउँ ठाउँको विशेष प्रतिनिधित्व गरेको छ । उक्त सन्दर्भका रुपमा मेलम्ची, इन्द्रावती, पाँचपोखरी जस्ता ठाउँको चित्रण भएकोले पनि यसको प्रमुख उद्देश्य जननी र जनमभूमिलाई नै प्रमुखताका साथ अगाडि बढाउनु र माया गर्नु रहेको छ ।
आफ्नै गाउँ ठाउँमा अत्यन्त शिष्ट र भिन्न सरल परिवारमा बा महेश, आमा गंगा, छोरो रमेश, बुहारी सानी रहेको छन् । यी पात्रहरुले तीन अक्षर भएको पुरुष र दुई अक्षर भएको नारी पात्र अगाडि बढाएको छ । सरल पात्रको चयन गरी सामान्य गाउँले जीवन चरित्रको चित्रण गर्ने अभिलक्षणा राखेको कवि महाकवि त्रिलोचन आचार्यको पहिलो सर्गले राष्ट्रवादको संवादात्मक नाटकीय शैलीलाई काव्य नायक रमेशले आमा समक्ष जिज्ञासा राख्ने क्रममा प्रस्तुत गरेको छ । आमालाई विशेष महान् उपल्लो दर्जामा राखी कविले रमेश पात्रद्वारा प्रस्तुत गरेका छन् । त्यसमा पनि आमालाई प्रकृति संस्कृतिको मूल मात्र नमानी जीवनको गुह्यतम अनुभव मानी सर्वज्ञ भनेका छन् । यसमा आमाको माध्यमद्वारा हरेक वाणीमा पुर्खाको गुनगानदेखि लिएर देशप्रेम, आदर्श जीवन, प्रकृतिको महत्वबा विषयमा दार्शनिक उत्तरहरु पनि अभिव्यक्त भएका छन् । यस सर्गमा छोटो कथानकमा जीवनवोधको उच्तम विषयवस्तुहरु ज्ञानका रुपमा उठान गर्न कवि सफल छन् । एक उदाहरण यस्तो छ ः
मान्छे भन्छन् असल दिलमा देशको चित्र हुन्छ
हाम्रो राम्रो घर प्रकृतिको सिर्जना भित्र हुन्छ ।
मच्ची मच्ची युग कति कुद्यो छैन केही हिसाब
टिप्दै जाऊ लय समयको बन्छ भारी किताब
यस्तै यस्तै श्लोकहरु तेइसौँ सर्गसम्म रहेको यो अविश्रान्त महाकाव्यमा आचार्यले सामान्यजनका दुःख पीडा र भोगाइहरुलाई प्रमुख विषयवस्तु बनाएका छन् । अत्यन्तै सामान्य भन्दा सामान्य दीन दुःखी श्रमिक व्यक्ति परिवारको कथा व्यथालाई नै उनले महाकाव्यमा बुँनेका छन् लिपिवध्द गरेर । तसर्थ यस अविश्रान्त महाकाव्यलाई आम नेपाली श्राजीवीको महाकाव्य भन्दा पनि कत्ति फरक पर्दैन । सुखको खोजीमा भौँतारिएर रोजगारीको लागि परदेश पुगेको व्यक्ति र उसको परिवारको समग्र भोगाइहरुको स्पन्दन र बृहतम् चित्रण नै यो महाकाव्यको एकमात्र प्रमुख केन्द्रीय विशेषता पनि हो । नेपाली समाजको यतिबेलाको एउटा ज्वलन्त सरोकारलाई नै विषयवस्तु बनाई मूल कथाका रुपमा प्रस्तुत गर्न सक्नु यस महाकाव्यकारको ज्यादै प्रशंसनीय पक्ष हो । गरीब, मजदूर तथा श्रमजीवीहरुले भोग्नु परेको पीडा, दुख्ख र विपन्नताको चित्रण यस कृतिले गरेको छ । बडो सजीवताका साथ शोषण र उत्पीडनमा पिल्सिनुपरेको पीडा र जीवन कस्तो हुन्छ, सुखको सपना देखेर पनि सदा जीवनभर संघर्ष गरी जीवनभर दुःखै दुःखले बाँच्नु परेको पीडाको सफल चित्रण पनि यसमा छ । आफ्नो परिवारको सुखको लागि जीवनभर ठगिएको पीडा, दुख्ख व्यथाको कथा यसमा लिपिवध्द गरिएको छ । एउटा बाबुले छोरा गुमाउनु परेको दर्दनाक कथा व्यथा पनि यसमा छ । यसर्थ जीवन संघर्ष भएको उद्गार कविले गरेका छन् यस महाकाव्य अविश्रान्तमा । तसर्थ पनि यस महाकाव्यको मेरुदण्ड यस्तै यस्तै अनेक कारुणिक कथाको जगमा ठडिएको छ भन्दा पनि अतिसयुक्ति नहोला ।
त्यसैले पनि यो प्रगतिशील सोच चेतका साथ सामाजिक परिवर्तनको पक्षमा उभिएको महाकाव्य हो । विद्यमान सामाजिक शोषणको रोग, सोच र खोजलाई उजागर गर्दै उनले सामाजिक न्यायको सक्दो वकालत यस महाकाव्यमा गरेको पाइन्छ । गन्नैपर्दा छत्तीस वटा विविध छन्दहरुको प्रयोग गरी लेखिएको नेपालकै पहिलो महाकाव्य हो । हरेक सर्गको आरम्भ र अन्त्यमा छन्द परिवर्तन गर्ने पूर्वीय परम्परालाई आत्मसात गर्न सक्षम महाकवि त्रिलोचन आचार्यले यसै विविध छन्दको प्रयोगले गर्दा पनि महाकाव्यको रौनक बढाएका छन् । यसैले गर्दा पनि अभिव्यक्ति शैलीमा थप विविधता थपिएको पनि छ । नेपाली महाकाव्यको इतिहासमा आफ्नो एक दर्विलो उपस्थिति यस महाकाव्य मार्फत जनाउन सफल भएका त्रिलोचन आचार्यको यो महाकाव्य अति सुन्दर सुललित भइकन पनि सम्प्रेषणका दृष्टिले पनि प्रभावशाली देखिन्छ । उनको छन्द विधानमा जादूगरी करिस्मा छ । अविश्रान्त महाकाव्यको हरेक पंति भाव प्रधान छ । पढ्दा सबै पंति तत्काल पढी कण्ठ पार्न मन लाग्ने जस्ता छन् । तसर्थ यति सुन्दर कलात्मक, भावात्मक कृतिमा महाकाव्य नेपाली साहित्यलाई ठूलो र अतुलनीय गुण लगाएकोमा मेरो नमन र बधाई यी महाकवि त्रिलोचन आचार्यलाई ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।